विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीका विरुद्ध ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज गरी मनोबल गिराएको आरोपमा मुद्दा दर्ताको तयारी गरिएको छ ।
कोशी कटानमा ड्युटीमा रहेका ट्राफिकका सई कमलप्रसाद दाहाल र ट्राफिक असई सन्तोष मिश्रमाथि उनले अपशब्दसहित गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनराज तिम्सिनाले मुद्दा दायर गर्न आवश्यक कागजात जुटाइएको बताए ।
उनले भने, ‘ड्युटीमा रहेका असई र ट्राफिकमाथि गालीगलौज गरेको तथा सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेकोलगायतको आरोपमा मुद्दा दायरको काम थालेका छौं । माथिल्लो निकायमा जानकारी गराएका छौं ।’
के थियो घटना ?
जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्याक्टर ट्राफिक प्रहरीका असई रामराजा यादवले रोक्छन् । ट्याक्टर ओभर लोड पाइएपछि जरिबाना तिराइन्छ । ट्याक्टरका चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त हुन् । ती चालकले फोन गरेपछि पुगेका अध्यक्षले मेरो पालिकाका जनतालाई दु:ख दिने भन्दै मुखमा आएजति गाली गरेका छन् ।
अन्सारीले प्रहरीले घुस खाएको आरोप लगाउँदै आफूले गरेको फोन पनि नउठाएको भनेर गाली गरेका छन् । केही दिनअघि दूध बोकेको मोटरसाइकललाई पनि ओभरलोडमा ५ सयको चिट काटिएको थियो । त्यो मोटरसाइकल रोकेका कारण दूध फाटेको पनि अन्सारीले आरोप लगाएका छन् ।
मनपरी गाली गरेको भिडिओ भाइरल भएर आलोचना बढेपछि पालिका अध्यक्ष अन्सारीले ती शब्द आफूले नबोलेको र एआईको प्रयोग गरेर भिडिओ बनाएको दाबी गरेका छन् । बनाइएको भन्दै आफूले त्यसो नभनेको बताएका छन् । उनले भिडियोमा कसरी यस्तो भिडियो आयो भन्ने बारेमा थाहा नभएको भन्दै भिडिओ पोस्ट गरेका छन् ।

Leave a Reply