काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रमुख रहेको काठमाडौं महानगरपालिकाको खर्चमा अनियमितताकाे आराेप लागेकाे छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा महानगरको खर्चमा उच्च अनियमितता देखिएको हो ।
उक्त प्रतिवेदनअनुसार बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ । वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो ।
फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ । बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको खुलेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्नेमा व्यवस्था रहेको छ, तर बालेनलगायतका उनका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयनबेगर गएको महालेखाले उल्लेख गरेको छ । यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियमसम्मत नभएकोसमेत महालेखाले उल्लेख गरेको छ ।
आन्तरिक पर्यटन/भ्रमण कार्यक्रममा समेत अनियमितता भएको पाइएको छ । बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा १२, १३ र १४ मा पदाधिकारी सुविधासम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार महानगरपालिकाले यस ऐनले तोकेकोभन्दा बढी सुविधा निर्धारण गर्न नसक्ने तथा यस ऐनमा भएबाहेकका अन्य सुविधामा प्रदेश सरकारले समयसमयमा निर्धारण गरेबमोजिम हुने उल्लेख छ ।
तर महानगरपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पुनर्ताजगी गर्ने उद्देश्यले जनप्रतिनिधिका लागि काठमाडौं महानगरपालिका जनप्रतिनिधि आन्तरिक पर्यटन/भ्रमण कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७७ स्वीकृत गरी यस वर्ष ५० लाख बजेट व्यवस्था भएकोमा २६ लाख १४ हजार खर्च गरेको छ ।

महानगरपालिकाले प्रचलित प्रदेश कानूनसँग प्रतिकूल हुने गरी स्थानीय कानून आधारमा पदाधिकारीलाई गरेको उक्त खर्च नियमसम्मत नदेखिएको महालेखाले औँल्याएको छ । उक्त अनियमितता रकम २६ लाख १३ हजार ९८० रुपैयाँ ९६ पैसा रहेको छ ।
महानगरमा कर्मचारी आन्तरिक पर्यटन पुनर्ताजगी कार्यक्रममा १ करोड ६८ लाख ९३ हजार १०५ रुपैयाँ र सामाजिक सुरक्षा कोष कट्टीमा ९७ लाख ११ हजार ५३३ रुपैयाँ अनियमितता भएको महालेखाको प्रतिवेदनले औँल्याएको छ ।
काठमाडौं महानगरले आकस्मिक तथा भैपरी शीर्षकमा विनियोजित रकमबाट १० लाख मुतीमा ४ वटा सिसिटिभी जडान तथा मर्मत सम्बन्धी योजना बनाई सोझै खरिद विधी अवलम्बन गरी ३४ लाख ९१ हजार ६५५ रुपैयाँ खर्च गरेको छ । बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्नेमा कार्यक्रम टुक्रा पारी सोझै खरिद गरेर उक्त रकम अनियमितता गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।

देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम पनि काठमाडौं महानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार बालेनको महानगरपालिका काठमाडौंमा २.४७ प्रतिशत बेरुजु देखिएको छ । यस महानगरको बेरुजु ६८ करोड २ लाख रहेको महालेखाको प्रतिवेदनले औँल्याएको छ ।

Leave a Reply