सुर्खेत । जाजरकोटका व्यापारीहरूले महिनामा दुई दिन बजार बन्द गरेर फुर्सद पाउने भएका छन्।
उद्योग वाणिज्य संघ जाजरकोटले गरेको निर्णयअनुसार अबदेखि हरेक महिनाको पहिलो र अन्तिम शनिवार सदरमुकाम खलङ्गाको बजार बन्द गरिनेछ।
यो निर्णय संघको १८ औं वार्षिक साधारण सभाबाट भएको हो। संघका अध्यक्ष रमेश केसीका अनुसार यो निर्णय व्यवसायीहरूकै मागमा गरिएको बताएका छन् ।
अध्यक्ष केसीले भने,`व्यवसायीहरू आफैंले हामीकहाँ आएर महिनामा दुई दिन फुर्सदको समय चाहियो भनेपछि हामीले निर्णय गरेका हौं।`
उनका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारहरू बन्द हुनेछन्। निर्णय कार्यान्वयनका लागि २०६ जना व्यवसायीको हस्ताक्षर संकलन गरिएको छ।
बजार बन्द भए पनि होटल, मेडिकल भने खुला रहने छन्। तरकारी पसल बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि मात्र खोल्न पाइनेछ।
यदि कोहीले नियम उल्लङ्घन गरे पहिलो पटक ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
नियम नमान्ने क्रम दोहोरिए जरिवाना बढाउँदै लगिने संघले निर्देशन दिएको छ।
निर्णय लागु भएसँगै आज खलङ्गा बजार बिहानैदेखि बन्द देखिएको छ र बजार क्षेत्र सुनसान छ।

Leave a Reply