टि २० स्क्वाडमा थपिएका तीन खेलाडी स्कटल्यान्ड प्रस्थान, घाइते गुल्शन र सोमपाल फर्किए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि २० सिरिजका लागि तीन खेलाडीहरुलाई स्कटल्यान्ड पठाएको छ । लिग २ को १५ सदस्यीय स्क्वाडमा नरहेका किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपालले लिग २ अन्तरगत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज ९स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध० का लागि १५ सदस्यीय स्क्वाड पठाएको थियो । लिग २ सकिएपश्चात यिनै दुई राष्ट्रहरुविरुद्ध हुने टि २० आइ श्रृंखलाका लागि थप ३ जना खेलाडीहरुको नाम घोषणा गरिएको भए पनि उनीहरु स्कटल्यान्ड गएका थिएनन् ।

लिग २ को अन्तिम म्याचअघि दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा घाइते भएर टिमबाट बाहिरिए । प्रशिक्षणका दौरान सोमपालको कुहिनोमा र गुल्शनको घुँडामा चोट लागेको थियो । उनीहरुले टि २० सिरिज खेल्न नसक्ने भएपछि नेपाल फर्किएका छन् । आज बेलुकी उनीहरु आइपुगेको नेपाल क्रिकेट संघ ९क्यान० प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

स्क्वाडमा दुई खेलाडी घटेपछि टि २० को रिजर्भका रुपमा रहेका तीन खेलाडीलाई स्कटल्यान्ड पठाइएको हो । उनीहरु आगामी जुन १६ (सोमबार) नेदरल्यान्ड्सविरुद्ध हुने पहिलो म्याचमा उपलब्ध हुने छन् । यद्यपि, प्लेइङ ११ मा पर्छन् वा पर्दैनन् भन्न सकिने अवस्था छैन । यदि गुल्शन र सोमपाल घाइते नभएका भए तीन रिजर्भ खेलाडीलाई स्कटल्यान्ड पठाउने क्यानको योजना थिएन ।

यसअघि टि २० टिममा नरहेका आरिफ शेख भने स्कटल्यान्डबाट नफर्किने भएका छन् । लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनलाई प्रशिक्षक स्टुअर्ट लले टि २० मा पनि खेलाउन चाहेको बताइएको छ । आरिफले यसअघि टि २० मा कमजोर प्रदर्शन गर्दा टिममा स्थान गुमाएका थिए । सम्भवतः उनले यो त्रिकोणात्मक सिरिजमार्फत टि २० अन्तर्राष्ट्रियमा कमव्याक गर्नेछन् । आरिफ सहित नेपालको टि २० आइ स्क्वाड १६ सदस्यीय बनेको छ ।

नेपालले १६ जूनमा पहिलो म्याच नेदरल्यान्ड्सविरुद्ध, १७ जूनमा स्कटल्यान्डविरुद्ध १९ जूनमा नेदरल्यान्ड्सविरुद्ध र अन्तिम म्याच २० जूनमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *