काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा सबैभन्दा ठूलो समस्या वैचारिक सांस्कृतिक स्तरहीनता भएको बताएका छन् ।
पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूसँग कुरा गर्दै उनले पार्टीमा वैचारिक सांस्कृतिक संकट देखिएको बताए ।
उनले भने, ‘हामीले वैचारिक सांस्कृतिक रूपान्तरणको लागि ठूलो अभियान चलाउनुपर्छ र पार्टीलाई फेर्नुपर्छ । त्यो फेर्ने अभियानमा युवाहरू लाग्नुपर्छ । तपाईंहरू तयार हुनुहुन्छ भने यो सफल हुन्छ, नत्र हुँदैन । हाम्रो पार्टीबाहेक अरूले यो देशमा यथास्थितिवाद भत्काएर सामाजिक आर्थिक रूपान्तरण गरेर समृद्धिको कार्यभार पूरा गरेर समाजवादको आधार तयार पार्न सक्दैन । त्यो एजेन्डा अरूले बोकेको पनि छैन । यो हाम्रो जिम्मेवारी हो ।’
उनले आजको जस्तो संगठनले यथास्थितिवादलाई फेरेर जान नसक्ने भन्दै यथास्थितिवादको अन्त्य गरेर जानुपर्ने बताए ।
नेता श्रेष्ठले जनताले पनि अवसर दिएको, तर व्यवस्थामाथि प्रश्न नउठाएको जिकिर गरे ।
उनले भने, ‘पार्टीभित्र कुनै निर्णय गर्दा कुनै मतभेद छैन । सबैले गरेका छौँ । पास गर्ने बेला एउटा गर्ने अनि लागू चाहिँ पहिला जे जे छ, त्यही त्यही गर्ने प्रवृत्ति छ । अब हामीले जे पारित गरेको हो, त्यो लागू गर्ने र पार्टीलाई बलियो र एकताबद्ध बनाएर जानुपर्छ ।’

Leave a Reply