सुदूरपश्चिमबाट यू-१४ को खेलाडी छनोटमा मनोमानी गरिएको आरोप

बैतडी । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा सुरु भएको १४ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोटमा पक्षपात गरिएको आरोप लागेको छ ।

सुदूरपश्चिमको टिममा पठाइएका ज्यादातर खेलाडी बैतडी जिल्लाबाट मात्र चयन भएका छन् ।

आन्तरिक प्रतिस्पर्धा, परीक्षण मापदण्ड र निष्पक्ष छनोट प्रक्रिया अवलम्बन नगरी, सिधै ‘नाम टिपेर’ खेलाडी पठाइएको पाइएको हो । प्रदेशका सबै जिल्लाबाट प्रारम्भिक छनोट गरेर प्रदेशस्तरीय छनोट गरिनुपर्ने नियम पालना गरिएको छैन ।

क्यानका एक जिल्ला अध्यक्ष भन्छन्, ‘छनोट प्रक्रिया हेर्दा प्रतिभा भन्दा पहुँचले काम गरेको देखियो ।’

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जिल्लाअनुसार कोटा वितरण गर्दै खेलाडी छान्ने नयाँ तरिका अवलम्बन गरेको छ, जुन आफैँमा अनुपयुक्त हो । प्रदेश क्रिकेट संघले ‘कोटा’ प्रणाली लागू गर्दै जिल्लाहरूलाई खेलाडी संख्या निर्धारण गरेको थियो ।

तराईकै जिल्ला कैलालीलाई ४ जना दिँदा कञ्चनपुरलाई ५ जना र अन्य अधिकांश पहाडी जिल्लालाई ३-३ जनाको कोटा दिइँदा बैतडीलाई ४ जनाको कोटा दिइयो । तर, अन्तिम छनोट भने मनोमानी ढङ्गले गरिएको खेलाडीको आरोप छ ।

बैतडी र कञ्चनपुरको पक्षमा अनावश्यक भेगिय पक्षपात भन्दै अन्य जिल्लाका खेलाडी र प्रशिक्षक आक्रोशित छन् ।

खेलाडी छनोटका लागि गठित वैधानिक समिति बेखवर छ । छनोट समिति संयोजक दीपेन्द्र भण्डारी भन्छन्, ‘म बुटवलमा छु । मलाई छनोटबारे कुनै जानकारी नै छैन ।’

समितिका अन्य दुई सदस्यले समेत छनोटमा भाग नलिएको र नामहरू कसरी तय गरियो भए भन्नेबारे जानकारी नभएको बताएका छन् । सुदूरपश्चिमबाट क्रिकेट प्रतियोगीताका लागि गठित समिति नै खेलाडी छनोटका विषयमा बेखवर रहनुले खेलाडी छनोटको अपारदर्शिता स्पष्ट परेको छ ।

छनोट प्रक्रियाको नेतृत्व प्रदेश क्रिकेट संघका सचिव लक्ष्मण भट्टले गरेका छन् । भट्ट क्यानका अध्यक्ष चतुरबहादुर चन्दका निकट मानिन्छन् । भट्टले केन्द्रीय अध्यक्ष चन्दको आडमा स्वेच्छाचारी ढङ्गले यस्ता निर्णयहरूमा गर्दै आएको आरोप लाग्दै आएको छ ।

यस पटकको छनोटमा कञ्चनपुर क्रिकेट संघ अध्यक्ष विरेन्द्र चन्द, संघका कर्मचारी राजेन्द्र चन्द र क्यानका प्रदेश सचिव भट्टको मुख्य भूमिका रहेको बताइन्छ, संयोगवश तीनैजना बैतडी मूलका हुन् ।

प्रदेश अध्यक्ष वासुदेव जोशीले पनि आफूलाई छनोट प्रक्रियाबारे जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यसअघि भएको १६ वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा पनि मनपरी छनोट र उत्कृष्ट खेलाडी छुटाइएका भन्दै आलोचना भएको थियो । उत्कृष्ट व्याटिङ र बलिङ गरेका खेलाडी छनोटमा नपरेको तथ्याङ्कले देखाउँछ ।

यस्तै भैरहवामा भएको प्रतियोगितामा त झन् टसका लागि दुई कप्तान एकैसाथ मैदानमा पुगेका थिए । क्यानका केन्द्रीय अध्यक्ष चन्द स्वयम् उपस्थित उक्त प्रतियोगितामा उनले ब्याक गराउन चाहेका कप्तानले ब्याक हुन नमानेपछि उनी असन्तुष्ट भएका थिए ।

प्रदेशबाट प्रक्रिया विपरीत खेलाडी छनोट गरिएको विषयमा बुझ्न प्रदेश सचिव लक्ष्मण भट्टलाई फोन गर्दा रिसिभ भएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *