विशेष अदालतमा ‘कम्फरटेबल इजलास’ ल्याउन ‘हाइ प्रोफाइल’ अभियुक्तको चलखेल

काठमाडौं । विशेष अदालतमा कम्फरटेबल न्यायाधीश ल्याएर अख्तियारले समातेका ठूला माछालाई राजनीति र प्रशासकको पोखरीमा छाड्ने चलखेल शुरु भएको छ । न्याय परिषद बैठकबाट आजभोलि नै अनुकूल न्यायाधीश विशेषमा ल्याउन हाइ प्रोफाइल अभियुक्तहरूको दौडाहा चलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारका मुद्दामा देशमा प्रधानमन्त्री र मन्त्री भइसकेका प्रभावशाली राजनीतिज्ञसहित उच्च पदस्थहरूलाई धमाधम मुद्दा चलाइरहेका बेला विशेषमा कम्फरटेबल न्यायाधीशहरू सरुवा गर्ने चलखेल भएको हो ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्तापछि सांसदबाट निलम्बित भएका कांग्रेस नेता मोहन बस्नेत विशेषमा आफ्नो अनुकूल न्यायाधीश ल्याउन खुलेआम लबिङमा उत्रिएका छन् । उनले प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतमार्फत विशेषमा कम्फरटेबल न्यायाधीश ल्याउन सबैखाले प्रयोग गरिरहेको आरोप छ ।

विशेष अदालतका अहिलेका अध्यक्ष टेकनारायण कुँवरसँग भर नभएपछि बस्नेतसहित हाल भ्रष्टाचार मुद्दा खेपिरहेका ‘हाइ प्रोफाइल’हरुले सामुहिक प्रयत्नबाटै अर्को ‘खुसीप्रसाद थारु’ खोजिरहेको चर्चा न्याय क्षेत्रमा चलेको छ । थारु पहिले विशेषबाटै विजय गच्छदारलाई सफाइ दिएर अफताब आलमलाई सफाइ दिने प्रयोजनबाटै वीरगन्ज पठाइएका थिए ।

त्यही गिरोहले विशेष अदालतमा हाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत दोस्रो नम्बरका न्यायाधीश वासुदेव आचार्यलाई विशेषमा ल्याउने पहिलो नम्बरमा राखेको छ । उनलाई विशेष अदालतमा ल्याउन कांग्रेसका माथिल्लो तहकै नेताहरूमार्फत प्रधान न्यायाधीशमाथि दबाब छ ।

आचार्य उच्च अदालतको न्यायाधीश हुनुअघि नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितिको सचिव र त्यसअघि क्षेत्रीय सभापति थिए । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसियसनका केन्द्रीय सचिव रहेकै बेला उनी उच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

यसअघि उच्च अदालत पाटन र वैदेशिक रोजगार प्राधिकरणमा रहिसकेका आचार्यको बलियो राजनीतिक पहुँचका कारण पाटनपछिको सुगम मानिने बुटवल इजलास रोजेका थिए । अर्घाखाँची कांग्रेस नेतृत्व गरिसकेका कारण सोही क्षेत्रको उच्च अदालतमा जाँदा स्वार्थ जोडिने भन्दै त्यसबेला आलोचना भएको थियो ।

यसबीचमा विशेषमा आचार्यपछिको विकल्पमा कांग्रेस पृष्ठभूमिकै ध्रुवराज नन्दालाई ल्याउने प्रयास पनि भएको हो । उनी अहिले उच्च अदालत जनकपुरको कामु मुख्य न्यायाधीश भएकाले उनी मुख्य न्यायाधीशकै लाइनमा रहँदा विशेषमा आउने सम्भावना कम हुन्छ ।

न्यायपरिषदको जारी बैठकले उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको नियुक्ति तथा पदस्थापन गर्दा अहिलेको विशेष अदालतको सेट परिवर्तन हुने भएकाले यही मौकामा कम्फरटेबल इजलासबाट हाइ प्रोफाइल भ्रष्टाचारका मुद्दामा सफाइ दिलाउने गिरोह सक्रिय भएको हो ।

विशेष अदालतका अध्यक्ष कुँवर आफैँ मुख्य न्यायाधीशका दाबेदार भएकाले उनी अब विशेषबाट बाहिरिने निश्चित छ । विशेषमा ल्याउन बालकृष्ण खाणलाई थुनामुक्त गर्ने न्यायाधीशहरूको बारेमा पनि छलफल भइरहेको बताइन्छ । जनक पाण्डे र कृष्णराम कोइरालाले खाणलाई थुनामुक्त गर्ने आदेश दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *