काठमाडौं । भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेशबिच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले भोलि असार १ गते (जुन १५) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ ।
गत वर्ष असोज १७ मा तीन वटै देशका उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा भएको सम्झौतापश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो, तर यस वर्ष तोकिएकै समयमा बंगलादेशमा बिजुली पठाउने तयारीबारे नेपाल विद्युत प्राधिकरणले हालसम्म औपचारिक जानकारी गराएको छैन ।
यद्यपि नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सम्झौतामा तोकिएको मितिमै बिजुली निर्यात गर्नेगरी अन्तिम तयारी भइसकेको जानकारी दिएका छन् ।
‘करिब दुई साताअघि नै बंगलादेशले नेपालबाट बिजुली लैजान प्रतीतपत्र (एलसी) खोलिसकेको छ । त्यसकारण असार १ मै बंगलादेशमा बिजुली बेच्नेगरी काम भइसकेको हो’, उनले भने ।
सम्झौताअनुसार नेपालले आगामी पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा बिजुली पठाउनुपर्नेछ । गत वर्ष नेपाल र भारतबीचको पहिलो ४०० केभी अन्तरदेशीय प्रसारणलाइन ढल्केवर–मुजफ्फरपुर हुँदै नेपालको बिजुली बंगलादेश पुगेको थियो ।
यस वर्ष पनि सोही प्रसारणलाइन हुँदै नेपालको बिजुली बंगलादेश पुग्नेछ । त्यसका लागि विद्युतको मिटर मुजफ्फरपुरमा रहेको छ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बिजुली बंगलादेश पुगेको थियो ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने सहमति भएको छ ।

Leave a Reply