युएई । नेपालमा उत्पादित तरकारी युएई आउन थालेको छ। नेपालबाट ल्याइएका ताजा तरकारीहरू यहाँको लुलु सुपर मार्केटहरूमा बिक्री गर्न थालिएको छ।
अल समन इन्टरनेसनल नामक कम्पनीले गत सातादेखि नेपाली तरकारी युएईको बजारमा ल्याउन सुरु गरेको हो। अहिले लुलुका विभिन्न मार्केटको तरकारी कक्षमा ‘नेपाली तरकारी’ भनेर छुट्टै चिनारीसहित स्थानीय बजार मूल्यमै बिक्री भइरहेको छ।
त्यहाँ राखिएका तरकारीहरूमा सीमी, बोडी, फर्सी, लौका, घिरौँला, साथै तीते करेला, खुर्सानी, गुन्द्रुक लगायतका अन्य थुप्रै सामग्रीहरू समावेश छन्।
अल समन इन्टरनेसनलका कल्याण घिमिरेका अनुसार, नेपालका विभिन्न स्थानका कृषकहरूसँग सिधा सम्पर्क गरेर काठमाडौंमा तरकारी संकलन गरिन्छ। संकलन गरिएको तरकारी त्यहीँबाट उडानमार्फत एकै दिनमै युएई आई पुग्ने गर्छ ।
सोही कम्पनीले सन् २०१७ देखि कतारमा नेपाली तरकारी निर्यात गर्न थालेको थियो। अहिले हरेक साता १५ हजार केजीभन्दा बढी तरकारी कतारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले युएईको सारजाहमा रहेको सफारीमलमा समेत २०१९ बाट नेपाली तरकारी ल्याउन सुरु गरेको थियो । कोरोना संक्रमणका कारण नेपाली कृषिजन्य सामाग्री युएई आउन रोकिएको कम्पनीका घिमिरेले जानकारी दिए ।
नेपाली तरकारी तथा कृषिजन्य सामाग्रीलाई युएईको बजार सम्म पुराउन नेपाली दूतावास अवुधावी तथा नेपाली समाज युएईका पूर्व अध्यक्ष समेत रहेका लुलु कम्पनीको उच्च तहमा कार्यरत वेदप्रसाद अर्यालको समेत विशेष भूमिका रहेको कम्पनीले जनाएको छ ।
लुलुका सञ्चालक तथा कम्पनीका उच्च प्रतिनिधिहरूसँगको भेटघाट तथा हालै नेपालमा भएको लगानी सम्मेलनपछि यसको नतिजा आएको घिमिरेले बताए ।
‘नेपालमा उत्पादन गरिएका सामाग्रीहरूको युएई बजारमा राम्रो सम्भावना छ’ त्यसैले नेपाली सामग्रीहरूलाई यहाँको स्थानीय बजारसम्म पुर्याउन सकियो भने राष्ट्रलाई नै फाइदा पुग्ने नेपाली दूतावास अवुधावीकी प्रवक्ता तथा नियोग उपप्रमुख रञ्जिता दाहालको भनाई छ ।
युएईमा क्रमशः नेपालीको संख्या बढेसँगै विभिन्न बजारमा नेपाली सामाग्रीको खपत बढिरहेको छ । साथै नेपालको कृषि सामाग्री प्रति विदेशीहरूको पनि माग दैनिक बढेकोले कृषि तथा अन्य मासुजन्य सामाग्रीको बजार प्रवर्द्धन गर्न दूतावास लागि परेको युएईका लागी नेपाली राजदूत तेजबहादुर क्षेत्रीको भनाइ छ ।
नेपाली कृषकको मिहिनेत र श्रमको उचित मूल्य प्रदान गर्दै तिनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य कम्पनीले लिएको छ। घिमिरेका अनुसार, नेपाली तरकारी गुणस्तरीय र अर्ग्यानिक भए पनि अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन भने केही समय लाग्नेछ।
युएईमा नेपालीहरूको संख्या बढ्दै जाँदा नेपाली तरकारीको माग पनि बढ्दो छ। त्यस्तै, अन्य विदेशी नागरिकहरूबाट पनि नेपाली उत्पादनको राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

Leave a Reply