काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ उदीयमान वैकल्पिक शक्तिहरुबीच सहकार्य, ध्रुवीकरण गरेर देशमा भरपर्दो अग्रगामी राजनीतिक विकल्प यथाशिघ्र तयार गर्नु ऐतिहासिक आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
नयाँ शक्तिको १०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिः राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि’ नामक कार्यपत्र प्रस्तुत गरिएको हो ।
कार्यपत्रमा भनिएको छ, ‘निष्कर्षमा भन्नुपर्दा नेपालको राजनीति, सुशासन र समृद्धिसँग जोडिएका गम्भीर सवालहरु समकालीन पुरानो राजनीतिबाट हल हुने समय निकै घर्किसकेको हुँदा राजनीतिक पुनर्संरचना खासगरी विचारको पुनर्संश्लेषणसहित लोकतन्त्रको समृद्धीकरण गर्न, सुशासन र सदाचारको प्रत्याभूतिसहित आर्थिक विकास तथा समृद्धिको वैकल्पिक मार्गचित्रको कार्यान्वयन गर्न सुविचारित नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता अपरिहार्य भएको छ ।’
यसो हुन सकेको खण्डमा नेपालको समृद्धिका लागि दूरदृष्टियुक्त नेतृत्व र स्थिर सरकारको अगुवाइमा महत्वपूर्ण संरचनात्मक परिवर्तन र आर्थिक समृद्धिको वस्तुपरक मार्गचित्र र ५ वर्ष, १० वर्ष र २५ वर्षको योजना बनाएर कडाइपूर्वक कार्यान्वयन गर्न सकिने कार्यपत्रमा उल्लेख छ ।
कार्यपत्रमा भनिएको छ, ‘यसप्रकार वैकल्पिक राजनीतिको दिशाबोध र दूरदृष्टियुक्त स्थिर सरकारको नेतृत्वमा नेपाललाई १० वर्षभित्र मध्यम आय भएको (४५०० डलर) मुलुकमा र २५ वर्षभित्र विकसित (१४,००० डलर) मुलुकमा रुपान्तरण गर्न सकिन्छ । त्यस निम्ति नयाँ उदीयमान वैकल्पिक शक्तिहरुबीच सहकार्य, ध्रुवीकरण गरेर देशमा भरपर्दो अग्रगामी राजनीतिक विकल्प यथाशिघ्र तयार गर्नु ऐतिहासिक आवश्यकता भएको छ ।

Leave a Reply