काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले निजी आवतजावतमा प्रयोग गर्ने अत्यधुनिक तथा महंगो जर्मन लग्जरी कार मर्सिडिज बेञ्ज दुर्घटना भएको १८ दिन बित्यो । तर, उत्पादक कम्पनीले यकिन क्षति विवरण दिन नसक्दा न गाडी बन्यो, न त उनले क्षतिपूर्ति नै दाबी गर्न पाएका छन् ।
जेठ ७ गते बिहान गौशालामा बा ५ ख ६७३५ नम्बरको यात्रुबाहक बस ब्रेकफेल हुँदा त्यहाँ सवार दर्जनौँ सवारी साधनमा क्षति पुगेको थियो । बस गोकर्णेश्वर यातायात कम्पनीको स्वामित्वमा छ । त्यसले उक्त दिन गौशाला, पशुपति भिजनअगाडिको मूल सडकमा दुर्घटना गराउँदा क्षति भएका विभिन्न हलुका सवारी साधन, मोटरसाइकलको क्षतिपूर्ति तिरिरहेको छ । बसको ठक्करले घाइते भएका पैदल यात्रीको उपचार खर्च पनि कम्पनीले व्योहोर्यो ।
सोही दुर्घटनामा अन्नपूर्ण पोष्ट दैनिकको पत्रिका ढुवानी गर्ने गाडी पनि परेको थियो । त्यसको पनि क्षतिपूर्ति भइसक्यो ।
तर, भाटभटेनीका सञ्चालक गुरुङ सवार हुने ९७७३ नम्बरको बीएसी मर्सिडिज बेञ्ज कारको क्षति कति हो भन्ने कुरा अहिलेसम्म आइसकेको छैन । नेपाली बजारमा ७ करोड ९५ लाखसम्म पर्ने सो कारका पार्टपुर्जा विदेशबाटै ल्याउनुपर्छ । करोडभन्दा माथिको क्षति विवरण आएमा कम्पनीले तिर्न सक्ला कि नसक्ला भन्दै कम्पनीका प्रतिनिधि दिनहुँ चिन्तित छन् ।
भाटभटेनीका प्रतिनिधि चाहिँ ट्राफिकको सम्पर्कमै रहे पनि गोकर्णेश्वर यातायातसँग छलफलमा गएका छैनन् । दुर्घटनालगत्तै मर्मतका लागि उक्त गाडी भारतीय सहर लखनउ लगियो । अहिलेसम्म गाडी आइपुगेको छैन । न त, मीनबहादुर वा भाटभटेनीका प्रतिनिधि नै गोकर्णेश्वर यातायातको सम्पर्कमा पुगेका छन् ।
‘भाटभटेनीको मर्सिडिज गाडी हो, उहाँहरूले बेलाबेलामा सम्पर्क गर्नुहुन्छ’, गौशाला ट्राफिकका इन्स्पेक्टर राजु भण्डारीले बताए ।
गोकर्णेश्वर यातायात कम्पनीलाई अरुभन्दा बढी चिन्ता त्यही गाडीको छ । कम्पनीका अध्यक्ष भीमबहादुर बस्नेतले ५० लाखसम्मको क्षति विवरण आउने आशमा छन् । ‘त्योभन्दा माथिको त नआउला कि ?’, उनले भने ।
त्यसदिनको दुर्घटनाबाट क्षति पुगेका सातवटा विभिन्न सवारी साधनमध्ये गोकर्णेश्वर यातायातले ६ वटाको मर्मत खर्च व्यहोरिसक्यो । पैदल यात्रुसमेत घाइते भएका थिए । तिनको उपचार खर्च पनि यातायात कम्पनीले नै व्योहोर्यो । कम्पनीका अध्यक्ष बस्नेतका अनुसार अहिलेसम्म क्षति भएका सवारी साधनको मर्मत र घाइतेको उपचारमा १६ लाखभन्दा केही बढी खर्च भइसक्यो । भाटभटेनीको गाडीको मर्मत खर्च पनि व्योहोर्नुपर्ने भयो भने थप ५० लाख खर्च हुने अनुमान उनले गरेका छन् ।
भाटभटेनीले अहिलेसम्म दुर्घटनामा परेको गाडीको इन्स्योरेन्स दाबी गर्नका लागि कुनै ताकेता गरेको छैन । नियमअनुसार इन्स्योरेन्स दाबी गर्न घटनास्थलमै खिचिएको फोटो र ट्राफिक प्रतिवेदन आवश्यक पर्छ । तर, दुर्घटना हुनासाथ ट्राफिकलाई जाँच नगराइ गाडी लखनऊ लगियो ।
गोकर्णेश्वर यातायातको दुःख
चालकबाट भएको एकछिनको गल्तीका कारण कम्पनीले अहिलेसम्म १६ लाखभन्दा बढी खर्च गरिसकेको छ भने अझै ५० लाख हाराहारीमा खर्च हुन बाँकी छ ।
कम्पनीका अध्यक्ष बस्नेतका अनुसार कम्पनीको स्वामित्वमा सयवटा गाडी छन् । सबैको आम्दानी जोड्दा दिनमा एक लाख पनि पुग्दैन । एकैपटक त्यत्तिका रकम तिर्नुपर्ने स्थितिले कम्पनीको आर्थिक अवस्थामा असहजता उत्पन्न भएको छ ।
‘दुर्घटना भएपछि त व्योहोर्नैपर्यो, तर त्यत्तिका पैसा कमाउन ज्यादै मुस्किल छ’, उनले भने ।
हेर्नुहोस्, दुर्घटनास्थलको दृश्य
दुर्घटना भएका सवारी साधन
१. बा १६ च ४५५२ नं को निजी कार
२. ९७७३ नं को मर्सिडिज निजी कार
३. बा प्र०१–०२६ च ८५७६ नं को निजी कार
४. बा ५१ प २२ नं. को मोटरसाइकल मोसा
५. प्र २ ०१–००३प १००५ नं. को मोटरसाइकल
६. बा ५ ख ७३१ न भाडाको मिनीबस
७. बा प्र०२–०४६प ४८१९ नं. को मोटरसाइकल
उपचारपछि घर फर्किएका घाइते
१. सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नम्बर १७ घर भई हाल कोटेश्वर डेरागरी बस्ने वर्ष २८ की रमा कार्कीको दाहिने हातमा चोट ।
२. काठमाडौं, मूलपानी बस्ने वर्ष ६१ कि विष्णुमाया कार्कीको दाहिने हातमा चोट ।
३. काठमाडौं, मूलपानी बस्ने वर्ष ५६ को कृष्ण कार्कीको पछाडि ढाडमा चोट ।
४. भक्तपुर, कटुन्जे बस्ने वर्ष २३ कि समृद्धि दाहाल टाउकामा चोट अबस्था सामान्य ।
५. धनुषा जिल्ला जनकपुर ११ घर भई हाल ग्वार्को ललितपुर बस्ने वर्ष २३ को दीपक शाह सामान्य बायाँ खुट्टामा चोट ।
६. ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १० घर भई हाल ललितपुर डेरा गरी बस्ने वर्ष २१ की अप्सरा अधिकारी दाहिने हातमा चोट ।
७. खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नम्बर ४ घर भई हाल सुकेधारा डेरा गरी बस्ने वर्ष ३६ को प्रदीप भुजेल टाउकोमा चोट ।
८. लमजुङ जिल्ला बेशीसहर नगरपालिका वडा नम्बर १ घर भई हाल सामाखुशी डेरा गरी बस्ने वर्ष २० की आकृति तामाङ टाउकोमा चोट ।
९. दोलखा जिल्ला चरिकोट घर भई हाल सुकेधारा डेरा गरी बस्ने वर्ष ३६ को सुरेन्द्र भुजेलको टाउकोमा चोट ।
१०. महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ७ घर भइ हाल चाबाहिल बस्ने वर्ष ३९ को लक्ष्मण लुवानीको टाउकोमा चोट ।
११. कैलाली जिल्ला टीकापुर नगरपालिका घर भएका राम चौधरीको दाहिने हातमा चोट ।
१२.ललितपुर जिल्ला इमाडोल घर भई बस्ने बर्ष २७ कि बसन्ती पुरीको टाउकोमा चोट ।
१३.मकानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर १ घर भई हाल बालकोट डेरा गरी बस्ने वर्ष ४१ को प्रेम मोक्तानको टाउकोमा चोट ।
१४. धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ७ घर भई हाल इमाडोल ललितपुर डेरा गरी बस्ने वर्ष २१ को सहचालक सुजन थापा मगरको दाहिने हातमा चोट ।
१५. कपिलवस्तु जिल्ला तौलीहवा घर भई हाल मित्रपार्कमा डेरा गरी बस्ने बर्ष ५५ की मञ्जु दाहालको छातीमा चोट ।
१६. धादिङ, ज्वालामुखी गाउँपालिका १ घर भई टोखा बस्ने ३२ वर्षीय मोटरसाइकल चालक राजकुमार श्रेष्ठको ढाडमा चोट ।
१७. नुवाकोट जिल्ला तादी गाउँपालिका घर भई टोखा बस्ने वर्ष २२ को विकास कट्टेलको नाकबाट रगत बगेको ।

Leave a Reply