रोनाल्डो अन्य क्लबमा नजाने, साउदी क्लब अल-नासरमै रहने 

काठमाडाैं ।  पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिग क्लब अल–नासरमै रहने भएका छन् । साउदी प्रो लिगको सिजन सकिएपछि रोनाल्डोले साउदी क्लब छाड्ने आशंका गरिएको थियो । यो आशंकालाई बल दिने गरी उनले सामाजिक सञ्जालमा सिजन सकिए लगत्तै ‘यो अध्याय सकियो’ भनेर समेत लेखेका थिए ।

साथै उनी अर्को महिनादेखि अमेरिकामा सुरु हुने क्लब विश्वकप खेल्न लालयीत भएको र ब्राजिल, अर्जेन्टिनाका लगायतका क्लबहरूमा जाने हल्ला समेत व्यापक रूपमा चलेको थियो । अल नासर यस पटकको क्लब विश्वकपमा छनोट हुन नसकेपछि रोनाल्डोले अन्य क्लबमार्फत क्लब विश्वकप खेल्ने कोसिस गरेको समाचार बाहिरिएका थिए । साउदी प्रो लिग क्लब अल हिलाल जाने हल्ला समेत चलेको थियो । यस किसिमको हल्लापछि अल–नासर क्लबका समर्थकहरूले रोनाल्डो रेकर्डको पछि कुदेको भन्दै आलोचना समेत गरेका थिए ।

तर, हल्लाहरूलाई तत्कालको लागि रोनाल्डोले बन्द गरिदिएका छन् । गत आइतबारमा नेसन्स लिग जितेपछि मिडियासँगको कुराकानीमा आफू अल–नासरमै रहने बताएका हुन् । उनले मिडियाकर्मीले क्लब ट्रान्सफरबारे सोधिएको प्रश्नमा भने, ‘पक्कै पनि अब केही परिवर्तन हुने छैन ।’

उनले आफ्नो उमेरको ख्याल गर्दै अल–नासरमै रहने बताएका हुन् । आफू करियरको अन्त्यतर्फ नजिक रहेको र गम्भीर चोटपटक नलागेको खण्डमा अझैं खेलिरहने समेत बताएका छन् ।

४० वर्षीय रोनाल्डो सन् २०२२ मा म्यानेचेस्टर युनाइटेडबाट अल–नासर पुगेका थिए । यही समरबाट उनको अल–नासरसँगको सम्झौता सकिँदैछ । अल–नासरका सञ्चालक भने रोनाल्डोसँगको सम्झौता थप्ने सोचमा छन् ।

रोनाल्डो गएपछि पनि अल–नासरले साउदी प्रो लिगमा उपाधि जित्न सकेको छैन । तर, रोनाल्डो गएपछि साउदी प्रो लिगको चर्चा संसारभर भयो । नेयमार, करिम बेन्जेमा, साडियो मानेजस्तो प्रख्यात खेलाडीहरु रोनाल्डोपछि साउदी प्रो लिगमा पुगेका थिए ।

यस सिजन अल–नासरले लिगमा तेस्रो स्थानमा सकायो । यससँगै क्लबले एसियन च्याँन्पियन्स लिगको मौका पनि गुमाएको छ । लिगमा अल–नासरको प्रदर्शन सन्तोषजनक नरहे पनि रोनाल्डो भने २४ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *