नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, कोरिया पठाउने भन्दै ३५ जनाबाट डेढ करोड उठाएको आरोप

काठमाडौं । नेकपा एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् । दुईजना फरार छन् । वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह (डीएस) महता एक सातादेखि हिरासतमा छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता एवम पत्रकार राजेन्द्र कुँवर र काभ्रेपलाञ्चाेककाे मण्डनदेउपुर विनोद थापा भने फरार भएको पाइएको छ ।

पक्राउ परेका स्थायी कमिटी सदस्य महताले पार्टी सञ्चालनका लागि पार्टी अध्यक्षको सचिवालयले निर्देशन दिएपछि रकम संकलन गरेको बयान दिएका छन् । यद्यपि, त्यसरी रकम संकलन गर्न कोही, कसैलाई पत्राचार वा निर्देशन नदिएको पार्टीको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

ठगीमा परेपछि पीडितहरूले पटक-पटक पार्टी कार्यालय धाएर रकम फिर्ता गराउन प्रयास गरे । तर, स्थायी कमिटी सदस्य, पूर्वमन्त्रीका भाइसहितबाट भएको ठगीबारे अन्य नेताले कुनै पहल नगरेको पीडितको गुनासो छ । पीडितहरू पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई भेट्न पुगे । भेटेलगत्तै स्वयं अध्यक्ष नेपालविरुद्ध अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाएपछि आफूहरुको माग सुनिदिने कोही नभएको एक पीडितले बताए ।

कोरियामा कृषि कार्यका लागि सिजनल भिसामा मान्छे पठाउने नाममा उनीहरूले विभिन्न जिल्लाका ३५ जनाबाट डेढ करोडभन्दा बढी रकम उठाएको भनी वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महतालाई एक साताअघि नयाँ बसपार्क क्षेत्रबाट गिरफ्तार गरेको कार्यालयका प्रवक्ता एसएसपी काजीकुमार आचार्यले नेपाल प्रेसलाई बताए ।

मुद्दाको अनुसन्धान र अभियोजन वैदेशिक रोजगार विभागबाटै हुने कारण प्रहरीलाई यसबारे थप जानकारी नहुने प्रवक्ता आचार्यले बताए ।

‘हामीले पक्राउ गर्नका लागि सहयोग गरेको मात्रै हो’, उनले बताए ।

कोरिया पठाइदिने आश्वासनपछि महतालाई ९ लाख रूपैयाँ बुझाएका एक पीडितका अनुसार उक्त रकम ठगीमा ३ जनाको प्रत्यक्ष संलग्नता देखिए पनि सिन्धुली स्थायी ठेगाना भएकी एक महिला केन्द्रीय सदस्यसहित पार्टीका अन्य नेता यसमा संलग्न रहेको स्रोतले बतायो ।

‘हामीले तीनजनालाई पैसा दिएका हौं, त्यसमध्ये दुईजना अझै फरार छन् । रकम व्यवस्थापनमा अन्य केही नेताको संलग्नता देखिन्छ’, ती पीडितले सुनाए । महता माओवादी पृष्ठभूमिका नेता हुन् ।

Comments

2 responses to “नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, कोरिया पठाउने भन्दै ३५ जनाबाट डेढ करोड उठाएको आरोप”

  1. बिष्णु पौडेल Avatar
    बिष्णु पौडेल

    यो देबेन्द्रसींह महता भन्ने मान्छे पहिलादेखी नै ठग हो।पहिलेपनी विभिन्न मान्छेबाट कडरौ ठगी गरेको छ।यसका सहयोगी बिनोद थापा काभ्रे देउपुर र जानुका श्रेष्ठ सिन्धुली हुन।यी तीन जनाले माओवादी कम्युनिस्ट केन्द्र नेपालमा हुँदा मान्छेहरुलाइ विभिन्न प्रलोभन दिएर कडरौ ठगी गरेका हुँदा पार्टीबाट निक्सासन गरिएको थियो।त्यसपछि माकुने नेतृत्वको पार्टी नेकपा एसमा गएका हुन ।आबाश्यक पर्यो भन्ने प्रमाणसहित हामी आउछौ।बिष्णु पौडेल 9841870376

    1. बिष्णु पौडेल Avatar
      बिष्णु पौडेल

      जानुका नाम भुलबस पर्न गएकोमा क्षमा याचना गर्दै अन्यथा नलिइदिनहुनकोलागी सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *