काठमाडौं । छोटकरी नाम उस्तै उस्तै भएका दुई प्रतिपक्षी दल राप्रपा र रास्वपालाई भिजिट भिसा प्रकरणमा संसदभित्र एक ठाउँ ल्याएर उभ्याइदिएको छ । तर, पनि यी दुई दलको सुर–ताल भने मिलिरहेको छैन ।
संसदभित्र चौंथो र पाचांै हैसियतमा रहेका दुवै दलले मागिरहेका छन्, गृहमन्त्री रमेश लेखकको राजीनामा । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पनि गृहमन्त्रीको राजीनामा माघ अघिसारेको थियो । तर अचानक माओवादीले सत्तापक्षसँग सम्झौता गरेपछि रास्वपा र राप्रपा मात्रै बाँकी रहेका हुन् । प्रमुख प्रतिपक्षले हात झिकेसँगै सत्तापक्ष र सभामुखले आज पेलेरै संसदीय गतिविधि अगाडि बढाए ।
रास्वपा र राप्रपाको विरोध शैलीमा समन्वय र सामञ्जयस्ता नहुँदा सभामुखलाई ‘पेल्न’ सहज भएको थियो । रास्वपाले सभामुखको वेल अगाडि आएर घेराउ तथा नारावाजी गर्दा राप्रपाको साथ पाएन । राप्रपा सांसदहरु भने वैठक नै बहिष्कार गरेर बाहिरिएका थिए । सदनभित्र विरोध गर्नेमा रास्वपा एक्लै देखियो ।
अहिले प्रतिनिधिसभामा रास्वपाका २० (प्रत्यक्ष ७, समानुपातिक १३) र राप्रपाका १४ (प्रत्यक्ष र समानुपातिक ७–७) सांसदहरु रहेका छन् । दुवै दल एक ठाउँ उभिँदा ३४ सांसद सहितको बलियो प्रतिपक्षी आवाज निस्किन सक्छ । तर उनीहरु पनि मिल्न नसक्दा सत्ता पक्षलाई थप सहजता भइरहेको छ ।
अहिलेसम्म रास्पपा र राप्रपाबीच सहकार्यका विषयमा औपचारिक संवादसमेत भएको छैन । आज सभामुख देवराज घिमिरेले संसद वैठकअघि दुवै पार्टी नेतृत्वसँग छलफल गरे, तर फरक–फरक । यसअघि माओवादीले प्रतिपक्षी दलहरुको वैठक राख्दा पनि राप्रपालाई गणतन्त्रविरोधि दल भन्दै बाइपास गरिरहेको थियो ।
गृहमन्त्रीको राजीनामाको एजेन्डामा रास्वपासँग मिलेर जान तयार रहेको बताउँछन् राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही । आफूले पहल समेत गरेको तर रास्वपाले इच्छा नदेखाएको उनको भनाइ छ । ‘आज संसद वैठक बस्नुअघि म आफैंले डीपी अर्यालजीहरुलाई फोन गरेको हुँ । तर उहाँहरुले आआफ्नै ढंगले जाउँ भन्ने कुरा गर्नुभयो’, शाहीले भने ।
एउटै एजेन्डा भएपछि दुवै दल मिल्दा नै प्रभावकारी हुने उनको स्वीकारेक्ति छ ।
उनी थप्छन्, ‘हाम्रा राजनीतिक विचारधाराहरु फरक होलान् । अरु मुद्दाहरुमा कुरा नमिल्न सक्लान् । तर भिजिट भिसा सम्वन्धी विवादमा हाम्रो अडान एउटै हो । सुशासनको एजेन्डामा हामी लगभग एकै ठाउँमा छौं । नमिल्ने कुराहरुलाई थाँति राखेर समान एजेन्डामा सहकार्य गर्न हामीलाई आपत्ति छैन ।’
रास्वपाले राप्रपासँग सहकार्य गर्न अनिच्छा देखाउनुका कारण भने एउटै छ । त्यो हो राप्रपाको मुल राजनीतिक एजेन्डा । राप्रपा व्यवस्थाविरोधि भएकाले नै सहकार्य गर्न अप्ठेरो भएको स्वीकार्छन् रास्वपा प्रवक्ता मनिष झा ।
उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘हो, हामी भिजिट भिसा प्रकरणमा एकै ठाउँ छांै । तर राप्रपाले यसबाहेक अरु एजेन्डा पनि संसदमा उठाइरहेको छ, जसमा हामी सहमत छैनौं । गणतन्त्रविरोधि आन्दोलनमा उत्रिएकाले पनि हामीले राप्रपासँग सहकार्य गर्नलाई धेरै सोच्नुपर्ने हुन्छ ।’
झाको भनाइमा रास्वपा र राप्रपा एक ठाउँमा उभिनासाथ त्यसलाई प्रधानमन्त्री केपी ओली लगायतका सत्तासिन नेताहरुलाई अपव्याख्या गर्न सक्ने खतरा हुन्छ ।
उनी थप्छन्, ‘उहाँहरु चाहनुहुन्छ कि रास्वपा र राप्रपा मिलुन्, अनि रास्वपालाई पनि गणतन्त्र विरोधिको ट्याग लगाउन पाइयोस । केपी ओली जस्ता चतुर नेताले यसलाई कसरी अपव्याख्या गर्न सक्नुहुन्छ भन्नेमा हामी सचेत छौं ।’
यद्यपि, गणतन्त्रसम्वन्धी पार्टीको नीतिलाई स्पष्ट पारेर गृहमन्त्रीको राजीनामाको विषयमा मात्रै सहकार्यका लागि पहल हुन सक्ने उनी बताउँछन् ।
‘आगामी दिनमा त्यस्तो पहल हुन पनि सक्छ’, उनले भने, ‘हेरौं, भोलिको संसद कसरी अगाडि बढ्छ ।’
भोलिको संसद वैठकमा पनि रास्वपाले अवरोध प्रयास जारी राख्ने छ । राप्रपाले भने कसरी प्रस्तुत हुने भनेर निधो गरिसकेको छैन ।

Leave a Reply