गृह मन्त्रालयमा दर्जन सहसचिव जिम्मेवारीविहीन, ५ जिल्लामा उपसचिवलाई सीडीओ

काठमाडौं । गृह मन्त्रालयमा सहसचिव फेरि भरिभराउ भएका छन् । मन्त्रालयमा ६ जना सहसचिवको दरबन्दी रहेकोमा त्यसको दोब्बर संख्यामा सहसचिव भने जिम्मेवारी नपाएर बसेका छन् ।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिवलाई मन्त्रालयमा तानिएको छ, तर उनीहरूको जिम्मेवारी तोकिएको छैन । तीमध्ये कतिपय सहसचिव ५ महिनासम्म पनि जिम्मेवारीविहीन छन् ।

सहसचिव प्रेमप्रसाद भट्टराई लामो समयदेखि मन्त्रालयमा छन् । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका उनी मन्त्रालयमा सरुवा भएर करिब ५ महिनाअघि गत माघ २ मा मन्त्रालयमा हाजिर भएका थिए ।

करिब ५ महिनाको अवधिमा डेढ महिना भने पाथीभरा केवलकारको विवाद समाधानका लागि मन्त्रालयले गठन गरेको कार्यदलको संयोजक भएर काम गरेका सहसचिव भट्टराईले नेपाल प्रेससँग बताए ।

तर त्योबाहेक भने मन्त्रालयमा पुग्ने हाजिर लगाउने गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘कानूनअनुसार मन्त्रालयले खटाएको जिम्मेवारीमा जाने हो । मैले आफैंले यता जान्छु, उता जान्छु भन्ने कुरा भएन, तर मन्त्रालयमा कार्यरत सबै सहसचिवमध्ये सिनियर सहसचिव भएकाले पनि अब उपत्यका बाहिर जान मन छैन । उपत्यकाभित्र जुनसुकै ठाउँमा खटाए पनि मन्त्रालयले जान तयार छु ।’

उनीभन्दा पछि मन्त्रालयमा सरुवा भएर आएकामात्रै नभएर उपसचिवबाट सहसचिव भएका कर्मचारीलाई पहिलो पटक नै प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । धर्मराज जोशी उपसचिवबाट सहसचिव बढुवा हुनेबित्तिकै गृह मन्त्रालयमा सरुवा भएर गएका थिए ।

मन्त्रालयमा पुगेको केही दिनमै गत फागुन २६ देखि बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गइसकेका छन् । यस्तै सहसचिव नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा करिब ३ महिनादेखि गृह मन्त्रालयमा हाजिर गर्नमात्र गइरहेका छन् ।

सुवेदी बागलुङ र शर्मा पर्वतको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भएर गत चैत दोस्रो साता मन्त्रालय तानिएका थिए । उनीहरूले जिम्मेवारीका लागि गृहसचिव गोकर्णमणि दुवाडी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ र मुख्यसचिव एकनारायण अर्याललाई धेरै पटक गुहारिसकेका छन् ।

अर्का सहसचिव वासुदेव दाहाल पनि साढे २ महिनाभन्दा बढी समयदेखि हाजिर गर्ने फर्किने गरिरहेका छन् । सिरहाको प्रमुख जिल्ला अधिकारीबाट उनी गत चैत १० मा सरुवा भएर मन्त्रालयमा आएका थिए । यस्तै सहसचिव बुद्धबहादुर गुरुङ पनि गत चैत अन्तिम सातामा लमजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट मन्त्रालय तानिएका थिए । मन्त्रालय तानिएको २ महिनासम्म उनले पनि जिम्मेवारी पाएका छैनन् ।

सुनिता नेपाल, भरतमणि पाण्डे, लालबाबु कवारी, राजुराम कडरिया, लक्ष्मण ढकाल र नारायणप्रसाद सापकोटा पनि मन्त्रालयमा थुप्रिएका छन् । गुरुङ लमजुङ, नेपाल स्याङजा, पाण्डे कास्की, कवारी महोत्तरी र कडरिया धनुषाबाट सरुवा भएर मन्त्रालय तानिएका हुन् ।

यस्तै ढकाल उपसचिवबाट सहसचिव बढुवा भएर मन्त्रालय सरुवा भएर आएका हुन् । सापकोटा भने ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशको मुखैमा पुगेकाले उनी जिम्मेवारीमा पठाइएका छैनन् ।

यस्तै सहसचिव तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गृह मन्त्रालय तानिएका थिए । उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

उपसचिवलाई सीडीओको जिम्मेवारी

गृह मन्त्रालयका अनुसार विभिन्न ५ जिल्लाको प्रमुख जिल्ला अधिकारीको दरबन्दी सहसचिवको भए पनि त्यहाँ उपसचिवलाई खटाइएको छ । जुम्ला, सल्यान, डोटी, बैतडी र डडेल्धुरामा सहसचिवको दरबन्दी रहे पनि उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ ।

उपसचिव चोमेन्द्र न्यौपाने, डडेल्धुरामा २०८१ भदौदेखि, जुम्लामा रामबहादुर शाही २०८१ असोजदेखि, डोटीमा मोहनराज जोशी २०८१ कात्तिक १२ देखि, बैतडीमा दीर्घराज उपाध्याय २०८१ कात्तिक १२ देखि र सल्यानमा सावित्रा पुन २०८१ पुस २८ देखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रशासन महाशाखा प्रमुख छविराज रिजालले दरबन्दीभन्दा बढी सहसचिव मन्त्रालयमा रहेकाले व्यवस्थापन गर्न नसकिएको नेपाल प्रेससँग बताए । यद्यपि एकदुई दिनभित्रै दरबन्दीभन्दा बढी रहेका सहसचिवको व्यवस्थापन गरिने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *