माओवादीको रणनीति- पार्टीमा भित्रिनेलाई केन्द्रीय सदस्य बनाउने प्रावधान निष्क्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्रावधान निष्क्रिय बनाएको छ । हालै बसेको पदाधिकारी बैठकले प्रावधान निष्क्रिय भएकाले पार्टीपंक्तिमा सर्कुलर पठाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेपनि तत्काललाई निष्क्रिय बनाइएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निस्क्रिय बनाउने ।’

माओवादीको विधानमा ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने उल्लेख छ । तर, अहिले पार्टीमा अन्य पार्टीका नेता कार्यकर्ता भित्र्याउने रणनीति अख्तियार गरेर माओवादीले तत्काललाई प्रावधान निष्क्रिय बनाएको हो ।

सर्कुलरमा नेपाल समाजवादी पार्टी ९नेसपा० को गंगानारायण श्रेष्ठ समूह, नेपाः राष्ट्रिय पार्टी, माओवादी पुनर्मिलन कार्यक्रमबाट समायोजन भएका, अन्य पार्टी एकता र समायोजनमा सहभागी भएकाहरुलाई पनि जिम्मेवारी दिएको उल्लेख छ ।

उनले बाँकी प्रदेश समिति, जिल्ला तथा स्थानीय समितिहरुको सन्दर्भमा आपसी सहमतिको आधारमा समायोजन गरी सम्बन्धित प्रदेशहरूमा परिपत्र गरिने उल्लेख छ ।

माओवादीभित्र पार्टी संगठन भद्दा भएको भन्दै चर्काे आलोचना हुने गरेको भएपनि आगामी महाधिवेशनसम्म भन्दै लगातार केन्द्रीय सदस्य थप गर्दै आइरहेको छ । अहिले माओवादीमा केन्द्रीय सदस्यको संख्या कति पुगे भन्ने एकिन नै छैन ।

यी निर्णयबारे छलफल गर्नको लागि माओवादीको केन्द्रीय कमिटी बैठक चाँडै बस्दैछ भने आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *