काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेठ १५ गतेबाट सुरु भएको जनआन्दोलनको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले एकहप्ता सम्म चलेको आन्दोलन उपलव्धिमुलक भएको तथ्यलाई दृष्टिगत गर्दै आन्दोलनका कार्यक्रमलाई अझ सशक्त ढंगबाट यथासम्भव चाँडो निरन्तरता दिनुपर्नेमा जोड दिएको छ ।
राप्रपा नेपालले आन्दोलनलाई अझ सशक्त ढंगबाट निरन्तरता दिने दृढ धारणा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शन, घरदैलो लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, उपत्यकाबाहिर देशका विभिन्न भागहरूमा जनप्रदर्शनको आयोजना गर्ने, संयुक्त जनआन्दोलन समितिको संरचनालाई स्थानीय तहसम्म विस्तार गर्ने, र प्रतिवद्ध एवं जुझारु युवा जमात तयारी जस्ता कार्यहरूलाई तत्काल कार्यान्वयन गर्ने योजना बनाएको छ।
त्यस्तै ‘भिजिट भिसा’ सम्बन्धि भ्रष्टाचारकाण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जती भएको र यसले हजारौं नेपाली युवायुवतीहरूलाई विदेशमा अलपत्र पर्ने, बेचिने र नारकीय जीवन बिताउन बाध्य हुने अवस्था सिर्जना गरेको उल्लेख गर्दै राप्रपा नेपालले यस प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग गठन गरी छानबिन गरी अपराधीहरूलाई कानुनको कठघरामा ल्याउन माग गरेको छ।
पार्टीले गत चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको जनप्रदर्शनको क्रममा पक्राउ परेका नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाई लगायतका सबै व्यक्तिहरू माथि लगाईएको झुठा मुद्दा फिर्ता लिई तत्काल रिहा गर्न माग गरेको छ।

Leave a Reply