कोशीका सभामुख विष्ट भन्छन्- प्रदेशसभा सदस्यहरूको क्षमता विकास आवश्यक छ

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका सदस्यहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।

कोशी प्रदेशसभाका महिला माननीय सदस्यहरूसङ नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै सभामुख विष्टले सभाका सदस्यहरूले अध्ययनका लागि समय दिन नसक्दा क्षमता अभिवृद्धि हुन नसकेको बताए । उनले भने, ‘मेरै पनि क्षमता अभिवृद्धि हुन सकेको छैन । हामी कति किताब पढ्छौँ ? हामीले त्यता धेरै ध्यान दिएका छैनौँ ।’

उनले प्रदेश सभा सदस्यहरू सरकारले कति वटा योजना हाल्यो ? कति हालेन भनेर मात्रै ध्यान दिने गरेकाले समस्या भएको बताए । उनले भने, ‘अन्य अन्य कुरामा अध्ययन गर्न समय दिन नसक्दा हामी सबैको क्षमता अभिवृद्धि हुन सकेको छैन ।’

कार्यक्रममा सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलाहरूले राजनीतिक सामाजिक र आर्थिक अधिकार पाए पनि नेतृत्वको अधिकार अझै नपाएको बताए ।

उनले नीतिको नेतृत्व गर्न सके मात्रै नेता हुने बताए । उनले अवसर अरूले दिन्छ भनेर पर्खने नभई आफैंले लिनुपर्ने बताए । उनले भने, ‘प्रदेशसभामा महिला माननीयहरूको सहभागिता छ तर नेतृत्व लिनसक्नु भएको छैन । १ वर्षमा कतै नियमापत्ति जनाउनु भएको ? कतै ढ्यापढ्यापे सुविधाको प्रयोग गर्नुभएको ।’

कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री सृजना राईले महिलाहरूको हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताइन् । उनले भनिन्, ‘अहिले महिलामैत्री धेरै कानुन बनेका छन् । तर अहिले पनि महिलाको नेतृत्व स्वीकार गर्न सकिएको छैन ।’

कार्यक्रममा उपसभामुख सृजना दनुवारले प्रदेशसभा सदस्यहरूको क्षमता नभएर कार्यक्रमको आयोजना गरिएको नभइ थप क्षमता विकाश गर्न कार्यक्रमको आयोजना गरिएको बताइन् ।

२ दिन सम्म सञ्चालन हुने कार्यक्रममा कोशी प्रदेशका महिला प्रदेशसभा सदस्यहरू सहभागी छन् । कार्यक्रममा ३ जनाले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा संविधानसभा सदस्य बिन्दा पाण्डेले सार्वजनिक नीति निर्माणको विषयवस्तु विधि र प्रक्रिया नीति निर्माणमा महिला सांसदहहरूको भूमिका नेतृत्व विकासका आधारभूत विषयहरूमा सहजीकरण गर्ने छन् ।

कार्यक्रममा वित्तीय सङ्घीयता अन्तर सरकारी वित्त व्यवस्थापन, प्रदेशलाई वित्तीय रूपमा सक्षम बनाउन खेल्नुपर्ने भूमिकाको विषयमा प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले सहजीकरण गर्नेछन् ।

यस्तै कोशी प्रदेशसभा नियमावलीमा भएको व्यवस्था बमोजिम खर्च कटौती बजेट छलफल र संशोधन प्रस्तावका बारेमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सहजीकरण गर्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *