तोकिएको समयभन्दा ४ वर्ष ढिलो गरी बन्यो पतलीखेत पुल

डाेटी । सहजपुर–बोगटान–दिपायल सडक अन्तर्गत बोगटान फुड्सिल गाउँपालिका–४ को पतलीखेत खोलामा निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ।

२०७८ साल असोज २१ गते निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने यो पुल झण्डै चार वर्ष ढिलो गरी निर्माण हुन लागेको हो। पुल निर्माणका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपाते डोटीले २०७६ साल चैत्र २३ गते टेण्डर आह्वान गरेको थियो।

भ्याटसहित ५ करोड ६ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणको जिम्मा नेपालगञ्जस्थित नेपाल मेघा सिस्ने जेभीलाई दिइएको थियो। निर्माण कम्पनीले तीन करोड ६६ लाख ३० हजार रुपैयाँमा पुल निर्माण गर्ने कबोल गरेको थियो।

पुल निर्माणका लागि कम्पनीका प्रतिनिधि बमबहादुर खड्का र कार्यालयबीच २०७७ साल असार २१ गते सम्झौता भएको थियो। १५ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ रहेको उक्त पुल २०७८ असोज २१ भित्र सम्पन्न हुने गरी सम्झौता गरिएको थियो। तर, तोकिएको समयमा काम नसकिएपछि ठेक्काको अवधि २०८० साल असार २५ गतेसम्म थप गरिएको थियो। सो अवधि भित्र पनि काम सम्पन्न हुन सकेन।

पुल अलपत्र परेको गुनासो स्थानीयवासीबाट आएपछि नेपाल प्रेस अनलाइनले २०८० साल पुष २२ गते समाचार प्रकाशित गरेको थियो। उक्त समाचारपछि सडक डिभिजन कुलपातेले निर्माण व्यवसायी सम्पर्कमै आउन नचाहेको बताएका थिए।

कार्यालयले ठेक्का रद्द गर्ने प्रयोजनका लागि स्पष्टीकरण माग गरेपछि मूल ठेकेदार दिपेन्द्र शाहीकी श्रीमती सम्पर्कमा आएर तुरुन्तै काम अगाडि बढाउने प्रतिबद्धता जनाएकी थिइन्। त्यसपछि २०८० साल फागुनदेखि पुनः काम सुरु गरिएको सडक डिभिजनका इन्जिनियर श्याम चौधरीले जानकारी दिए। उनका अनुसार हाल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ र यस आर्थिक वर्षको जेठ मसान्तभित्रै सम्पन्न हुने बताइएको छ।

बन्ने भयो टुँणागाड पुल पनि

सहजपुर–बोगटान–दिपायल सडक अन्तर्गतै बोगटान फुड्सिल गाउँपालिका–७ मा पर्ने टुँणागाड खोलामा पनि अब पुल निर्माण हुने भएको छ।

पूर्वाधार विकास कार्यालय, डडेल्धुराले पुल निर्माणका लागि ठेक्का भइसकेको जानकारी दिएको छ। कार्यालयकी प्राविधिक अधिकृत अन्जु कुँवरका अनुसार सिद्धनाथ जय भगवती जेभीको बोलपत्र स्वीकृत भएको हो।

उनले भनिन्, ‘हामीले निर्माण व्यवसायी कम्पनीलाई सम्झौता गर्न आउनु भनी १५ दिनको सूचना जारी गरेका छौं।’ उनका अनुसार यो आर्थिक वर्षभित्र सम्झौता प्रक्रिया मात्र सकिनेछ र आगामी आर्थिक वर्षदेखि पुल निर्माण कार्य सुरु हुने छ। तोकिएको समयमै काम सम्पन्न हुने अपेक्षा रहेको उनले बताइन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *