कैलाली । कैलालीका घनपती ढुङ्गेल र उनकी धर्मपत्नी धनादेवी ढुङ्गेलले सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । उनीहरूले छोरीको विवाह खर्च कटौती गरी त्यसबाट बचत भएको रकम आश्रित जीवन बिताइरहेका व्यक्तिहरूलाई सहयोग गरेका हुन् ।
गत २०८२ साल जेठ २६ गतेका दिन काठमाडौँस्थित एक अदालतमा आफ्नी छोरीको विवाह सम्पन्न गरेका ढुङ्गेल दम्पतीले विवाहमा हुने तडकभडक र अनावश्यक खर्च कटौती गर्दै ६ लाख रुपैयाँ विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग स्वरूप प्रदान गरेका हुन् ।
ढुङ्गेल दम्पतीले उक्त रकम तीन वटा संस्थामा बराबरी रूपमा बाँडी सहयोग गरेका छन् ।
६८ जना सडक महिलाहरूलाई आश्रय दिइँदै आएको दृष्टि फाउन्डेसन पुगेर एक छाक खाना खुवाउँदै २ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
त्यसैगरी, उस्तै सङ्ख्यामा सडक मानवलाई आश्रय दिइरहेको मानव सेवा आश्रममा पनि एक छाक खाना खुवाएर २ लाख रुपैयाँ सहयोग गरिएको छ ।
१ सयभन्दा बढी सहाराविहीन व्यक्तिहरू बसोबास गर्दै आएका सहारा घरमा पनि एक छाक खाना खुवाएर २ लाख रुपैयाँ प्रदान गरिएको हो ।

‘विवाह एउटा प्रक्रिया मात्र हो। परम्पराको नाममा लाखौँ रुपैयाँ खर्च गर्नुको सट्टा, पीडित र असहाय व्यक्तिहरूको लागि केही गर्नु नै सार्थक र फलदायी हुन्छ। मेरो सानो सहयोगले उहाँहरूलाई ठुलो साथ मिलेको महसुस भएको छ’, सहयोग हस्तान्तरण पछि उनले भने ।
ढुङ्गेलले सहारा घरमा डिप फ्रिजको आवश्यकता रहेको जानकारी पाएको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
‘गर्मीमा मागेर ल्याएको खाना र अन्य सामग्री बिग्रने समस्या रहेछ । त्यो समस्या समाधान गर्न म प्रयास गर्नेछु’, उनले भने ।
सहारा घरका सञ्चालक बलबहादुर साउदले ठुलो साथ मिलेको बताए ।, ‘हालसम्म हामीले जम्मा गरेको २२ लाख रुपैयाँको अक्षयकोषमा यो २ लाख थपिनुले हामीलाई निकै ठूलो साथ मिलेको छ’, ढुङ्गेल परिवारको सहयोगप्रति आभार प्रकट गर्दै उनले भनेका थिए । तीन वटै संस्थाले उक्त रकम अक्षयकोषमा राख्ने र सहाराविहीनहरुको लागि प्रयोग गर्ने बताएका थिए ।

सामान्य तर सन्देशमूलक विवाह
ढुङ्गेल परिवारले छोरीको विवाहलाई पूर्ण रूपमा सादा तर सन्देशमूलक ढङ्गले सम्पन्न गरेका छन् । विवाहपछि छोरी र ज्वाँईलाई आफन्त भेट्नका लागि पनि सामान्य पोशाकमै पठाइएको थियो । ‘विवाहलाई तडकभडकले होइन, समझदारी र विवेकले गर्नुपर्छ। यो सोच मेरी छोरीको पनि थियो, त्यसैले हामीले यो निर्णय लिएका हौं’, ढुङ्गेलले भने ।
समाजमा विवाहको नाममा लाखौँ रुपैयाँ खर्च गरेर ऋणमा पर्ने प्रवृत्ति बढ्दो रहेको वर्तमान सन्दर्भमा ढुङ्गेल परिवारको यो कदम समाज रूपान्तरणको सशक्त सन्देश बनेर आएको छ ।

सामान्य तर अर्थपूर्ण कार्यमार्फत जनमानसमा चेतना ल्याउने प्रयासस्वरूप गरिएको ढुङ्गेल परिवारको सहयोग प्रशंसायोग्य मात्र होइन, अनुकरणीय पनि छ ।

Leave a Reply