काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदका दुई प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले आज पनि संसदीय कारबाहीमा भाग लिएनन् । रास्वपाले संसदभित्रै बसेर अवरोध प्रयास गरिरहेको छ भने राप्रपा सांसदहरु संसदबाट बाहिरिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद बैठकमा सभामुखको भूमिकाप्रति गम्भीर प्रश्न उठाए । नेपाल प्रेससँग कुरा गर्दै उनले सभामुख देवराज घिमिरेले सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको तथा सत्तापक्षको ‘कारिन्दा’ बनेको आरोप लगाए ।
‘हिजो सुवास नेम्वाङ सभामुख हुँदा राप्रपाका चार जनामात्रै सांसदले विरोध गरे पनि उनीहरुको कुरा सुन्नुहुन्थ्यो र छलफल चलाउनुहुन्थ्यो । जबरजस्ती पेलेर लैजान खोज्नुहुन्थेन’, उनले भने, ‘तर अहिलेको सभामुखले आफूलाई सत्तापक्षको प्रतिनिधिका रुपमा उभ्याउनुभयो । सत्तापक्षको कारिन्दा नै बन्न खोज्नुभयो ।’
आज संसद नचलाइ नहुने कुनै ‘अर्जेन्सी’ पनि नरहेको शाहीको भनाइ छ । माओवादी सत्तापक्षसँग मिलिसकेपछि अन्य प्रतिपक्षीलाई पेलेर जाने मनस्थिति देखिएको उनले आशंका व्यक्त गरे ।
उनले थपे, ‘बजेट पास गर्न अझै एक महिना बाँकी छ । कुनै अर्जेन्सी थिएन । सभामुखले पेल्ने नियत देखाउनुभयो । राप्रपा र रास्वपाकै भोटले सभामुख बन्नुभएको उहाँले बिर्सिनुभएको छ । यसले भोलि उहाँलाई अप्ठेरो पार्नसक्छ ।’
भोलि राप्रपाले के गर्छ भन्ने छलफलपछि टुंगो लाग्ने शाही बताउँछन् ।

Leave a Reply