यसअघि पनि लाखौँ आइसके यहाँ ।
यसपछि पनि करौडौँ आउनेछन् यहाँ ।
आइसकेका भूतकालमा भए । आउनेहरू भविष्यमा छन् । यतिबेला म र थुप्रै महरू वर्तमानकालमा थियौँ । मुक्तिनाथमा उहिले आएकाको पाइलाको डोब हराइसकेको थियो । अब आउनेको पाइला परेकै थिएन । हामी हाम्रा पाइलाले हिँडिरहेका थियौँ ।
मुक्तिनाथ अझै कति जानै बाँकी छन् । गएका कतिले यो संसार छाडेर गइसके । जान्छु भन्नेहरू जन्मेकै छैनन । जन्मेका कति गइसके । सानैदेखि सुनेको तर जान बाँकी थियो मुक्तिनाथ ।
यो पाला त्यो पनि पूरा भयो ।
जाने कतिले यसको बारेमा लेख लेखे । कतिले लेखेनन् । लेख्ने इच्छा पनि पूरा गर्न यो लेखिरहेछु । मनोहर मुक्तिनाथ यात्रा प्रचलित पोखराबाट सुरू हुन्छ । अरु धेरै मान्छे पोखरा पुग्छन तर मुक्तिनाथ पुग्दैनन् । म पनि त्यस्तैमा एक थिएँ पोहरसालसम्म । पर्यटनको राजधानी पोखरा धेरैपल्ट गइयो, बागलुङ गइयो तर मुक्तिनाथ अहँ जान पाएको थिएन । समयले समय नमिलाएपछि हामीले समय मिलाएर मात्रै समय मिल्दो रहेनछ ।
यो पाला त्यो संयोग जुर्यो ।
केही वर्षदेखि मभित्र जन्मदिन मनाउन अलिक टाढा जाने बानी लागेको छ । कति काठमाडौंमा कौवा उडाएर भोज गर्नु बरु प्राकृतिक र अध्यात्मिक थलो जाउँ न भन्ने भूत सवार भैरहेछ । पोहोर पाथीभारा गएँ । यो पाला मुक्तिनाथ जाने भन्ने भयो ।
थाहा छ, परिवारसँग हिँडेको प्रेमपूर्वक पाइलाको सूरम्यता संगीत झैँ मनमै आज र अघिपछि पनि बज्दछ । तर, पनि समय मिलेको थिएन । पाथीभाराको पाइलाको पात्रो पल्टदै थियो । एक वर्ष भयो मिस्टर, के गर्दैछौ भनेर ।
श्रीमती सिर्जनासँग सल्लाह गर्दै भनेँ ‘यो पाला मुक्तिनाथ जाउँ न त !’
उनी पहिले गइसकेकी थिइन् र भनिन् ‘मिल्छ भने अपर मुस्ताङ पनि जाउँ न ल ।’
मैले हुन्छ भनेँ ।
छोरी सिमल र आरिफा मेरी उनी र म आफ्नै गाडीमा पोखरासम्म गइयो । साली सपना र साढभाइ आर्यन सिग्देल र पुन्टे आयन्स पोखरामै थिए । उनीहरूसँग भेट भयो । उनीहरू त्यता नजाने भए । हामी जाने भयौं ।
व्यापारी देश चाइनाको टिकटकले आजकल व्यापार बढाएको छ । सिर्जनाले त्यही टिकटकबाट प्याकेज लिइछन् । टिकटकमा स्कर्पियो लाइन लागेर गएको देखेकोले आफ्नो गाडी किन लैजानु भन्ने उनलाई लागेछ । मलाई पनि सही लाग्यो । छोरी सिमल, आरीफा, सिर्जना र मलाई लिन चैत मसान्तकै दिन स्कर्पियो होटलमै आयो ।
हामी तीनसहित सातजना रहेछन् । बिहान ६ बजे हामीलाई लिएर गाडी लाग्यो बागलुङ रोड । यो देशको पहाडी बाटो अलिकति घल्च्याङघुल्चुङ हुनु सामान्य नै भयो । पर्वतको बाटो नसमाउँदासम्म गाडी धिमा गतिमा थियो । त्यसपछि रफ्तार लियो ।
आजकलको चर्चित हेम्जा रोड, काँडे ,लुम्ले, कुश्मा बजार हुँदै गाडी अगाडि बढ्यो । हेम्जाबाट सुन्दर हिमाली दृष्य हेर्दा हेर्दै कुश्मानजिकै ककरामा भीर मौरीले पारेको चाका हेरियो । बन्जी जम्प हेर्दै अगाडी बढ्दा निक्कै भारतीय बाइक देँखे । सामानले दुईतिर बाँधेर उनीहरू पनि हाम्रो जस्तै यात्रारत थिए ।
कुराकानी गर्दा गर्दै बागलुङ कालिका पुगिहाल्यो । गेटमै ‘कालिका भगवती मन्दिरमा पाल्नुहुने सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूमा हार्दिक स्वागत गर्दछौं’ लेखिएको कालीका भगवती गुठी व्यवस्थापन समिको साइनबोर्ड थियो ।
बागलुङ कालिका गेट छिरेपछि मन्दिरसम्मको बाटो मनै आकर्षित बनाउने । दुबै साइडमा ठूला ठूला रुखहरूले आउनुस् ! भन्दै नमस्कार गर्दै बोलाए झैँ ठान्दछु । खुशी हुन्छु यसै यसै । मन्दिर जाने बाटोमा विभिन्न मूर्तिहरू बन्दै रहेछन् । मन्दिरमा थपिँदै जाने मूर्तिहरू नेपाली सभ्यता नै भइसक्यो ।
भगवती कालिकाको दर्शनपछि गाडी बागलुङ बजार नगई तलतिर बेनीको बाटो लाग्यो । त्यहाँबाट १९ किमीमा पर्ने बेनीको बाटो पहिरोले खत्तम पारेको रहेछ । सानो बाटो, भत्किरहने पीच, बनाउन लगाइएको ठेक्का । अनि ठेकेदारले लामो समय लगाउने र चाँडै नबनाउने नियति भैसक्यो हाम्रो । यहाँ यस्तै देखियो ।
हामी शालिग्राम गुफा, पञ्चकोट फेदी खबरा हुँदै अगाडि बढ्यौँ । खबरा नाम कसरी रह्यो होला भन्ने भन्ने चिन्तन गर्दागर्दै एक घन्टा नलाग्दै आइपुग्यो बेनी ! बेनीमा पर्वत बेनी र म्याग्दी बेनी दुई बेनी छ । हामी म्याग्दी बेनी हुँदै आएका थियौँ । नदी किनारमा पहाडको फेदीमा रहेको बेनी बजारमा ‘बेनीको बजार, जता माया उतै छ नजर…’ सदाबहार गुञ्जिने गीतमा झुम्दै म्याग्दी क्रस गर्यौँ । पर्वतपट्टीको कालीगण्डकी दूर दर्शन भयो ।

देश र जनताको लागि बलिदान दिने महान शहीदको सम्झनामा निर्मित ‘शहीद स्तम्भ’ लेखेको गेट देखियो । शहीद कुद्नेहरू संसार पुगे झैँ लाग्यो गेट हेर्दा । बेनीको न्यूरोडले काठमाडौंको न्यूरोड झैँ बन्न दुई साइडको घरको बीचमा बाटो बनाएको रहेछ । मान्छेहरू आवतजावत, मुक्तिनाथ जाने गाडीको ताँतीले एक छिन जाम भयो बेनीमा । अघि स्वागत गेटले गरेथ्यो । अहिले बिदाई गर्दै गेटले नबोली भन्यो- ‘बेनी बजार भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद !’
कालीगण्डकीको किनारै किनार हामीले बाटो सररर एकैछिन हिँड्यौँ । फेरि थोत्रे, झुत्रे दिक्क लगाउने बाटो आयो । तल नदी हामीलाई पछ्याइरहेको थियो । ठूला ठूला ढुंगा, पहाडका हावा र माटोको सुगन्ध लिँदै झुरूप्प घर हेर्दै थियौँ । लेखिएको थियो- पवित्र तीर्थस्थल गलेश्वर महादेव जाने बाटो ।
बेनीबाट करिब आधा घन्टाको ड्राइभपछि अलौकिक गलेश्वरधाम शिवालय प्रवेशद्वारमा पुग्यौँ । धार्मिक, प्राकृतिक र आध्यात्मिक थलोमा नदेखिकनै कानले सुनियो- भजन चलिरहेछ । नजिकै पुगेपछि आँखाले देख्यो- नाच पनि छ । त्यहाँ कालीगण्डकी स्नान पदमार्ग, बहुउद्देश्यीय बाटिका, पार्क, पिकनिक स्थल र खेलकुद मैदान क्षेत्रहरू रहेछन् । विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम गेटमै फोटो त खिच्नै पर्यो ।
अलौकिक ठाउँ रहेछ त्यो । नौ रोपनीको ढुङ्गो पूरै शालिग्राम । त्यही ढुङ्गामाथि मन्दिर । बाहिर बगिरहेको नदी । गलेश्वर धाम गज्जब लाग्यो । हेरिरहुँ, बसिरहुँ, छोईरहुँ, झैँ लाग्ने त्यो ठाउँ पर्यटनको लागि सुप्रसिद्ध हुन सक्छ । हामीले देवता मानिरहेको यो ढुंगा नेपालको लागि केही खनिजको स्रोत हुन सक्छ । हरेक धार्मिक र पर्यटकीय थलोमा अनेक अलौकिक कथा हुन्छन् । यहाँ पनि छ ।
श्रीमद्धभागवत पुराण अनुसार महादेवले सतिदेवीको मृत शरीर बोकेर कालीगण्डकी नदीको किनारै किनार हिमालय पर्वततर्फ जाँदा सतिदेवीको गला पतन भएको र ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूपले रहनु भएकोले यसको नाम गलेश्वर धाम रहेको लिखित दस्तावेजमा छ । विसं १९५९ मा पृथ्वीवीरविक्रम शाहले यसको गुठी स्थापना गरिदिएका रहेछन् ।
विशाल चक्रशिलामाथि कहिल्यै नसुक्ने पोखरी, वृक्ष, भगवानको चित्र, शङ्ख, नाग, देवीदेवता आकृतिको अलौकिक दृष्य देखिन्छ । बेनीबजारबाट तीन किलोमिटर उत्तरमा रहेको यो मुक्तिनाथको प्रवेशद्वार वा मुक्तिद्वार पनि भनिन्छ ।
कालीगण्डकी र रहु नदीको संगममा पर्ने यो ठाउँ गजबै छ । अनेकौ ऋषिले तपस्या गरेर सिद्ध प्राप्त गरेको यो ठाउँको मौसम मनमोहक छ । पहाड हेर्ने कि, हिमश्रृंखला वा खोला वा ध्यान योगको लागि प्रसिद्ध छ । बसिरहुँ झैँ लाग्ने गलेश्वरमा धेरै गुरुजी त्यहिँ बसेर बने । तर, हाम्रो गाडीका गुरुजीले धेरै बेर बस्न दिएनन् ।
कालीगण्डकी सुसाइरहेको, विशाल शिलामाथि उभिँदा हावाको झोँकले बेस्कन हानिरहेको, पिपलको बोट हाँसिरहेको , शालिग्राममाथि टेकेर हिँड्दा हामी हिन्दू सनातनीलाई कस्तो अप्ठ्यारो ! तर, सबै हिँडेपछि हिँड्नै पर्यो । राधाकृष्णको मन्दिर, लक्ष्मी नारायण मन्दिर, कामधेनु गौमाताको मन्दिरले आकर्षण थपेका थिए ।
राजा भरत, जडभरत, राजर्षि, रहुगण, गलेश्वर बाबाको तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि र मोक्षभूमि मानिएको गलेश्वरमा दिनभर त्यही शिवशिलामा सुतौँ झै शिवलिङ्गहरूमा घुमिरहुँ झैँ लागिरहेको थियो । तर, समूहमा भएकाले सम्भव भएन ।
लगभग आधा घन्टाको बसाइपछि हामी गुइँठो, सुकेबगरको धुलो र खत्तम बाटोमा गाडी कुदाउँदै लमजुङ होटल दानामा खानाको लागि रोकियौँ । गलेश्वर धामबाट एक घन्टाको बाटोमा साढे एक बज्दा हाम्रो थालमा भात आइपुग्यो ।
दानाको दानापानी आधा घन्टामा खायौँ हामीले । लगभग ४५ मिनेटमा दाना म्याग्दीबाट निक्लियौँ । झुपुक्क हुन नपाउँदै आयो रूप्से झरना । बेनी जोमसोम खण्डमा पर्ने यो झरना यतिबेला धेरै आवाजको रैनछ । गाडीबाटै झरनाको दूरदर्शन गरियो । सँगै थियो अन्धगल्छी । धौलागिरी र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छी खोँचलाई विश्वकै गहिरो माने पनि मनमात्र गहिरियो । बाढीको बितण्डाले ल्याएको विरूप दृष्यले बाहिरिनै मन लागेन ।
झरना मलाई पहाडको संगीत लाग्दछ । हिँड्दा हिँड्दै थाकेपछिको त्यो दृष्य रूपकी रानी हेरेँ झैँ लाग्दछ । कडा चट्टानमा देखिने यो कोमलताले त्यही चट्टानमै जीवनको लयात्मक लय बग्दछ भन्ने दिव्य दर्शन दिए झैँ लाग्दछ । यस्तो धेरै लाग्दछ र मन नै मनोहारी बन्दछ ।
बेनी जोमसोम खण्डमा पर्ने झरना हेरेपछि तितर गाउँ हुँदै घासा मुस्ताङमा पुग्दा थाहा भयो, गाडीले पास लिनुपर्ने रहेछ । तातोपानी बजारजस्तै गाडीको जक्सनमा ड्राइभरको ताँती पास लिन पर्खिरहेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकोले गाडीहरूले त्यहाँ पास लिएर मात्रै मुस्ताङ प्रवेश गर्नु पर्ने रहेछ । चेक जाँचपछि पास नलिएको थाहा पाए जरिबाना वा जे कारबाही पनि गर्न सकिने नियम रहेछ । फरेनरलाई ३ हजार र सार्क देशकालाई एक हजार लाग्ने फरक फरक नियम रहेछ ।
मुस्ताङ जाने गाडी एकैछिनमात्रै अलिक गाह्रो रहेछ । त्यसपछि त सरररर हाईवे जस्तै बाटो लाग्यो । आँखालाई आनन्द दिने मुस्ताङ घासापछि खास्सा देखियो । मिसँ गाउँ होस् वा छ्यो गाउँ, हिमाल त आँखाबाट आफ्नै औँलामा आए झैँ भयो । पहाडको फरक दृष्य, हिमालको फरक दृष्य सानदार बाटो वाउ रहेछ मुस्ताङ् !
केहीबेरमा ‘म धम्पु गाउँ हो’ भन्यो बाटोको साइनबोर्डले । कहिँ कहिँ मोटरसाइकलसमेत रोक्नपर्ने गरी बाटो पहिरोले बिगारेको रहेछ । म्याग्दीतिरको जस्तो भने हैन । बाटोमा मरुभूमिजस्तै देखियो दामी बगर ! कालीगण्डकीको अर्कै रूप त्यहाँ देखेँ । निक्कै परसम्म पनि कतारको मरुभूमिमा हिँडे झैँ लाग्यो । ताङछार गाउँसम्म मरुभूमि जस्तै लाग्ने बगरसँगै हिँडिरह्यौँ ।

मुस्ताङको हरेक दृष्य अलौकिक लाग्थ्यो । हेर्दा हेर्दै पहाडमा प्वालैप्वाल देखिए । पूर्खाले हतियार लुकाएर बसेको ठाउँ भने ड्राइभर पदमले । प्वालबाट अहिले मान्छे निक्लेलान् कि झैँ लाग्ने सयौँ बंकरजस्ता पहाडमा परेको प्राकृतिक प्वालले त्यो अदभूत देखिएको थियो ।
नजिकै एक २००९ सालमा खोलिएको जनआदर्श अमरसिंह मावि देखियो । बाफ्रे लाग्यो । ७३ वर्षीय बुढो विद्यालयले पूरै मुहारमा मेकअप गरे झैँ नयाँ देखिएको थियो । मुस्ताङका स्याउको बोटहरू हामीलाई चियाउन थाले । पदमले भने ‘असोज कात्तिकमा आउनु पर्दछ ओखर र स्याउ आफ्नै हातले टिपेर खान पाइन्छ ।’
थासाङ गाउँपालिका-१ नम्बर वडा कार्यालय टुकुचेमा पेट्रोल पाइने सूचना थियो । त्यो त नीलो ड्रममा राख्दै पानीको बोतलको एक लिटर मानेर बेच्ने पो रहेछ । छक्क परेँ ।
घडीमा चार बज्न खोज्दै थियो, सूचना देखियो- हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिका-२ स्थित गुम्बै गुम्बाको गाउँ मानेकै गाउँ तथा स्याउको राजधानी ऐतिहासिक गाउँ मार्फामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौँ । नजिकै जनबाल माध्यमिक विद्यालयले बोल्यो ‘म २०१२ सालमा खुलेको हुँ’ । उतिबेला देखि यो हिमालपारीमा शिक्षाको विकास भएको र त्यो पनि मनमौजी मार्फामा देखेर खुशी लाग्यो ।
०००
ड्राइभरसँग गफ गर्दै हिँड्दा मलाई मज्जा लाग्दछ । प्राय, ड्राइभर टुर अपरेटर र समसामयिक समाचार हुन् । त्यहाँको हालखबर यताउता बुझ्न मन भयो कुरा गरेँ । उनी पदम श्रेष्ठ रहेछन्, पोखरा-मुस्ताङ गाडी चलाउन थालेको १४ वर्ष भएछ । कुनै पनि काम १२ वर्ष गरे त्यो सिर्जना वा आर्ट हुन्छ झैँ लाग्दछ । उनको त्यो काम पनि आर्ट झैँ भैसकेछ ।
हसिला फरासिला उनीसँग कुरा गर्दै र अपरिचत चारजना परिवारसँग चिनाजानी हुँदै गफ गर्दै हेर्दै निदाउँदै ब्यूँझँदै गइयो । अपरिचित चारजना केसी परिवार रहेछन् । दोलखाका उनी पेप्सीकोलामा बस्ने रहेछन् । वैदेशिक रोजगारीमा गएर बिदाको समयमा दुई छोरा र बुढी लिएर घुमाउन आएका ।
भुवनजीलाई मैले सोधेँ ‘कति बस्ने विचार छ विदेश ?’ भन्नुभयो ‘खै सर ! देशको ताल यही हो जेठोले एसईई सक्यो, कान्छो छोरो दुई कक्षा पढ्छ, कम्तीमा जेठोले कमाउन नथालेसम्म त बस्नै पर्यो ।’
खाडी, मलेसिया जाने कसैलाई त्यहाँ बस्न मन छैन । अमेरिका, युरोप वा विकसित मुलुक जानेलाई फर्कन मन छैन । देश अस्थिर राजनीतिको सिकार भएर युवाविहीन हुँदै जाने भयानक रुप यसपालाको तथ्याङ्कले देखाएको छ । उनलाई विदेश बस्न मन नभएको, अरुलाई फर्कन मन नभएको चित्र मनमा खेल्दा खेल्दै अर्को ठाउँ आइपुग्यो ।
०००
मार्फा हाउस अनामनगरमा देखेथेँ । मार्फामै पुगेँ । काठमाडौँमा थकालीहरू लेते, टुकचे, थसाङ देखेथेँ । थाहा पाएँ, थकालीको नाम त टोलहरू पो रहेछन् । मार्फामा शेर्पा ड्रेस लगाएर फोटो खिच्ने फेशन रहेछ । एकजनाको २५० रूपैयाँ तिरेर शेर्पा ड्रेस लगाउने, फोटो खिच्ने रमाइलो लाग्यो जेरी गल्ली ।

एक, दुई तीन, चार पाँच रहेछन् जेरी गल्ली । गल्लीभित्र पसेर केही किन्न मन लागे पाइने । हामीले पनि गुम्बामा फोटो खिच्यौँ । गल्ली, गुम्बामा गइयो । सेतो रङेले पोतिएका घरहरू बीचको गल्ली नेपाली फिल्मका सुटिङले हिट भैसकेको थिए ।
मार्फा पूरै व्यापारिक थलो भैसकेछ । एक मिलाएर राखिएको डुब्लिकेट याकको फोटोमात्रै खिचेको पनि ५० रूपैयाँ चढेर खिचेको ३५० भन्दा तीन छक परेँ ।

प्रेयर फ्ल्यागहरू गेटदेखि गल्लीसम्मै देखिन्छन् । मान्छेमात्रै हिँड्ने गल्लीमा बेलाबेलामा बाइकहरू आएर बहुतै बिथोलिदिन्छन् । स्याउको सानदार बोटहरू मार्फामा मनग्ये भेटिन्छन् । गल्लीमा रेष्टुरेन्ट, गेष्ट हाउसहरू पनि टन्नै । गुम्बाहरू पनि गनेर नसक्ने खालका । ढुङ्गाको पर्खालभित्र रहेको जेरी गल्लीहरूका फोटो जेरी जस्तै गुलिया आउँछन् ।
ऐतिहासिक मार्फा गाउँमा हेर्ने ठाउँहरूमा गुम्बाहरूमा सप्तेछ्योलिङ, ह्यिसुम, प्रा, माम्ति, एकाई कावागुचि हुन् । एपल टावर , कवर्डी गल्ली, जेरी गल्ली हेरियो । मार्फामा मज्जाले डेढ घन्टा बिताएपछि हामी मार्फा खोलाको पुल क्रस गर्दै, सुन्दर पहाड हेर्दै, आँखालाई विश्राम दिन नमान्दा नमान्दै हामी पुग्यौँ । स्वाङको ग्रीनतारा होटलमा ।
ड्राइभरले भने ‘राति सुत्ने बेलामा झ्याल अलिक भए पनि खुल्ला राख्नु होला, अक्सिजन चाहिन्छ शरीरलाई, पानी पर्यो भने हिउँ देख्नु हुन्छ मुक्तिनाथमा ।’
बाटोमा सैनिक परेड खेलेर प्वाल पारे जस्तो डाँडाहरू । खोलाको संगीत । मस्त मौसम सम्झिँदै सुतेँ । भोलिपल्ट बिहान ६ बजे नै हामी मन्दिर प्रस्थान गर्नुपर्छ भनेर पदमजीले संकेत गरेका थिए । बिहान जीउ उठ्नै मान्दैन । तैपनि जसोतसो उठेर चिसो भगाउन तातोपानी खाएर लागियो चित्ताकर्षक चित्र हेर्दै मुक्तिानाथतिर ।
गाडी जति चढ्दै जान्छ उति रमाइलो । एक ठाउँमा त गाडी खोलैबाट हिँड्नु पर्यो । सात नबज्दै कागबेनी पुगियो । त्यतिबेलै भिड भैसकेछ । हिमाल, पहाड तराई तीनवटै एकै ठाउँमा देखिए झैँ भयो कागबेनीमा । श्राद्ध गर्न ब्राम्हण राखेर पिण्ड लडाएर बसेका देखियो । एकैपल्ट धेरै मान्छे भएकोले ब्राम्हणले माईकबाट मन्त्र पढिरहेका थिए ।
दुई खोलाको संगम कागबेनीको कथा कम्ता रोचक छैन । कागबेनीमा परापूर्वकालमा काग भुसुण्डे ऋषिले तिलोचो मनाङमा तपस्या गरेर काग खोलामा आएर स्नात गरी पितृ तर्पण र पिण्ड दिएको मानिन्छ । दुई कागबेनी धाममा रहेको सरोबरमा दुईवटा काग खसे तर खस्ने बित्तिकै चमत्कारिक रूपमा हाँस भएर उडेकोले यो हंस तीर्थ पनि मानिन्छ ।
हामीले पनि नदी पूजा गर्यौँ । पितृलाई सम्झेर दियो बालेर बगायौँ । सेतो टोपी, नीलो मफलर, खैरौ स्वीटर लगाउँदै कलकल नदी बगे झैँ लागिरहयो । च्याङ्ग्राको हुल झोलुङ्गे पुल तर्दै गरेको यसअघि नदेखेको दृष्य देखेर दंग परेँ । धमिराले धुलो पारेको उसको दरबारजस्तै पहाडमा कताको फोटो खिचौँ झैँ भयो । जता हेर्यो उतै गज्जबै थियो ।
घरहरू धेरै बाटोमा देखिएनन् । बाटोमा मान्छे हिँडिरहेका पनि देखिएनन् । त्यति माथि यति मज्जाको पीच बाटो देखेर देश त विकास भएको छैन भन्न मनै लागेन । पहिले मान्छेहरू मुस्ताङ आउँदा र हामी आउँदा आकाश पाताल फरक भइसकेको थियो । हिमालहरू हामीलाई हेरेर दंग परिरहेका थिए । हामी उनीहरूलाई हेरेर फुरुङ्ग थियौँ । हिमालमाथिको बादल र नीलो आकाश पनि आहा थियो । झारकोट गाउँ आइपुग्यो । यो संकेत मुक्तिनाथ आउँदैछ भन्ने थियो ।

१५ मिनेटमै पार्किङमा पुग्यौँ । प्याकेजको खाना सुताई र ब्रेकफास्ट थियो । मन्दिर दर्शन नगरी ब्रेकफास्ट नखाने भनी त्यता लाग्यौँ । केही हिँडन पर्दथ्यो । मान्छेहरू हिँडन नसकेर पालकीमा र घोडामा बोकिएर माथि पुग्दथे । तीन भाषा (हिन्दी, नेपाली र अंग्रेजी) मा मुक्तिनाथमा बोत्तल प्लास्टिक नफाल्नुस् भन्ने सूचना थियो ।
घोडाहरू नै उतिबेलाका टयाक्सी भएका थिए । उतिबेला मान्छेको नम्बर दिएर यति नम्बर टयाक्सी भने जस्तै अहिले घोडालाई नम्बर दिएर लस्कर राखिएको थियो । हिन्दूस्थानबाट आएकाहरू पालकी र घोडामा बसेर ठाडो उकालो उक्लिरहेका थिए ।
ठूलाठूला होटल बनिरहेका । मुक्तिनाथ मन्दिर बिहान ७ बजेदेखि १२ र दिउँसो १ देखि साँझ ६ बजेसम्म खुला रहने बताइएको थियो । चिसोमा १०८ धारामा नुहाउने काम गरिएन ।

कुण्डमा पनि पानी धेरै धमिलो र फोहोर देखिएकोले भगवानको मात्रै दर्शन गर्ने निर्णयअनुसार एक घन्टा दर्शनपछि वैशाख १ गते नयाँ साल मुक्तिनाथ मन्दिरमा मनचित्त एक गर्न बसियो । बाहिर पहेँलो ध्वजा र सेतो तीन तले मन्दिर थियो भित्र दुई मूर्ति ।
३७१० मिटरको उचाइमा हिमालपारीको जिल्ला मुस्ताङ पुगियो । बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानी भन्छन् भने हिन्दूले मुक्तिनाथ । हिन्दू, वैष्णव र बौद्ध धर्मको लागि प्रख्यात ठाउँ हो यो । मुक्ति वा मोक्ष हुने क्षेत्रमा लोभको भारी देखेँ । प्रसादको पनि पैसा बढाउन पाइन्छ कि भन्नेहरू भेटेँ ।
हाम्रो त जहाँ गयो त्यहिँ कथा किंवदन्ती छ । यहाँ पनि छ । यहाँको कथा अनुसार विष्णुले जालन्धरको श्रीमती वृन्दाको सतित्व हरण गरेपछि वृन्दाको श्राप अनुसार बनेको शिला नै मुक्तिनाथ हो ।
अलौकिक अनुभवका साथ दर्शनपछि नजिकैको बुद्ध गार्डेनमा पाउ हिलाइयो । त्यही गुम्बा रहेछ र गुम्बामा ज्वालामाई । ज्वाला बलिरहेको देखेँ । धर्म र अध्यात्मले गुम्बा, ज्वालामाई भने पनि त्यो त वैज्ञानिक दृष्टिले हेर्दा नेपाल धनी बनाउने चिज होला झैँ लाग्यो ।
फर्कदा डिम्बा ताल गएँ । कतै मूल नभएको, कतैबाट पानी नआएको यो तालको अध्यात्मिक महत्व गुरु पद्यसम्भवसँग जोडिएको छ । यसको पानी कुछप तेरेङ्गा गुम्बामा चढाउने र गुम्बामा अझै कपाल, कपडा र जुत्ता पद्यसम्भवको रहेको मानिन्छ ।

जोमसोमबाट ४५ मिनेटको पैदलमा पुगिने यो तालबाट जोमसोम फर्केपछि चिसो हावामा भिडिओ बनाइयो । फर्कँदा पर्वत बेनी हुँदै बेलुकीपख फेवा आइयो । बर्थ डे केक काटियो । जन्मदिन पोखराको घाह चोकको महाभोजको सुटिङ गरिएको ठाउँमा मनाएपछि रातको बास त्यतै बसियो ।
काठमाडौं आएपछि भावुकतामा आएर फेसबुकमा लेखेँ ‘म मन्त्री/प्रधानमन्त्री भएको भए मुस्ताङमा सय होटल निर्माण गर्दथेँ र करोड पर्यटक यही मुस्ताङले ल्याउँथेँ, अलौकिक प्रकृति भएको देशमा लौकिक नेता पाइएन !’

Leave a Reply