पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि आंकाक्षी धेरै हुँदा निर्वाचनको सम्भावना उत्तिकै छ ।
३२ वर्षे उमेर हदका कारण महासचिवसहित माथिका पदाधिकारी बाहिरिँदा ५ सचिव अध्यक्षमा आंकाक्षी देखिएका छन् । नेतृत्वको लागि दाबेदारी प्रस्तुत गर्नेमध्ये एक हुन् सचिव एवम् प्रवक्ता प्रकाश पौडेल ।
सर्वसम्मत नेतृत्व चयन नभए पनि निर्वाचनमा जान उनी तयार देखिन्छन् । अनेरास्ववियुको स्कुल कमिटीदेखि सबै तह पार गरेर आएकाले आफ्नो दाबेदारी स्वभाविक रहेको प्रकाश बताउँछन् ।
‘स्कुलको कमिटीदेखि क्याम्पस, जिल्ला, प्रदेश सबै तहको नेतृत्व गर्दै आएको छु । मेरो अध्यक्षमा दाबेदारी स्वभाविक हो,’ उनले भने ।
समयसँगै संस्थालाई पनि अपडेट गरेर लग्ने कुरामा आफू प्रतिबद्ध रहेको उनी सुनाउँछन् ।
‘२४ महिनाको ४८ माइलस्टोन’ कार्यक्रम सञ्चालन अगाडि बढ्ने उनको योजना छ । उक्त कार्यक्रममा आत्मनिर्भर नेपालका लागि माटो अभियान, विद्यार्थी नर्सरी स्थापना, विश्वविद्यालय प्राविधिक सीट क्षमता बढाई विद्यार्थीलाई नेपालमै पढ्न पाउने व्यवस्थाको सुनिश्चितता गर्ने, पेड इन्टर्नसिप जस्ता योजना समेटेका छन् ।
‘पछिल्लो समय प्राविधिक शिक्षाका लागि धेरै नेपाल विदेशिनु परेको छ । सबै विश्वविद्यालयको सीट क्षमता जाँच गरी नेपाल मै प्राविधिक विषय पढाउनका लागि आन्दोलनको अगुवाइ गरिनेछ,’ उनले भने ।
हरेक महिनाको प्रगति र योजना सार्वजनिक गरेर अगाडि बढ्ने उनको योजना छ । अनेरास्ववियुलाई जेन जी पुस्ताको फुल फिगर बनाउने प्रकाश बताउँछन् । उनी भन्छन्, ‘अहिलेको जेनजी पुस्ता जुन रूपमा विज्ञान प्रविधिप्रति अपडेटेट छ । त्यसको फुल फिगर अनेरास्ववियुलाई बनाइनेछ ।’
प्रकाशको अनेरास्ववियुको यात्रा
प्रकाशले २०६२ सालबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् । त्यसबेला उनी म्याग्दीको जनकल्याण माध्यमिक विद्यालयको अनेरास्ववियु स्कुल कमिटीको अध्यक्ष बने । त्यसको एक वर्षपछि उनी अनेरास्ववियु जिल्ला कमिटी सदस्य बन्न सफल भए । त्यसपछि झन् उनको सक्रियता बढ्न थाल्यो ।
२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा उनी बाल कलाकारको रूपमा निर्वाचनको प्रचारप्रसारमा जुटे । त्यतिबेला निर्वाचनमा बालबालिका प्रयोग गरेको भन्दै विपक्षीले विरोध गरेका थिए । तर, उनले आफू स्वतःस्फूर्त रूपमा प्रचारमा हिँडेको बताएका थिए । त्यसपछि उनी पार्टीमाझ पनि चिनिन थाले ।
२०६५ मा सचिवालय सदस्य, २०६७ मा म्याग्दी बहुमुखी क्याम्पस सचिव हुँदै २०७१ मा उनी अनेरास्ववियु म्याग्दीको अध्यक्ष बने । उनको अध्यक्षमा रहेको कमिटी २०७२ सालम उत्कृष्ट कमिटी चुनियो ।
२०७२ मा उनी अनेरास्ववियु केन्द्रीय सदस्य बने । उनलाई नेतृत्वले तत्कालीन धौलागिरी सहइञ्चार्ज तथा म्याग्दी र बागलुङको इन्चार्जको जिम्मेवारी सुम्पियो ।
२०७२ सालमा भएको भूकम्पमा उनले विद्यार्थी र युवालाई संगठित गरी प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिए । नाकाबन्दीको समयमा भएको कालोबजारीविरुद्ध उनले सशक्त आवाज उठाए । नाकाबन्दीको समयमा उनले करिब ३ हजार मान्छे जम्मा गरेर म्याग्दीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए ।
तत्कालीन नेकपाका बेला केपी शर्मा ओलीलाई पार्टीले कारबाही गर्दै उनकै अध्यक्षमा पोखरामा विद्यार्थी भेला गरेर उक्त कदमविरुद्ध चर्को आवाज उठाए । २०७८ सालमा उनी स्थायी कमिटी सदस्य र गण्डकी प्रदेश अध्यक्ष बने । आफू इञ्चार्ज भएको समयमा उनले ‘विपत्तिमा सहारा, विभेदमा विद्रोह म अखिल’ अभियानको सञ्चालन गरे । उक्त अभियानमार्फत ३ हप्तामा २७ हजार विद्यार्थीलाई अनेरास्ववियुमा आबद्ध गराइएको उनको दाबी छ ।
२०७९ सालमा भएको २३औँ महाधिवेशनमा उनी केन्द्रीय सचिव निर्वाचित भए । स्पष्ट वक्ता र विद्यार्थीमाझ लोकप्रिय रहेका कारण अध्यक्ष समिक बडालले प्रकाशलाई प्रवक्ताको जिम्मेवारी सुम्पिए ।

Leave a Reply