काठमाडौं । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्वपतिको आकस्मिक निधनलाई लिएर अर्की अभिनेत्री कंगना रनावतले फरक खालको बयान दिएकी छन् । पोलो खेल्ने क्रममा मुखभित्र मौरी पसेर सञ्जय कपुरको निधन भएको उनको दाबी छ ।
कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘अर्को अविश्वसनीय घटनामा, सञ्जय कपुर (करिश्मा कपुरका पूर्वपति) पोलो मैदानमा थिए, उनको मुखभित्र मौरी पस्यो (हो, पोलो मैदानमा मौरी), मौरीले उनलाई टोक्यो र उनको श्वासनली अवरुद्ध भयो । सास फेर्न नसकेपछि उनले खेल रोक्न अनुरोध गरे, तर तत्कालै हृदयाघातका कारण उनको निधन भयो । यस्तो दुखद खबर ।’
कंगनाको यो दाबी सामाजिक सञ्जालमा तीव्ररूपमा भाइरल भएको छ । कतिपयले यो जानकारी गलत र संवेदनहीन भएको भन्दै आलोचना गरेका छन् । कंगनाले यस्तो विवरण लेख्दा कुनै पनि स्रोत उल्लेख गरेकी छैनन् ।
विश्वसनीय स्रोतहरूका अनुसार सञ्जय कपुरको निधन विहीबार (३१ जेठ, २०८२) बेलायतको गार्डस पोलो क्लबमा पोलो खेल्ने क्रममा हृदयाघातका कारण भएको थियो । माहुरीसँग सम्बन्धित कुनै घटना समाचारहरुमा उल्लेख गरिएको छैन ।
सोना कोमस्टारका चेयरम्यान सञ्जय कपूर र करिश्मा कपुरको सन् २००३ मा विवाह भएको थियो । उनीहरुले २०१६ मा आपसी सहमतिमा सम्बन्धविच्छेद गरे । उनीहरूका दुई सन्तान १९ र १३ वर्षका दुई छोरी समायरा र कियान छन् । करिश्मासँग अलग भएपछि सञ्जय कपुरले प्रिया सचदेवसँग अर्को विवाह गरे । प्रियापट्टिबाट पनि उनका एक छोरा छन् ।
कंगनाको यो दाबीले करिश्माका प्रशंसकहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच तीव्र विवाद उत्पन्न गरेको छ । कतिपयले कंगनालाई यस्तो संवेदनशील समयमा गलत जानकारी फैलाएको भन्दै आलोचना गरेका छन् । कंगनाले यो दावीप्रति थप स्पष्टीकरण दिएकी छैनन् ।
सञ्जयको अन्तिम संस्कार बेलायतमै हुने बताइएको छ ।

Leave a Reply