काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, रेक्टरको कार्यालय तोडफोडमा संलग्न एक व्यक्तिलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पक्राउ पर्ने व्यक्ति दिक्पाल कार्की हुन् ।
नेविसंघ नेता कार्की शिक्षा क्याम्पस सानोठिमीका स्ववियु सचिव पनि हुन् ।
गत जेठ १४ मा उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा नेविसंघका कार्यकर्ताले तोडफोडसँगै तालाबन्दी गरेका थिए ।
स्नातक तह प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने त्रिविको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा फारम खुलाइएको थियो । तर, नेविसंघका कार्यकर्ताले यतिबेला आएर विद्यार्थीको भर्ना लिन दबाब दिँदै आएका छन् ।
शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै अघि बढ्ने भीसी र रेक्टरको अडानपछि उनीहरूले आक्रमण गरेका थिए ।
तोडफोड र तालाबन्दीमा शंकरदेव, भक्तपुरलगायतका १९ वटा क्याम्पसका नेविसंघका कार्यकर्ता सलंग्न थिए । स्ववियू निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीको अधिकार पहिलेदेखि नै चलिआएको उनीहरूको जिकिर छ ।

Leave a Reply