उपेन्द्र यादवको प्रस्ताव- सरकार टिकाउन सांसद खरिदबिक्री गरिन्छ, मन्त्री बनाउनै छाडौँ (भिडिओ)

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । नेपालमा निर्वाचन प्रणाली तुलनात्मक अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन प्रणालीकै कारणले विकृति र भ्रष्टाचार बढेको उनको बुझाइ छ ।

उनले पार्टी र उम्मेदवार दुवैले खर्च गर्न नपर्ने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पूर्ण समावेशी हुने गरी जानुपर्छ । त्यसो हुँदा खर्च न उम्मेदवारको हुन्छ न त पार्टीको नै ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताए । सांसदलाई मन्त्री बनाउन छाड्ने हो भने ठूलो समस्या हल हुने उनको भनाइ छ ।

नेता यादवले भने, ‘राजनीतिक अस्थिरता सरकार बनाउन नै भएको छ, मैले त भोगेको हो । एउटा पार्टीले सबैलाई मन्त्री बनाउन सक्दैन, प्रधानमन्त्रीको पार्टीले आइज मन्त्री बनाइदिन्छु भनेर पार्टी फुटाउँछन् । राति पार्टी फुटाउँछ, बिहानै मन्त्रीको शपथ लिन्छ । प्रधानमन्त्रीले गौरवसाथ भाषण गर्छन्, मैले सरकार टिकाउन फलानो पार्टी फुटाएँ भनेर । यो सुहाउने कुरा हो ?’

उनले सांसदहरूलाई मन्त्री नबनाए पार्टी फुटाउन खरिदबिक्री नै नहुने बताए । संविधानसभामा खसीबोका किने जस्तो गरेर सांसदहरुलाई रिसोर्टमा लगेर राखेको आफैँले देखेको उनले स्मरण गरे ।

Comments

2 responses to “उपेन्द्र यादवको प्रस्ताव- सरकार टिकाउन सांसद खरिदबिक्री गरिन्छ, मन्त्री बनाउनै छाडौँ (भिडिओ)”

  1. भेषराज पोख्रेल Avatar
    भेषराज पोख्रेल

    यो कुरा सहि नै हो, तर प्रदेश देशको लागि धेरै खर्चीलो भयो, तेत्रा साम्सद, अनि मन्त्रीहरु किन चाहिन्छ? पहिले को क्षेत्रस्तरको संरचना लाई प्रदेश मा फिट गरि एक जना Provincial Governer को कार्यलय राखी अन्य सबै bureocratic structure राख्ने व्यवस्था मिलाउन जरुरि देखिन्छ, साथै केन्द्र मा साम्सद को संख्या पनि कम गर्न जरुरि देखिन्छ, आफ्नो र आफ्नो पार्टी एबम कार्यकर्ता भन्दा देश ठुलो होइनर? कार्यकारी प्रधान मन्त्रि प्रतक्ष्य निर्वाचित हुने व्यवस्था र मन्त्रिहरु बिज्ञ समुह बाट बनाउने प्रस्ताब राम्रै हो!

  2. Amrendra Kumar Avatar
    Amrendra Kumar

    तर सहमतिमा आउँछन् भने विश्वास गर्न सकिदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *