जापान आधुनिक प्रविधि, अनुशासन र शिक्षा प्रणालीमा उत्कृष्ट मानिएको देश, नेपाली युवाहरूको प्रमुख गन्तव्य बन्न थालेको धेरै वर्ष भइसकेको छ । विशेषगरी पछिल्ला केही वर्षमा नेपालबाट जापान आउने विद्यार्थीहरूको संख्या डरलाग्दो हिसाबले बढेको छ, तर चम्किलो देखिने जापानको यात्राभित्र गहिरो अँध्यारो पीडा लुकेको छ, जुन धेरै नेपाली विद्यार्थीहरू दिनरात सहन बाध्य छन् ।
जापान स्टुडेन्ट सर्भिस अर्गनाइजेसनको अध्ययनअनुसार जापानमा २ लाख ३३ हजार ४३ जना नेपाली रहेका छन् । त्यसमा विद्यार्थी भिसामा ६४ हजार ८१६ रहेका छन् । अर्गनाइजेसनले सन् २०२४ को मे १ सम्म जापानमा ३ लाख ३६ हजार ७०८ विदेशी विद्यार्थी रहेको उल्लेख गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढेको हो ।
यो तथ्यांकअनुसार सबैभन्दा धेरै ९२.५ प्रतिशत विद्यार्थी एसियाबाट आएका छन्, जसमा चीनका सबैभन्दा धेरै १ लाख २३ हजार ४८५ विद्यार्थी छन् । नेपाल ६४ हजार ८१६ विद्यार्थीसहित दोस्रो स्थानमा छ । सन् २०२४ मेयता पनि जापान आउने नेपाली विद्यार्थीहरूको संख्या झन् डरलाग्दो बढेको छ ।
विद्यार्थी भिसाको नाममा श्रमिक जीवन
विद्यार्थी भिसा लिएर जापान आउँदा पढाइलाई प्राथमिकता दिनुपर्ने हो, तर वास्तविकता के छ भने नेपाली विद्यार्थीको ठूलो हिस्साले पढाइभन्दा बढी पैसा कमाउने उद्देश्य बोकेर जापान यात्रा गर्छन् । नेपालमा देखेको सपना र कन्सल्टेन्सीले देखाएको सपना जापान आइपुगेपछि चकनाचुर हुन्छ ।
विशेषगरी पछिल्ला केही वर्षमा नेपालबाट जापान आउने विद्यार्थीहरूको संख्या डरलाग्दो हिसाबले बढेको छ, तर चम्किलो देखिने जापानको यात्राभित्र गहिरो अँध्यारो पीडा लुकेको छ, जुन धेरै नेपाली विद्यार्थीहरू दिनरात सहन बाध्य छन् ।
जापान सरकारको नियमानुसार विदेशी विद्यार्थीले हप्तामा २८ घण्टाभन्दा बढी काम गर्न पाइँदैन, तर नेपालबाट ऋण लिएर, घरको सम्पत्ति धितो राखेर आएका विद्यार्थीहरूलाई २८ घण्टाको कामले पढाइ र आफ्नो खर्च धान्न पनि धौधौ हुन्छ । नेपालबाट आएको ऋण तिर्न निकै गाह्रो छ ।
ऋण, महँगी, तनाव अनि आत्महत्या !
नेपालमा धेरै विद्यार्थीले जापान आउन १६ देखि १८ लाख रूपैयाँसम्म ऋण लिएका हुन्छन्, जसको मासिक ब्याजमात्रै घरमा ठूलो बोझ बन्छ । जापानको हालको महँगी, कोठा भाडा, खानपान, कलेज शुल्क सबै मिसाएर एक महिनामा ठाउँअनुसार फरक हुनसक्छ, तर कम्तीमा १ लाख देखि १ लाख ३० हजार जापानी येन चाहिन्छ । जसको लागि हप्ताको २८ घण्टा कामबाट कमाएको पैसाले पुग्दैन ।
कतिपयले ह्यान्ड क्यास (नियमबाहिरको अवैध) काम गरेर खर्च धान्छन्, तर यसको खतरा निकै ठूलो हुन्छ । ह्यान्ड क्यास काम गरेको अध्यागमनले थाहा पायो भने भिसा खारेज पनि हुनसक्छ र नेपाल फिर्ता र भविष्यमा जापान आउन नपाउने अवस्था पनि आउनसक्छ । यही आर्थिक, मानसिक र सामाजिक तनावका कारण पछिल्ला वर्षहरूमा जापानमा नेपाली विद्यार्थीहरूको आत्महत्याको संख्या बढ्दो छ । एउटा विद्यार्थीले आत्महत्या गर्दा त्यसको पीडा परिवार, साथीभाइ र सम्पूर्ण समुदायले सहनुपर्छ ।
जापान सरकारको नियमानुसार विदेशी विद्यार्थीले हप्तामा २८ घण्टाभन्दा बढी काम गर्न पाइँदैन, तर नेपालबाट ऋण लिएर, घरको सम्पत्ति धितो राखेर आएका विद्यार्थीहरूलाई २८ घण्टाको कामले पढाइ र आफ्नो खर्च धान्न पनि धौधौ हुन्छ ।
जापानी जीवनशैलीसँग जुध्दै नेपाली विद्यार्थी
१२ कक्षा सकेर १८-१९ वर्षकै उमेरमा जापान आएका विद्यार्थीहरू अझ बढी समस्यामा हुने गर्छन् । सानै उमेरमा घरपरिवारबाट टाढा, भाषा नबुझिने यी सबैले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाउँछ । जापानी भाषा सजिलो छैन, विशेषगरी कान्जी (漢字) धेरै कठिन हुन्छ । भाषा नआएको विद्यार्थीलाई कामलगायत हरेक कुरा गाह्रो छ ।
कलेजको पढाइ सकिएपछि सेनमोन् (專門学校) जानुपर्छ भने खर्च त्यत्तिकै बढ्छ । रूम सर्न खोज्दा नयाँ सम्झौता, किहोन र्योकिन (सुरुवाती शुल्क) आदि तिर्नैपर्छ, जुन ठाउँअनुसार १ लाखदेखि २ लाख येनसम्म पर्नसक्छ । यो शुल्क ठाउँअनुसार फरक पनि पर्नसक्छ । धेरैजसो विद्यार्थी नेपालबाट आएको २-३ महिनासम्म काम नपाएर बस्न बाध्य हुन्छन् । कोठा भाडा, खाना खर्च, कलेजको फी सबै भित्रै पीडासँग थामिरहेका छन् । खान नपाएर रात कटाउने विद्यार्थीहरू पनि छन्, तर उनीहरू त्यो पीडा बाहिर देखाउँदैनन् ।
सरकार र अभिभावकको ध्यान जानु जरुरी छ । नेपाल सरकारले जापान आउने विद्यार्थीहरूको लागि भाषा, तालिम, वास्तविक जीवनशैलीको जानकारी र वित्तीय तयारीबारे अनिवार्य अभिमुखीकरण गर्नुपर्छ । त्यस्तै जापानस्थित नेपाली दूतावास, एनआरएन जापान र नेपाली संघसंस्था, नेपाली विद्यार्थी समाज जापानले विद्यार्थीहरूका लागि परामर्श सेवा, सहयोग केन्द्र स्थापना गर्नुपर्छ । अभिभावकहरूले जापानलाई चमत्कारी गन्तव्य ठान्न छोड्नुपर्छ । विद्यार्थीले पनि पैसा कमाएर छिट्टै ऋण तिर्न पाइन्छ र जापानमै जम्न पाइन्छ भन्ने भ्रम हटाउनुपर्छ ।
(भण्डारी हाल जापानमा छन् ।)

Leave a Reply