काठमाडौं । वर्षौँअघि विदेश पलायन भएका लोकगायक भगवान भण्डारी लामो समयको गुमनाम जीवनपछि अहिले एकाएक चर्चामा आएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसमेतलाई जोडेर सामाजिक सञ्जालमा लेखेका दुई स्टाटसले उनलाई चर्चा र विवादमा ल्याएको हो ।
भण्डारीले गत बिहीबार पहिलो स्टाटस लेख्दै बालेन र हर्क साम्पाङसहित २० जनाको भर्चुअल बैठक बसेको र नेपालको राजनीतिबारे गम्भीर छलफल भएको बताएका थिए । त्यसमा उनले ‘नयाँ नामको पार्टी निर्माण गरेर सुमना श्रेष्ठलाई संयोजक बनाउन सबै सहमत बनेको’ दाबी गरेका छन् ।
यो विषयमा बालेन र सुमना श्रेष्ठको तर्फबाट कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन । धरानका मेयर साम्पाङले भने फेसबुकमै खण्डन गरेका छन् ।
उनले लेखेका छन्, ‘हर्क बालेनसहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रैछ । त्यस्तो कुनै भर्चुअल मिटिङ नबसेको सबैलाई जानकारी गराउँदछु ।’
भोलिपल्ट (हिजो) भण्डारी आफैँले सो स्टाटस हटाए । तर, त्यसको बदलामा अर्को स्टाटस लेख्दै उनले झन् रोचक दाबी गरेका छन् ।
आफ्नो पहिलो स्टाटस सत्य रहेको तर त्यसको भाव अलिकति अस्पष्ट भएकाले गलत तरिकाले बुझिएको उनको भनाइ छ ।
भण्डारीले नयाँ पार्टी खोल्ने नभएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै नयाँ नामकरणसहित पुनर्गठन गर्ने कुरा भएको नयाँ दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘केही साथीहरू असहमत भएकाले रास्वपाकै अर्को नाम राख्न खोजेको हो, नयाँ पार्टी जन्माउन खोजेको होइन । रास्वपामै बालेन, हर्क, गोपीजीहरू समाहित गर्दा नाम फेर्ने प्रस्ताव मात्र आएको हो ।’
यसअघि भण्डारीले सहमति जुटेको बताएका थिए भने अहिले एक कदम पछि हटेर ‘प्रस्ताव आएको’ कुरा मात्रै गरेका छन् । नाम फेर्ने प्रस्ताव बालेनले नै गरेको समेत उनको थप दाबी छ ।
आफ्नो स्टाटसमा कमेन्ट लेख्ने एकजनालाई जवाफ फर्काउँदै उनले भनेका छन्, ‘नाम चेन्ज गर्ने कुरामा मेरो सहमति छैन, सुमनाको पनि छैन । यो बालेनजीको प्रस्ताव मात्र हो ।’
आफूले केही मिडियाहरुलाई ग्रुप कलको प्रमाणसमेत पठाएको उनको पछिल्लो स्टाटसमा उल्लेख छ । भण्डारीले पठाएको ‘प्रमाण’ उनी निकट एक पत्रकारमार्फत नेपाल प्रेसले प्राप्त गर्यो ।
एउटा म्यासेन्जर ग्रुपको स्क्रिनसट जस्तो देखिने फोटोमा यत्रतत्र केरमेट गरिएको छ । म्यासेन्जर ग्रुपमा सुमना श्रेष्ठ, बालेन साह, हर्क साम्पाङ, एकनारायण भण्डारीको नाम स्पष्ट देखिन्छ । बालेन र सुमनाको नामपछाडि ब्लु टिकसमेत छ । यो तस्विर रियल हो कि फेक भन्ने चाहिँ प्राविधिक परीक्षणबिना निष्कर्षमा पुग्न सकिँदैन ।
ग्रुपमा नाम भएका लोक स्रष्टा एकनारायण भण्डारीले आफू भगवान भण्डारीसँग लामो समयदेखि टचमै नरहेको बताए । बालेन र हर्क साम्पाङसमेत भएको ग्रुपमा आफूलाई कसैले जोडेको भए थाहा नपाएको उनको भनाइ छ ।
‘भगवान दाइसँग त मेरो फोनमा कुराकानी नभएको १० वर्ष नै भयो । मेरो राजनीतिक विषयमा कुनै चासो पनि छैन र ग्रुप कलमा कुरा गरेको पनि छैन,’ उनले प्रष्ट पार्दै भने ।
भण्डारीकै निकटस्थ व्यक्तिहरूले समेत उनको स्टाटसलाई पत्याइरहेका छैनन् । उनका एक कलाकार मित्रले आफूलाई भण्डारीको कुरा त्यति विश्वासिलो नलागेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘स्टाटस आएपछि मैले उहाँलाई फोन गरेर सोधेको पनि थिएँ । उहाँले भर्चुअल मिटिङ भएकै हो भन्नु भयो । तर विश्वासिलो आधार भने दिन सक्नुभएन । बालेन, सुमनाहरु त्यसरी बैठक बस्नुभयो होला जस्तो लाग्दैन ।’
त्यसो त भण्डारी पहिल्यैदेखि राजनीतिमा गहिरो रुची राख्ने व्यक्ति हुन् । नेपालमा हुँदा उनी कट्टर एमाले थिए । बद्री पंगेनी र भगवान भण्डारी एमालेको छाप लागेका कलाकार मानिन्थे । पछिल्लो समय भने उनी रास्वपासँग निकट छन् । रास्वपा सभापति रवि लामिछानेसँग उनको प्रगाढ सम्वन्ध छ । लामिछाने अमेरिका बस्दादेखि नै उनीहरु निकट थिए ।
२०८४ सालको चुनावमा रास्वपाबाट उम्मेदवारी दिने योजनामा थिए भण्डारी । उनले अमेरिकाको बसाई त्यागेर नेपाल फर्किने तयारी गरिरहेको निकटस्थहरु बताउँछन् ।
भण्डारीनिकट एक पत्रकारले भने, ‘उहाँले अमेरिकामा कमाएको पैसा नेपालमै पठाएर विभिन्न व्यवसायमा लगानी गरिरहनु भएको छ । छिट्टै नेपाल फर्किएर ८४ मा चुनाव लड्ने योजना सुनाउनुहुन्थ्यो । अब यो कन्ट्रोभर्सीपछि के गर्नुहुन्छ खोइ ।’
भण्डारीको स्टाटसले रास्वपा नेताहरु भने उनीसँग रुष्ट बनेका छन् । यसले पार्टीभित्र अन्योल र अस्थिरता उत्पन्न गर्नसक्ने नेताहरुको चिन्ता छ ।

Leave a Reply