लुम्बिनीको बजेटका विषयमा मन्त्रीहरुबीच खटपट, समयमै पूर्ण बजेट आउनेमा बढ्यो आशंका

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज ल्याउन लागेको बजेटप्रति मन्त्रीहरुबीच नै खटपट बढेको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले आन्तरिक स्रोतबिना बजेटको आकार बढाएर अस्तव्यस्त बनाउने तयारी देखेपछि अधिकांश कांग्रेसका मन्त्रीहरूले असन्तुष्टि जनाएका छन् भने एमालेका मन्त्रीहरूले पनि असन्तुष्टि जनाएका छन् ।

प्रदेश सरकारमा मुख्यमन्त्री एमालेबाट चेतनारायण आचार्य रहे पनि आर्थिक मामिला मन्त्री कार्की नेपाली कांग्रेसका हुन् ।

बजेटको आकार बढाउने विषयमा मुख्यमन्त्री आचार्य, मन्त्री कार्की तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच समझदारी भए पनि अन्य मन्त्रीहरूले शनिवारसम्म समझदारी नै नगरेको स्रोतले जनाएको छ । आइतबार बिहान पनि असन्तुष्ट धेरै मन्त्रीहरूले मोबाइल बन्द गरेर बसेका छन् ।

निरन्तर घाटा बजेट ल्याउँदै आएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि घाटा बजेट नै ल्याउने तयारी गरेपछि र आफूले मागेअनुसारको सिलिङ नपाएपछि मन्त्रीहरू असन्तुष्ट बनेका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । अहिले सुरुमा ३० अर्ब हाराहारीको बजेट ल्याउने मुख्यमन्त्री आचार्य र अर्थमन्त्री कार्कीले सार्वजनिक प्रतिबद्धता गरे पनि अहिले ३९ अर्ब हाराहारीकै बजेट तयारी भएको हो । तर मन्त्रीहरू बीच अन्तिम समयसम्म असन्तुष्टि बढेको र शुक्रवारसम्म पनि मन्त्रालयलाई बजेटको सिलिङ थप गरिरहेकाले बजेट समयमा नआउने भएको हो ।

सरकारी तयारीअनुसार, आगामी वर्षको लागि प्रदेश सरकारले करिब ३९ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ। चालु आर्थिक वर्ष २०८१र८२ मा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याइएको थियो । आगामी बजेटमा स्रोत परिचालनमा देखिएको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनः निर्धारणका आधारमा बजेटको आकार केही सन्तुलित बनाइएको बताइएको छ।

‘अर्थमन्त्रीकै कारण बजेट अस्तव्यस्त भयो, यस्तो तालले कसरी काम गर्न सकिन्छ’ एक मन्त्रीले भने । उनका अनुसार बजेटका विषयमा विभागीय मन्त्रालयका सचिवसहितका कर्मचारी, योजना आयोगकै पदाधिकारीहरू समेत सन्तुष्ट छैनन् ।

आगामी आवका लागि आज बजेट ल्याउने संवैधानिक व्यवस्था छ । तर शनिवार अबेरसम्म पनि बजेटको आकार र ठूला आयोजनाको टुंगो नलागेको हो । मन्त्रीहरूको निरन्तर दबाबपछि आर्थिक मामिला मन्त्रालयले शुक्रवार साँझ केही मन्त्रालयलाई बजेटको नयाँ सिलिङ पठाएको छ । त्यसले सरकारले घाटा बजेट नल्याउने र ३२ अर्ब हाराहारीमा बजेट ल्याउने सार्वजनिक गर्दै आएका मुख्यमन्त्री चेतनारायण आचार्यकै भनाइ खण्डित गरेको भन्दै मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् । ।

मुख्यमन्त्री आचार्यले एक साता अघिसम्म पनि ३२ अर्बभन्दा नबढ्ने गरी बजेट ल्याउने बताउँदै आइरहेका थिए । त्यहीअनुसार अर्थ मन्त्रालयले १५ दिनअघि नै झन्डै ३२ अर्बकै सिलिङ मन्त्रीहरूलाई पठाएको थियो । तर, शुक्रवार फेरि नयाँ सिलिङ पठाएपछि सरकारका मन्त्रीहरू शुक्रवार रातिदेखि नै योजना र रकम थप्नमा व्यस्त भएका छन् ।

बजेटको अंक टुंगो लगाउन शनिवार विहानैदेखि मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री एवं सत्तापक्षका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकाल मुख्यमन्त्री निवासमा छलफलमा बसेपनि टुंगो नलगाई उठेका थिए ।

सरकारका केही मन्त्रीहरू र सांसदहरु प्रदेश गौरवका आयोजना र बहुवर्षे योजनाको दायित्व भुक्तानी बढेकाले बजेटको आकार बढाउनैपर्ने लबिङमा लागेपछि सरकार दबाबमा परेको दाबी गरिएको छ ।

सबैभन्दा बढी दायित्व भौतिक पूर्वाधार, खानेपानी तथा सहरी विकास र ऊर्जा जलस्रोतमा छ । त्यसैले पनि मन्त्रीहरूलाई दबाब बढेको छ । त्यसबाहेक प्रदेश सरकारले यसै वर्ष सडक गुरुयोजना तयार गरेको छ । त्यसमा १५ वटा प्रदेश मुख्य सडक र ५ सय ९४ प्रदेश सडक योजना छन् । यी सडक प्रदेशका ३४ सय सडकलाई घटाएर निर्धारण गरिएका सडक हुन् । तीमध्ये कम्तीमा ५० प्रतिशत सडकमा ठूलो आकारको बजेट राख्नुपर्ने भएकाले पनि सरकारको बजेट बढ्ने निश्चित छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्यालले प्रदेश सरकारले अघि सारेका पुराना, बहुवर्षे र गौरवका आयोजनाको दायित्वकै कारण आगामी वर्षको बजेटको आकार बढ्ने बताए । उनका अनुसार संघीय समपुरक, स्थानीय तहको समपूरक र विशेष अनुदानको बाध्यकारी दायित्वले पनि बजेटको आकार सरकारले तयारी गरेभन्दा बढ्न लागेको हो ।

आगामी वर्षका लागि संघीय सरकारले समपूरकअर्न्तगत १० ठूला योजना पठाएको छ । त्यसमा ५ क्रमागत र ५ वटा नयाँ हुन् । नयाँ योजनामा बजेट धेरै जान्छ । तीबाहेक पनि प्रदेश गौरवका आयोजनाअन्तर्गत काम भइरहेका प्रदेश राजधानी देउखुरीका प्रशासनिक भवन र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि वर्ष छुट्याएरै बजेट विनियोजन गर्नुपर्ने र धेरै दबाबबीच अघिल्ला वर्षहरुको दायित्व बेहोर्ने चक्र नदोहोर्‍याउने गरी प्रयास भइरहेको उनको दाबी छ ।

सरकारका प्रवक्ता दिनेश पन्थीले सरकारका दायित्व र माग दुवैलाई सम्बोधन गरेर बजेट बनिरहेको र आकार चालु वर्षकै हाराहारीमा हुने बताए ।

आज ३ बजेका लागि समय तोकिएको बजेट प्रस्तुतीको समय साँझ ५ बजेलाई सारिएको छ । सरकारमा कांग्रेसबाट मन्त्री बनेका रोज राणा, प्रचण्डविक्रम न्यौपाने, जन्मजय तिमिल्सिना र एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकालले बजेटप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

आइतबार ३ बजेका लागि तोकिएको प्रदेश सभाको समय मुख्यमन्त्रीको अनुरोधमा ५ बजेलाई सारिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *