काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौं, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो ।
सात प्रदेश समेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
यस्तै वीरगञ्जमा र पोखरामा सातसात तथा धरानमा चार वटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत-नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानून कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।
यस्तै हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

Leave a Reply