पत्रकारिताका मूल्यमान्यताको कसीमा दिलभुषणको ‘हिल्टन न्यूज’

एक महिनाअघि (वैशाख २८ मा) सामाजिक सञ्जालमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरसिंहले हिल्टन होटेल खरिद गरेको हल्ला फैलियो । र, त्यही हल्लाबाट हल्लिएर अपुष्टरूपमै केही साना-ठूला सञ्चारमाध्यमले समाचार बनाए ।

सञ्चारमाध्यममा यसरी आएपछि ‘हिल्टन होटल बिक्री भएको भ्रामक समाचार सम्बन्धमा’ सञ्चालक शंकर ग्रुपले विज्ञप्ति नै निकालेर खण्डन गर्यो । वैशाख २८ मा जारी विज्ञप्तिमा भनिएको थियो, ‘ … अन्तर्राष्ट्रिय चेन होटल हिल्टन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यस विषयमा कहीँ कतै छलफल समेत नभएको …’

भ्रामक समाचारप्रति कानूनी उपचार खोजिने चेतावनीसहित सोही विज्ञप्तिमा ‘… नकारात्मक असर पुर्याउने कार्य भए गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको प्रचलित कानूनबमोजिम आवश्यक कानूनी प्रक्रिया अपनाइने…’ भनिएको थियो ।

होटल व्यवस्थापनको खण्डन र चेतावनी बिर्सिएर फेरि पनि सामाजिक सञ्जालकै अफवाहका आधारमा ‘कन्टेन्ट क्रियटर’ ले युट्युबका लागि मसलेदार न्यूज बनाए । र, यसकै पंक्तिमा मिसिए अनुभवी पत्रकार दीलभूषण पाठक पनि ।

मुलधारको पत्रकारितामा लामो समय बिताएर केही सञ्चारमाध्यमका प्रधानसम्पादक भइसकेका पाठकले जेठ २ गते ‘टफ टक विथ दिलभूषण पाठक’ च्यानलमा युट्युबको पछिल्लो ट्रेण्ड पछ्याउँदै ‘रियालिटी अफ हिल्टन होटन एण्ड जयवीर कनेक्सन’ शीर्षकमा भिडियो प्रसारण गरेका थिए । भिडियोमा हिल्टनमा जयवीरको कनेक्सन पुष्टि गर्ने कुनै आधार र प्रमाण भने थिएनन् । थिए त केबल सामाजिक सञ्जालका उडन्ते सूचनाको जोडजाड र दिलभुषणको व्यक्तिगत धारणा ।

पाका पत्रकार दिलभूषण शिकारु झैं खै कसरी चिप्लिए ? नचिप्लनुपर्ने मान्छे नराम्रोसँग चिप्लिए, करियरमै दाग लाग्ने गरी । यता, कानूनी प्रक्रियामा जाने चेतावनी दिएको शंकर ग्रुप होइन, दिलभूषणको भिडियोलाई लिएर जयवीरको उजुरी पो प्रहरीमा पुग्यो ।

पहिला प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने जयवीरले सिधै प्रहरीलाई गुहारेर सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेको आरोप लाग्यो । खासगरी पत्रकारिता जगतबाट । सञ्चारमाध्यमले प्रकाशन/प्रसारण गरेका सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र काउन्सिलले छानबिनको आधारमा गरेको कारबाही चित्त नबुझेमात्र अदालत जाने कानूनी प्रबन्ध र प्रचलित अभ्यास छ ।

तर, जयवीरकी आमा आरजु राणा देउवाले आज प्रेस नोटमार्फत यसको बचाउ गरेकी छन् ।

उनले भनेकी छन्, ‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्तासमेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानूनअनुसार नै न्याय खोजेका हौं ।’

राणाको आशय छ, प्रेस काउन्सिलमा दर्ता÷सूचीकरण नभएको युट्युव च्यानल सामाजिक सञ्जालको व्यक्तिगत खाता हो, संस्थागत सञ्चारमाध्यम होइन । व्यक्तिगत खाताको प्रयोगबाट लगाइएको आक्षेप र गरिएको कूप्रचार काउन्सिलको क्षेत्राधिकार होइन, त्यसैले प्रहरीकोमा गयौं ।

अब प्रश्न उठ्छ, एक चर्चित पत्रकारले सामाजिक सञ्जालमा खोलेको खाता (जहाँबाट सूचना/समाचार प्रवाह गरिन्छ) लाई सञ्चारमाध्यम मान्ने कि नमान्ने ? यो प्रश्नले बहसको माग गर्छ । सरकारी निकायमा दर्ता नगरिएका पत्रकारहरुका प्रत्येक सामाजिक सञ्जाल खातालाई ‘मिडिया’ मान्न नसकिने एकथरी तर्क छ ।

अर्कोथरीले चाहिँ खाता दर्ता छ वा छैन भन्दा पनि प्रशारित सामाग्रीमा रित पुगेको छ कि छैन भनेर हेर्नुपर्नेमा जोड दिन्छन् । यद्यपि, यी दुवै पक्षमा दिलभुषण चिप्लिएकै हुन् ।

दीलभूषणले सञ्चालन गर्ने युट्युव च्यानल काउन्सिलमा सूचीकरण नरहेको जानकारीपछि उनीविरुद्धको पक्राउ पूर्जीलाई ‘प्रेस स्वतन्त्राविरुद्धको प्रहार’ मान्ने कि नमान्ने भन्ने अर्को बहस चलिरहेको छ । सुरुमा उनको आक्रामक बचाउमा उत्रिरहेकाहरु अहिले विस्तारै हच्किन थालेका छन् ।

हिल्टन होटलकै प्रसंगमा सामाजिक सञ्जाल (फेसबुक)मा जयवीरविरुद्ध लेख्दा राप्रपाको युवा संगठनका संयोजक सुजित केसी (पत्रकार समेत) माथि समेत जयवीरले उजुरी गरे । सो उजुरीका आधारमा उनलाई विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको छ ।

केही दिनमा सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण आदेशमा रिहा भए पनि उनीविरुद्ध हिजो (बिहीबार) उनीविरुद्ध मुद्दा चलायो । उनको पक्षमा भने कसैले पनि आवाज उठाएको पाईंदैन । न कुनै संघ-संस्थाबाट विज्ञप्ति जारी भएको छ, न कसैले स्टाटस लेखेका छन् ।

आरोप दुवैलाई एउटै हो, विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ विपरीतको कसुर गरेको । सामाजिक सञ्जालको खाता प्रयोग गरी एउटै प्रकृतिको कसुर गर्ने कसैलाई मुद्दा चलाउने, कसैलाई प्रेस स्वतन्त्रताको लेपन लगाएर ‘सेनानी’ बनाउन खोज्ने प्रयास, विधिको शासन र कानूनी राज अनकूल नै हो त ?

०००

दीलभूषणले भिडियोमा हिल्टन होटलको सेयर खरिद गरेको, विदेशमा रियलस्टेट कारोबार रहेको र विलासी जीवनशैली अपनाएको भन्दै राजनीतिक शक्ति र पहुँचको आडमा आर्जित स्रोतसँग जोडेर जयवीरमाथि प्रश्न उठाएका थिए । त्यो भिडियो भाइरल भएसँगै नेपाली समाज र मिडिया वृत्तमा बहस सिर्जना भयो । एक पक्षले यसलाई शक्तिको निगरानी गर्ने साहसिक पत्रकारिताको नमुना मान्यो भने अर्को पक्षले व्यक्तिगत जीवनमाथिको हस्तक्षेप, चरित्रहत्या र पत्रकारिताको आचारसंहिता विपरीतको हर्कत ठहर गर्यो ।

कानून कार्यान्वयनमा वरिष्ठ र कनिष्ठ पत्रकारका आधारमा विभेद भएन भने दीलभूषण प्रकरणको अनुसन्धान गर्ने काम प्रहरीको, अभियोजनको जिम्मेवारी सरकारी वकीलको र न्याय निरुपणको अधिकार न्यायालयको हुन जान्छ । म चाहिँ पत्रकारिताको दृष्टिकोणबाट यो प्रकरणलाई केलाउने प्रयास गर्दै छु । ताकि, गैरपत्रकारलाई पनि पत्रकारिता र अभ्यासबारे जानकारी होस् । र, यो प्रकरणमा स्वतन्त्र धारणा बनाउन सहयोग पुगोस् ।

यो प्रकरण पत्रकारिताको दुई आधारभूत तर अक्सर खप्टिने अवधारणा ‘न्यूज’ (समाचार) र ‘भ्यूजु’ (विचार)- छुट्याउने एक सटिक उदाहरण हो ।

‘न्यूज’ (समाचार) के हो ?

‘न्यूज’ (समाचार) पत्रकारिताको सबैभन्दा आधारभूत उत्पादन हो । यसको मुख्य उद्देश्य कुनै घटना वा विषयको यथार्थ र तथ्यपरक जानकारी पाठक, श्रोता वा दर्शकसमक्ष पुर्याउनु हो । समाचारले के, कहाँ, कहिले, को, किन र कसरीजस्ता प्रश्नको वस्तुनिष्ठ उत्तर दिने प्रयास गर्छ ।

१. प्रमाणित गर्न सकिने तथ्यहरूमा आधारित हुन्छ ।

२. पत्रकारको व्यक्तिगत भावना, धारणा वा पूर्वाग्रह मिसिएको हुँदैन ।

३. घटनामा संलग्न सबै पक्षको भनाइलाई सकेसम्म सन्तुलित रूपमा प्रस्तुत गर्छ ।

४. आममानिसले सजिलै बुझ्ने भाषामा लेखिएको हुन्छ ।

५. समाचारमा सूचना कहाँबाट प्राप्त भयो भन्ने कुरा स्पष्ट पारिएको हुन्छ ।

‘भ्यूज’ (विचार) के हो ?

‘भ्यूज’ (विचार) समाचारभन्दा फरक विधा हो । यसमा कुनै घटना वा विषयवस्तुको तथ्यलाई आधार बनाएर त्यसको विश्लेषण, व्याख्या र समालोचना गरिन्छ । विचारको उद्देश्य पाठकलाई जानकारी दिनु मात्र होइन, उनीहरूलाई सोच्न बाध्य बनाउनु, कुनै विशेष दृष्टिकोणतर्फ सहमत गराउनु वा बहसको थालनी गर्नु हो ।

१ घटनाको पृष्ठभूमि, कारण र सम्भावित असरबारे गहिरो विश्लेषण गर्छ ।

२ लेखक वा पत्रकारको निजी तर्क, दृष्टिकोण र निष्कर्ष समावेश हुन्छ ।

३ आफ्नो धारणालाई पुष्टि गर्न विभिन्न तर्क, तथ्य र उदाहरण प्रस्तुत गरिन्छ ।

४ पाठकको सोच वा धारणामा प्रभाव पार्ने उद्देश्य राख्छ ।

५ पत्रकारितामा विचार विभिन्न स्वरूपमा आउँछन् । जस्तैः सम्पादकीय, विश्लेषण, स्तम्भ, टिप्पणी, समीक्षा, ब्लग ।

दीलभूषणले बनाएको भिडियो ‘न्यूज’ नभएर ‘भ्यूज’को सटिक उदाहरण हो । दीलभूषणले जयवीर देउवाले हिल्टनको सेयर किनेको अफवाहलाई तथ्यको रूपमा मात्र प्रस्तुत गरेनन्, बरु त्यसलाई नेपालको राजनीतिक संरक्षण, भ्रष्टाचार र सम्भ्रान्त वर्गको जीवनशैलीको प्रतीकको रूपमा व्याख्या गरे ।

दीलभूषणको भिडियोमा भ्यूजका तत्वहरू

विश्लेषणः उनले एक व्यक्तिको उपस्थितिलाई देशको समग्र राजनीतिक–आर्थिक विकृतिसँग जोडेर विश्लेषण गरे ।

व्यक्तिगत दृष्टिकोणः यो पैसा कहाँबाट आउँछ ? भन्ने प्रश्न उनको व्यक्तिगत आक्रोश र धारणाको अभिव्यक्ति थियो, जुन समाचारमा हुँदैन ।

तर्क निर्माणः उनले तर्क दिए कि, सार्वजनिक पदमा नभएका व्यक्तिले यस्तो विलासी जीवन बिताउनुको पछाडि राजनीतिक शक्तिको दुरुपयोग छ ।

प्रभाव सिर्जनाः उनको उद्देश्य दर्शकलाई केवल जानकारी दिनु थिएन, बरु राजनीतिक नेतृत्व र उनीहरूका परिवारको जीवनशैलीप्रति आक्रोशित गराउनु थियो ।

त्यसैले, पाठकको भिडियो, ‘न्यूज रिपोर्टिङ’ नभई एक प्रकारको भिडियो टिप्पणी वा भिडियो सम्पादकीय थियो ।

‘न्यूज’ र ‘भ्यूज’ बीचको सीमा र पत्रकारिताको धर्म

पत्रकारितामा यी दुई विधालाई स्पष्ट रूपमा छुट्याउनु अत्यावश्यक हुन्छ । जब ‘भ्यूज’ (विचार)लाई ‘न्यूज’ (समाचार) को रूपमा प्रस्तुत गरिन्छ, तब पत्रकारिताको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्छ ।

भ्रमको सिर्जनाः पाठक, स्रोता, दर्शकले पत्रकारको निजी विचारलाई नै प्रमाणित तथ्य मान्न सक्छन्, जसले गर्दा भ्रम सिर्जना हुन्छ ।

विश्वसनीयतामा ह्रासः यदि कुनै सञ्चार माध्यमले निरन्तररूपमा ‘न्यूज’ र ‘भ्यूज’लाई मिसाउँछ भने, त्यसले आफ्नो तटस्थ छविलाई गुमाउँछ र एउटा ‘एजेण्डा सेटर’का रूपमा चिनिन्छ ।

नैतिक प्रश्नः परम्परागत पत्रकारिताको आचार–संहिता अनुसार, ‘न्यूज’ र ‘भ्यूज’ लाई अलग-अलग राख्नुपर्छ । पत्रपत्रिकामा विचार वा सम्पादकीय पृष्ठ छुट्टै हुनुको कारण यही हो । डिजिटल मिडियामा पनि यस्ता सामग्रीलाई विचार, विश्लेषण वा ब्लग भनेर छुट्याउनु नैतिक जिम्मेवारी हो । हाम्रो छुट्याउने अभ्यास छैन ।

यदि दीलभूषणले पनि आफ्नो प्रस्तुतिमा स्पष्ट रुपमा ‘भ्यूज’ भनेर लेखिदिएको भए, उजुर–बाजुर नै हुन्नथ्यो होला त नभनौं, पछि मुद्दाको चरणमा पत्रकारिताको कोण र अभ्यासबाट तथ्य र तर्क राख्ने आधार पाउँथे ।

दीलभूषण पाठकको प्रकरणमा मुख्य विवाद यही थियो- उनले आफ्नो ‘भ्यूज’ (विचार)लाई ‘अन–द–स्पट रिपोर्टिङ’को शैलीमा प्रस्तुत गरे । उनको प्रस्तुतिले पत्रकारिताको परम्परागत सीमालाई भत्काएर एक प्रकारको ‘एक्टिभिस्ट पत्रकारिता’को अभ्यास गर्यो, जुन सामाजिक सञ्जालको युगमा बढ्दो प्रवृत्ति हो । दीलभूषणजस्ता परिपक्व र ज्ञान भएका पत्रकारले समेत सामाजिक सञ्जालको लहर र लहड पक्रिन र त्यसैका आधारमा उनीविरुद्ध कानूनी प्रक्रिया सुरु हुनुले अब सचेत होला त हाम्रो पत्रकारिता ?

‘न्यूज’ (समाचार) तथ्यको ऐना हो, जसमा समाजको चित्रजस्ताको तस्तै देखिन्छ । ‘भ्यूज’ (विचार) त्यो ऐनामा देखिएको चित्रमाथि कोरिएको बौद्धिक र तार्किक टिप्पणी हो । असल पत्रकारले यी दुईबीचको लक्ष्मणरेखालाई सम्मान गर्नुपर्छ र दर्शक, स्रोता र पाठकलाई आफूले ‘न्यूज’ दिइरहेको हो वा ‘भ्यूज’ प्रस्तुत गरिरहेको हो भन्ने स्पष्ट पार्नुपर्छ । एउटाको भेषमा अर्को प्रस्तुत हुँदा पत्रकारिताको मूल मर्म र विश्वसनीयतामाथि नै खतरा बढाउँछ ।

समग्रमा यो आलेखको तात्पर्य पत्रकारिता स्वअनुशासनको एउटा सीमाभित्र रहनुपर्छ भन्ने हो । तर, यसको अर्थ अहिले सरकारले देखाइरहेको रवैया सोह्रै आना ठिक छ भन्ने पटक्कै होइन । अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको एउटा कडी मानिन्छ ।

सत्ताको शीरमा रहेका शक्तिशाली व्यक्तिहरुमाथि टिकाटिप्पणी गरेकै आधारमा कसैमाथि पनि, चाहे पत्रकार हुन् वा गैरपत्रकार, अनावश्यक दमनकारी नीति/व्यवहार अख्तियारी गरिनु अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा हुन्छ । दुवै पक्ष आ-आफ्नो दायरामा बसौं ।

 

Comments

3 responses to “पत्रकारिताका मूल्यमान्यताको कसीमा दिलभुषणको ‘हिल्टन न्यूज’”

  1. राम शर्मा Avatar
    राम शर्मा

    सटिक धारणा

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Tapai lai auta question bides tira yasta patrakar le afno personal account bata yasta baseless news content haru halxan ki haldainan?? Halxan vane thik xa. Hoina vane nepali patrakar haru ghas khanxan vani bujnu.

  3. ramesh Gautam Avatar
    ramesh Gautam

    कडा मातृका जि यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *