काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राजनीतिको उत्तरार्धमा आइपुग्दा अफ्ठेरोमा फसेका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालमाथि भ्रष्टाचारको मुद्दा लागेको छ ।
अख्तियारले उनीमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । अख्तियारले मुद्दा दर्ता गरेलगत्तै नेपालको सांसद पद निलम्बनमा परिसकेको छ । सांसद पद निलम्बनमा परेपनि उनी अहिले पनि पार्टी राजनीतिबाट अलग भएका छैनन् ।
अरूलाई नैतिकताको पाठ सिकाउन कहिल्यै नथाक्ने नेपालले यस पटक आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता हुँदा पनि देखाएनन्। समकालीन नेताहरूमा अध्यक्ष नेपाल नैतिकवान् नै मानिन्थे ।
०६४ मा एमालेका तत्कालीन महासचिव हुँदा आफूले दुवै क्षेत्रमा चुनाव हारेर पार्टी तेस्रो स्थानमा पुग्दा महासचिव पदबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका थिए। तर यस पटक त्यसो गरेनन् ।
भ्रष्टाचारको मुद्दासँग सांसद पद निलम्बन हुँदा पनि उनी अझै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षकै भूमिकामा सहभागी हुन छाडेका छैनन् । आफ्नो सांसद पद निलम्बन हुँदा पनि न कसैलाई संसदीय दलको नेता नै तोकेका छन् ।
नेकपा एकीकृत समाजवादीले पनि यो मुद्दालाई राजनीतिक प्रतिशोधसँग जोडेर हेरेको छ । मुद्दा दर्ता भएलगत्तै बसेको सचिवालय बैठकले सरकारले प्रतिशोध साँधेको भन्दै भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको ३ बुँदे विज्ञप्तिमा भनिएको छ, ‘सरकार विगतदेखि नै हाम्रो पार्टीविरुद्ध षड्यन्त्र गर्दै आइरहेको थियो। यो हाम्रा विरुद्ध षड्यन्त्रको अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो षड्यन्त्रको प्रतिवाद गर्दछ ।’
प्रधानमन्त्री केपी ओलीले प्रतिशोध राखेर निर्देशन दिएर अख्तियारले आफूविरुद्ध मुद्दा दर्ता गरेको अध्यक्ष नेपालको आरोप छ । उनी निकट नेताहरू त्यो कुरालाई नै आत्मसाथ गरेर यो मुद्दालाई प्रतिशोधसँग जोड्नमा केन्द्रित छन् ।
जसकारण तत्काल कार्यवाहक अध्यक्ष र दलको नेता तोक्ने मुडमा अध्यक्ष नेपाल छैनन्। मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले पहिलो पटक मुद्दा दर्ता गरेको छ । जसले राष्ट्रिय राजनीतिमा यसले तरङ्ग ल्याएको छ । भने पूर्वप्रधानमन्त्रीहरूको पनि बलियो साथ पाएको छन्। जसकारण अदालतबाट क्लिनचीट पाउनेमा अध्यक्ष नेपाल विश्वस्त सुनिन्छन् ।
झलनाथ र राजेन्द्रको चर्चा
पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले पनि कार्यवाहक अध्यक्ष र दलको नेता तोक्नेबारे कुनै छलफल नभएको बताए ।
प्रवक्तासमेत रहेका ज्वालाले भने, ‘उहाँले पनि यसबारेमा त्यस्तो कुनै कुरा गर्नुभएको छैन। हामीले पनि गरेका छैनौँ। पार्टीमा पनि छलफल भएको छैन ।’
भ्रष्टाचारको मुद्दामा जोडिएकाले पार्टीभित्र खुलेर कसैले नभने पनि मुद्दा किनारा नलागेसम्म अलग भए उपयुक्त हुन्थ्यो भन्ने कुरा पार्टीभित्र उठ्न थालेको एक नेताले बताए ।
ती नेताले भने, ‘उहाँले तत्काल छाड्ने मनस्थिति देखाउनुभएको छैन । उहाँ निकट नेताहरूले पनि त्यो चाहेको देखिँदैन । तर, यो मुद्दाले पार्टीलाई नोक्सान नहोस् भन्ने हाम्रो चाहना मात्रै हो । त्यो स्वभाविक पनि हो ।’
अध्यक्ष नेपालपछि एकीकृत समाजवादी दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल छन्, तेस्रोमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् । राष्ट्रिय सभामा नेकपा एसको संसदीय दलको नेता समेत रहेका बेदुराम भुसाल वरिष्ठ नेता छन् ।
अध्यक्ष नेपाल तत्काल पार्टीको जिम्मेवारी नछाड्ने पक्षमा छन्। त्यस्तो छाड्नैपरे अध्यक्ष नेपालको रोजाइमा वरिष्ठ उपाध्यक्ष पाण्डे पर्नसक्ने कुरा चर्चा नेकपा एसभित्र गाइँगुइँ चल्न थालेको छ ।
यसअघि नेपाल बाहिर भ्रमणमा जाँदा पनि पाण्डेलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन्थे । संसदीय दलको उपनेता समेत छन् । पाण्डे एमालेकालदेखि नै नेपालको विश्वासपात्र मध्येमा पर्छन् । तर, नेपालको मुद्दा लामो समयसम्म जानसक्ने भएकाले कार्यवाहकमा झलनाथलाई दिनुपर्ने पङ्क्ति पनि नेकपा एसमा छ ।
‘कसैले कार्यवाहक म हुनुपर्छ भनेको छैन’
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले मुद्दाको अध्ययन नसकी कार्यवाहक अध्यक्ष र दलको नेता तोक्नेबारे छलफल नहुने बताए ।
उनले भने, ‘अहिले हामी कार्यवाहक तोक्नेभन्दा पनि मुद्दा कसरी दर्ता भएको छ, त्यसबारे अध्ययन गर्दैछौं । मुद्दाको कपि खोज्ने प्रयास गर्दैछौं । त्यो पढेर अध्ययन गरिसकेपछि मात्रै निर्णयमा पुग्छ ।’
उनले राजेन्द्र पाण्डेको नाम चर्चामा आएको भएपनि अहिलेसम्म हुन्छु भनेर नभनेको जिकिर गरे ।
उनले थपे, ‘उहाँको नाम चर्चामा आएपनि राजेन्द्र पाण्डेले पनि म कार्यवाहक हुन्छु भन्नुभएको छैन । अहिले नेताहरू कार्यवाहक लिन तयार नै हुनुहुन्न । त्यो विषयसम्म हामी पुगेकै छैनौँ। अब मुद्दाबारे अध्ययन सकेपछि मात्रै कार्यवाहकबारे कुरा हुन्छ होला । त्यसका लागि हप्ता दश दिन लाग्न सक्छ ।’
उनले सम्मानित नेता खनालले पनि नेपालले अध्यक्षले छाड्नुपर्छ आफू हुनुपर्छ भनेर नभनेको जिकिर गरे ।
झलनाथ भन्छन्- उहाँमै निर्भर हुन्छ
सम्मानित नेता खनाल भने अध्यक्षविरुद्ध मुद्दा दर्ता भएपछि अहिलेसम्म पार्टीको औपचारिक बैठक नै नबसेको बताउँछन् ।
उनी भन्छन्, ‘कार्यवाहक तोकेर जानेबारे पार्टीमा पनि कुरा भएको छैन, उहाँसँग पनि भएको छैन। अहिलेसम्म औपचारिक बैठक नै बसेको छैन ।’
उनले मुद्दा दर्ता भएपछि कार्यवाहक तोकेर जिम्मेवारीबाट अलग हुने कि नहुने भन्ने सम्बन्धित व्यक्तिको कुरा भएको बताए ।
खनालले थपे, ‘यो सम्बन्धित व्यक्तिको पनि कुरा हो । कसरी घटनाक्रमलाई महसुस गर्ने, बुझ्ने भन्ने कुरा, उहाँको सोचाइ के छ अहिलेसम्म भन्नुभएको छैन ।’
अदालतप्रति नेपालको विश्वास
अध्यक्ष नेपालले अख्तियारले पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता आफूमाथि दर्ता गरेको भन्न छाडेका छैनन्। सरकारले अख्तियारको प्रयोग गरेर आफूमाथि प्रहार गरेको निष्कर्षमा पुगेका नेपाल अदालतप्रति पनि विश्वस्त सुनिन्छन् ।
शनिवार पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्। पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’
नेता नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरे ।
उनले भनेका थिए, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

Leave a Reply