प्रवासी नेपाली मंच युरोपको दोस्रो विस्तारित बैठक बेल्जियममा सम्पन्न, १६ बुँदे निर्णय जारी

काठमाडौं । प्रवासी नेपाली मंच युरोप कमिटीको दोस्रो विस्तारित भौतिक बैठक बेल्जियमको एंटवर्पमा सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अमेरिका र युरोप इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, राष्ट्रिय कमिटीका पदाधिकारी, र १८ देशका करिब २०० प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रवासी नेपाली मंच बेल्जियमले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन र आतिथ्यताको सहभागीहरूले प्रशंसा गरे। अध्यक्ष बिनोद न्यौपाने नेतृत्वको टोलीले तयार पारेको स्मारिकाको पनि औपचारिक लोकार्पण गरिएको थियो।

तीन प्रमुख सेसन: महिला, लगानी र एनआरएन मुद्दामा गहन छलफल

बैठकमा तीनवटा आकर्षक सेसन सञ्चालन भए, जसले प्रवासी नेपालीहरूको मुद्दालाई गहन रूपमा बहस भयो:

१. महिला सेसन: अष्ट्रियाकी अध्यक्ष बाबा राजेश्वरी थापाको अध्यक्षतामा भएको यो सत्रमा प्रवासी नेपाली महिलाको अवस्था, नेतृत्वमा पहुँच, र सशक्तिकरणका प्रयासहरूबारे छलफल भयो। विभिन्न देशका महिलाहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरे। सत्रलाई महिला विभाग युरोपकी सचिव मुना ताम्राकारले उत्कृष्ट शैलीमा सञ्चालन गरिन्। यो सेसनले समस्यामात्र होइन, समाधानमुखी दृष्टिकोण र महिला नेतृत्वको प्रेरणादायी मंचको रूपमा स्थापित भयो।

२. लगानी सेसन: युरोप लगानी विभाग प्रमुख रामचन्द्र गुरुङ (सुज्ये) को नेतृत्वमा भएको सत्रमा नेपालमा सुरक्षित र दीर्घकालीन लगानीका अवसरबारे व्यावहारिक छलफल भयो। विभागका सचिव दिनेश घिमिरेले सत्र सञ्चालन गरे।

३. गैरआवासीय नेपाली (NRN) सेसन: संघका उपाध्यक्ष राम शरण सिम्खडाको अध्यक्षतामा भएको यो सत्रले दोहोरो नागरिकता, गैरआवासीय नेपालीको हकअधिकार, र सरकारसँग समन्वयका विषयमा महत्त्वपूर्ण बहस गर्‍यो।

एनआरएन बेल्जियमका निवर्तमान उपाध्यक्ष तीर्थ धमलाले सत्र सञ्चालन गरे भने एनआरएन विभागका उपप्रमुख डा. चिरन्जीवी खडकाले संघका विवाद र समाधानबारे जानकारी दिए।

बैठकले प्रवासी नेपालीहरूको संरक्षण, सहभागिता, र अधिकार सुनिश्चित गर्ने १६ बुँदे निर्णय जारी गरेको छ। जसमध्ये प्रमुख बुँदाहरू:

अफ्रिका र खाडी मुलुकमा श्रम शोषणमा परेका नेपालीहरूको आवाज उठाउने।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (ICAO) मार्फत नेपाल र विदेशबीच हवाई यातायात सुधार गर्न दबाब दिने।

SMART NRNA प्रणालीअन्तर्गत MIS डेटा संकलनलाई व्यवस्थित गर्ने।

महिला आप्रवासी श्रमिकको सुरक्षाका लागि अन्तरदेशीय नीति र निगरानी संयन्त्र बनाउने।

अवैध मानव तस्करी, शोषण, र लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने।

साना देशमा रहेका नेपालीहरूको सहभागिता र समस्या सम्बोधनका लागि विशेष संयन्त्र निर्माण गर्ने।

संयोजक मुक्त गुरुङले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रवासी राजनीतिक परिस्थिति र संगठनको भूमिकाबारे धारणा राखे। सचिव शालिक थपलियाले गत एक वर्षको गतिविधि, विस्तार, र चुनौतीहरूको समीक्षा सहितको संगठनात्मक प्रतिवेदन पेश गरे।

९ र १२ वर्षमुनिका फुटबल प्रतियोगिता जित्ने बाल खेलाडीहरू विशेष बराल, बिधान बराल, र बिहान गुरुङलाई पनि सम्मान गरियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *