दुई बुँदे सहमतिबारे प्रचण्ड- विवेक पुर्‍याएर गरेका हौँ, आकाशै खसे जस्तो कसैले गर्नुपर्दैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिटिज भिसा प्रकरणमा सरकारलाई छानबिन समिति बनाउन बाध्य पारेर संसद् खोल्ने सहमति गरेको दाबी गरेका छन् ।

कोच, धिमाल, मेचे, सन्थाल, झाँगड/उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरूले विवेक पुर्‍याएर नै दुई बुँदे सहमति गरेको सुनाए ।

उनले भने, ‘संसद् अवरुद्ध थियो, हिजो सरकारले अध्ययन गरेर एक महिनाभित्र छानबिन समिति बनाएर जान तयार भएपछि हामीले अधिवेशन खोलेर बहस गर्न जरुरी छ किनकि जनताका मुद्दा त्यहाँ सदनभित्र छन् । संघीय निजामती ऐन म प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर सदनमा पुर्‍याएको हो । त्यो पारित गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’

प्रचण्डले शिक्षा विधेयक, संघीय निजामती, नागरिकता ऐन, शान्ति प्रक्रियालगायत विषय टुङ्ग्याउनुपर्ने आवश्यक भएकाले माओवादीले सदन खोलेको बताए ।

माओवादीले अनन्तकालसम्म सदन अवरोध गर्दा यी सबै ऐन पारित नहुन सक्ने भएकाले सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पारेर जनताको हितको लागि सहमति गरेको उनको भनाइ छ ।

माओवादीले सरकारसँग भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । माओवादीका नेताहरूले पनि यसप्रति प्रश्न उठाएका छन् ।

आलोचकहरूलाई प्रचण्डले जवाफ दिँदै भने, ‘एक थरी मान्छेहरू खत्तमै भयो, जहाजै डुब्यो, आकाशै खस्यो जस्तो गरेका छन् । त्यो बिलकुल वाहियात कुरा हो । हामी एउटा जिम्मेवार पार्टीमात्रै होइन, यो संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व र अपनत्व लिने पार्टी हो । त्यसको रक्षा गर्ने मूल पार्टी हो ।’

उनले आफूहरूले विवेक पुर्‍याएर सहमति गरेको भन्दै एक महिनामा समिति गठन नगरे त्यही दिनबाट आन्दोलन सुरु गर्न सकिने बताए ।

प्रचण्डले आफू सरकार बनाउने खेलतिर नरहेको पनि प्रस्ट पारे ।

Comments

One response to “दुई बुँदे सहमतिबारे प्रचण्ड- विवेक पुर्‍याएर गरेका हौँ, आकाशै खसे जस्तो कसैले गर्नुपर्दैन (भिडिओ)”

  1. RK Avatar
    RK

    एकमहिना पछि को संग के साट्ने होला ? सारै चित्त बुझ्दो तरीका ! धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *