काठमाडौं । नेपाली क्रिकेटसँग एकदमै निकट रहेका आयरल्यान्डका कमेन्टेटर एन्ड्र्यू लियोनार्डले हिजो एउटा खुल्दुली जगाउने पोस्ट गरे ।
नेपालको राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलसँगको तस्विरलाई आफ्नो फेसबुकको कभरमा राख्दै उनले लेखेका थिए– बुधबार एउटा विशाल निर्णय हुनेवाला छ ।
लियोनार्डले लेखेको ‘ह्युज अनाउन्सपेन्ट’ पक्कै पनि नेपाली क्रिकेटसँगै सम्वन्धित हो भन्नेमा दुईमत छैन । यसलाई लिएर क्रिकेट समर्थकहरुले अनेक अडकलवाजी गरिरहेका छन् । रोहित पौडेलले कप्तानी त्याग्न लागेकोदेखि लिएर नेपाललाई टेस्ट राष्ट्र घोषणा गर्न लागिएकोसम्मका अफवाहहरु फैलाइएको छ ।
रोहितको कप्तानीमा प्रश्नहरु नउठेका होइनन् । सन्दीप लामिछानेमाथि मुद्दा दायर भएपछि तात्कालीक परिस्थितमा क्यानले कम उमेरमै कप्तानीको गह्रुंगो जिम्मेवारी सुम्पिएको थियो । उनको कप्तानीमा नेपालले धेरे उपलब्धी पनि हासिल गरेको छ ।
उनी प्राविधिकरुपमा नेपालका सर्वोत्कृष्ट ब्याटर हुन् भने परिआउँदा राम्रो स्पिन बलिङ पनि फ्याक्न सक्छन् । रोहितको फिल्डिङ र ‘रनिङ बिटविन द विकेट’ पनि उत्कृष्ट छ । समग्रमा एक प्याकेज क्रिकेटर हुन् ।
कप्तानीमा भने रोहिते धेरै सुधार गर्न बाँकी छ । खासगरि बलिङ परिवर्तनमा उनी अलिकति अल्मलिएको पाइन्छ । नेपालसँग बलरहरुको धेरै अप्सन भएकाले चतुरतापूर्वक सबैको उपयोग गर्ने कुरा सजिाले पछि छैन ।
यसमा रोहित अलिकति चुकिरहेका छन् र समर्थकहरुले बारम्बार औंला उठाउने गरेका छन् । कतै यही प्रेसरका कारण रोहितले कप्तानी त्याग्न आँटेका त होइनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविक भइहाल्यो ।
यो विषयमा नेपाल प्रेसले क्यानका प्रवक्ता छुम्बी लामासँग जिज्ञासा राख्दा उनले यस्तो सम्भावनालाई खारेज गरिदिए ।
‘यो हल्ला पूर्णरुपमा असत्य हो । रोहितले कप्तानी त्याग्ने मनसाय बनाएको भन्ने क्यानको जानकारीमा छैन,’ लामाले प्रष्ट पार्दै भने ।
लियोनार्डले उल्लेख गरेको ‘ह्यूज अनाउसमेन्ट’ को वास्तविक आशयप्रति उनले अनभिज्ञता दर्शाएका छन् ।
नेपाल प्रेसले थुप्रै स्रोतहरुसँग यस विषयमा बुझ्न खोज्दा पनि विषयको निक्र्यौल हुन सकेन । यद्यपि, नेपालले कुनै टेस्ट राष्ट्रसँग पहिलोपटक सिरिज खेल्ने घोषणा हुन सक्ने केही स्रोतको दावी छ ।
एक स्रोतले भन्यो, ‘क्यानले लामो समयदेखि विभिन्न टेस्ट राष्ट्रहरुसँग सिरिज खेल्नका लागि पहल गर्दै आएको छ । मलाई थाहा भएसम्म आयरल्यान्डसँगको छलफल लगभग टुंगिएको अवस्था थियो । उनले त्यसैलाई ईंगित गरेका हुन् कि ?’
नेपालले आयरल्यान्डसँग वान डे र टि २० सिरिज खेल्न प्रस्ताव गरेको दुई वर्ष भइसकेको छ । २०८० साल असारमा नेपाली टिम जिम्बाबेमा विश्वकप क्वालिफायर खेल्न गएको बेलादेखि नै कुराकानी सुरु भएको थियो । पछिल्लो समय आयरल्यान्ड नेपालमा आएर खेल्न तयार पनि भइसकेको छ । तर सेड्यूल मिलिरहेको छैन ।
क्यानको उच्च स्रोतले अब भने लगभग फाइनल भएको बतायो । यसको औपचारिक घोषणा एक–दुई दिनमै हुन सक्ने दावी स्रोतको छ ।
नेपालले पाकिस्तान, अफगानिस्तान लगायतका राष्ट्रहरुसँग पनि सिरिज खेल्नका लागि प्रयास गरिरहेको छ । उनीहरुसँग पनि कुराकानी सकारात्मक रहेको बताइन्छ ।
पछिल्लो समय नेपाली क्रिकेट टीमको स्तरोन्नती र नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको सफलताले गर्दा धेरै टेस्ट राष्ट्रहरुको ध्यान आकर्षित भएको छ । समस्या भनेको पूर्वाधारको हो ।
किर्तिपुर क्रिकेट मैदानमा अहिले स्तरोन्नितिको काम भइरहेको हुँदा त्यहाँ तत्काल कुनै राष्ट्रिय/अन्तर्राष्ट्रिय म्याच हुन सक्ने अवस्था छैन । फ्लड लाइटसहित उक्त मैदानको काम सकिएपश्चात भने राम्रो टिमहरु आउने बाटो खुल्ने क्यानका पदाधिकारीहरुले बताउँदै आएका छन् ।

Leave a Reply