काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चुनौतीलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए ।
मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दबाबमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरुले समस्याको बर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे ।
अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पारे ।
वाञ्छित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रबन्धले निजी क्षेत्रसमेत उत्साहित देखिएको उनले बताए । त्यस्तै, पौडेलले मौद्रिक नीति र वित्तनीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे ।
उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे ।

Leave a Reply