कानून बनाएरै पूर्वविशिष्टलाई सेवा दिने तयारीमा सरकार, अहिले कसले के लिइरहेका छन् ?

काठमाडौं । सरकारले कानूनी व्यवस्थाा गरेर पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाको प्रावधान राख्ने तयारी गरेको छ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि पूर्वसभामुखलगायतका पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रष्ट हुने गरी कानून निर्माण अघि बढाएको हो ।

यसअघि भने उनीहरूलाई दिइएको सुविधाबारे कहिँ कतै कानूनीरूपमा उल्लेख छैन ।

सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षलाई पूर्वविशिष्ट पदाधिकारीको श्रेणीमा राखेको छ  । नागरिक तहमा पूर्वविशिष्टहरूको सुविधालाई लिएर आलोचना भइरहेको छ ।

गृह मन्त्रालयले ‘पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा’ तयार गरेर राय-सुझावका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । गृह मन्त्रालय स्रोतका अनुसार मस्यौदामा पूर्वविशिष्ट पदाधिकारीलाई मासिक वृत्ति, घरभाडा, गाडी, कर्मचारीलगायतका सुविधा उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराष्ट्रपति डा.रामवरण यादव, विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मी, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा.बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले राज्यबाट सेवा सुविधा लिइरहेका छन् ।

पूर्वराष्ट्रपति यादवलाई मासिक साढे ३ लाखभन्दा बढीको सेवा सुविधा

पूर्वराष्ट्रपति यादवका लागि सरकारले साढे ३ लाखभन्दा बढीको सेवा सुविधा उपलब्ध गराउँदै आएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यादवलाई मासिक पारिश्रमिकस्वरुप ५० हजार उपलब्ध गराइँदै आएको छ ।

त्यस्तै मासिक घर भाडा १ लाख ९२ हजार २५५ उपलब्ध गराइँदै आएको छ । घर भाडा भने सम्बन्धित घरधनीलाई भुक्तानी गरिँदै आएको छ । बिजुली, पानी र सञ्चार महसुल बिलबमोजिम पाउँदै आएका पूर्वराष्ट्रपति यादवले २ वटा चार पाङग्रे सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

ती सवारीका लागि मासिक २०७ लिटर पेट्रोल सुविधा बराबरको रकम लिइरहेका छन् । तीबाहेक ३ जना सचिवालयमा कार्यरत कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । जसमा स्वकीय उपसचिवलाई ४८ हजार ७३७, स्वकीय हल्का सवारी चालकलाई २७ हजार ६१२ र स्वकीय कार्यालय सहयोगीलाई २४ हजार ७०२ रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई मासिक ५० हजार पारिश्रमिक

त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई मासिक डेढ लाखभन्दा बढी सेवा सुविधा सरकारले दिँदै आएको गृह मन्त्रालयले जनाएको छ । मासिक पारिश्रमिकस्वरुप ५० हजार रुपैयाँ बुझ्दै आएकी भण्डारीले मासिक घर भाडा १ लाख रुपैयाँ पनि लिँदै आएकी छन् ।

उनी छोरीको घरमा बसिरहेको भए पनि उनको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि घरभाडामा लिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । कानूनी रुपमा भने सुरक्षाकर्मीको घरभाडाका लागि रकम उपलब्ध गराउने व्यवस्था छैन ।

भण्डारीले सवारीसाधन नलिए पनि २०७ लिटर मासिक पेट्रोल सुविधा बराबरको रकम लिइरहेकी छन् । घरभाडा भने मासिक रुपमा सम्बन्धित घरधनीलाई उपलब्ध गराउने गरिएको छ ।

खिलराजलाई सरकार र सर्वाेच्चबाट दाेहाेराे सुविधा !

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भने मासिक पारिश्रमिक र घरभाडा सुविधा लिएका छैनन् । उनले चार पाङ्ग्रे एउटा सवारीसाधन र मासिक रुपमा १५० लिटर पेट्रोलवापतको रकम लिँदै आएका छन् ।

उनको एक जना निजी सहायकका लागि मासिक ४३ हजार ६८९ रुपैयाँ पारिश्रमिक सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउने गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश पनि भएकाले रेग्मीले सर्वोच्च अदालत प्रशासनका अनुसार ६०० सीसीसम्मको एउटा सवारीसाधन, मासिक इन्धन १०० लिटर, एक जना हल्का सवारी चालक तथा सवारी मर्मतसम्बन्धी सुविधा लिँदै आएका छन् ।

पूर्वउपराष्ट्रपति झा र ३ पूर्वप्रधानमन्त्रीलाई सवारीसाधन

पूर्वउपराष्ट्रपति परमानन्द झाले हल्का सवारी चालकको सुविधाबाहेक अरु कुनै सुविधा लिएका छैनन् । हल्ला सवारी चालकको मासिक पारिश्रमिक २७ हजार ६१२ रुपैयाँ कर्मचारीलाई उपलब्ध गराइने गरिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा.बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले चार पाङग्रे एक-एक वटा सवारीसाधन लिइरहेका छन् ।

विनानिर्णय राष्ट्रियसभा अध्यक्षले लिए गाडी सुविधा

संघीय संसद सचिवालयका अनुसार पूर्वसभामुख तारानाथ रानाभाट, कृष्णबहादुर महरा, ओनसरी घर्ती, अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुविधावापत चार पाङ्ग्रे सवारीसाधन लिइरहेका छन् ।

यद्यपि राष्ट्रियसभाका पूर्वअध्यक्ष तिमिल्सेनाले कुनै पनि निर्णयविना सवारीसाधन प्रयोग गरिरहेका छन् । जसमा पूर्वसभामुख रानाभाट र घर्तीले मासिक १०० लिटर पेट्रोल बराबरको रकम लिइरहेका छन् । महराले त्यो सुविधा लिएका छैनन् र सापकोटाले भने विद्युतीय सवारी प्रयोग गरिरहेका छन् । पूर्वसभामुख चारै जनाले प्रथमस्तरको हल्का सवारी चालकको सुविधा पनि लिइरहेको संसद सचिवालयले जनाएको छ ।

पूर्वउपराष्ट्रपति पुन र तीन पूर्वप्रधानमन्त्रीले लिएका छैनन् पूर्वविशिष्टको सुविधा

गृह मन्त्रालयले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सुविधा नलिएको जनाएको छ ।

तर उनीहरुले प्रतिनिधिसभा सदस्यको नाताले सांसदले पाउने सुविधा भने लिइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड अहिले प्रमुख प्रतिपक्ष दलको नेता भएकाले प्रतिपक्ष दलको नेताले पाउने सुविधा लिइरहेका छन् ।

१५ जना पूर्वप्रधानन्यायाधीशले लिएका छन् सवारीसाधन

सर्वोच्च अदालत प्रशासनका अनुसार पूर्वप्रधानन्यायाधीशलाई सवारीसाधनको सुविधा उपलब्ध गराइएको छ । २०१३ सालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानदेखि विश्म्भरप्रसाद श्रेष्ठसम्म २१ प्रधानन्यायाधीशमध्ये जीवित १५ जनाले पेन्सनबाहेक सवारीसाधन सुविधा लिइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च प्रशासनका अनुसार १५ जना पूर्वप्रधानन्यायाधीशलाई आफ्नो जीवनकालसम्म ६०० सीसीसम्मको एउटा सवारीसाधन, मासिक इन्धन १०० लिटर, एक जना हल्का सवारी चालक तथा सवारी मर्मतसम्बन्धी सुविधा उपलब्ध गराइँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *