अखिल हाँक्ने सुरमा रहेका डा. कडरिया- दुई शर्तमा मात्रै अरुलाई अध्यक्ष स्वीकार्न तयार छु (भिडिओ)

काठमाडौं । ३२ वर्षे उमेरहद लागु भएपछि अनेरास्ववियुमा नेतृत्व आकांक्षीका अनुहार फेरिए । ३२ कटेकाले प्रमुख पदमा दावेदारी पेश गरिरहँदा मातृ दल एमालेले उमेरहद तोक्यो । महासचिव नरेश रोकाया, उपाध्यक्ष नारायण घर्तीलगायत अध्यक्षको दाबी गरिरहेका थिए ।

उस्तै उस्तै उमेर समूहका नेताले उपाध्यक्ष, महासचिव जस्ता पदको आकांक्षा राखेका थिए, तर उमेर हदका कारण एकाएक तल्लो पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका विद्यार्थी नेता प्रमुख पदका दावेदार बन्न पुगे । उमेरहदले केन्द्रीय कमिटीका पाँच सचिवलाई मात्रै आगामी नेतृत्वका लागि योग्य बनायो ।

यही श्रृंखलामा डा.सुजन कडरिया आक्रामक तवरले अगाडि बढे, अध्यक्षको दाबीसहित । डा.सुजनमात्रै हैन, प्रकाश पौडेल, दीपक धामी, अञ्जना शिवाकोटीदेखि आरती भट्टराईसम्मले अध्यक्ष दाबी गरे ।

२४ औँ महाधिवेशन आज शुरु भएको छ । यो महाधिवेशनले यी पाँच दावेदारभित्रबाट एक चयन गर्दैछ । त्यसमध्ये पनि डा. कडरिया, पौडेल र धामीको चर्चा उल्लेख्य छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व टुंग्याउन सुझाव दिएसँगै निर्वाचन नहुने सम्भावना पनि उत्तिकै छ ।

निर्वाचन हुन्छ या सहमतिमा नेतृत्व टुंगिन्छ ? यसको निर्क्योल हुन बाँकी नै छ, तर एमबीबीएस गरेका डा. कडरिया अध्यक्षको बलियो दाबेदारको रूपमा देखिएका छन् । २०७३ सालको स्ववियु निर्वाचनमा काठमाडौं विश्वविद्यालयमा सभापति निर्वाचित उनै डा.सुजन कडरियासँग नेपालप्रेसकर्मी नवीनकाजी राईले विद्यार्थी आन्दोलन र महाधिवेशन केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंशः

– पार्टीले ३२ वर्षे उमेरहद लगाउने सर्कुलर जारी नगर्दासम्म तपाईं अध्यक्षको आकांक्षी हुनुहुन्नथ्यो, हैन ?

महासचिवको तयारी गरिरहेको थिएँ । बीचमा विद्यार्थी आन्दोलनलाई लामो समय योगदान दिनुभएको एउटा अग्रज पुस्ता बाहिरिनुपर्ने अवस्था आयो । सम्मानित पुस्ता बाहिरिइसकेपछि म उम्मेदवार बन्ने कुरा स्वाभाविक बनेर गयो ।

– ३२ वर्षे उमेरहद लगाएपछि पाँच पदाधिकारीमध्येबाट एक जनालाई अध्यक्ष बन्ने बाटो पार्टीले खोलिदियो भन्न मिल्छ ?

पार्टीले बाटो खोलिदियो भन्दा पनि विद्यार्थी आन्दोलनलाई समय सापेक्ष बनाउन र खास विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने संगठन बनाउन यो आवश्यक थियो होला । त्यसकारण पार्टीले यस्तो निर्णय गर्‍यो भन्ने लाग्छ ।

– यस्तो अवस्थामा उमेरहद समय सापेक्षित थियो ? तपाईंलाई के लाग्छ ?

पार्टीले लिएको निर्णयलाई दुई कोणबाट हेर्नुपर्छ । एउटा- विद्यार्थी आन्दोलनको आवश्यकता र अर्काे- अहिलेका अग्रज विद्यार्थी नेताहरूले दिनुभएको योगदानको मूल्यांकन । उहाँहरूले दिनुभएको अतुलनीय योगदानको पनि सम्मान गर्नुपर्छ । उहाँहरूको योगदानको यथोचित मूल्यांकनसहित पार्टीमा जिम्मेवारी दिनुपर्छ ।

पार्टीमा पनि त युवा पुस्ताले आन्दोलनको अगुवाइ गर्न जरुरी छ । त्यसकारण संगठनमा लामो समयसम्म योगदान दिएको पुस्ता बिदा भएको रूपबाट हामीले हेर्नुहुँदैन । उहाँहरूलाई पार्टीमा स्थापित गर्न पार्टी नेतृत्वले यस्तो पहलकदमी लिएको हो । पार्टीले नै निर्देशन दिइसकेपछि हामी शुभेच्छुक संगठन भएकाले निर्देशन मान्न बाध्य हुनुपर्छ ।

– कतिपयले उमेरहदको निर्णय गर्न राष्ट्रिय सम्मेलनमा आएका प्रतिनिधिहरूलाई नै जिम्मा दिएको भए पनि हुन्थ्यो भन्दैछन् । पार्टीले सर्कुलर जारी गरेर राम्रो सन्देश गएन भन्छन् । त्यस्तो हो र ?

यो विषयलाई विधान महाधिवेशनमार्फत गरेको भए अझ लोकतान्त्रिक हुनसक्थ्यो । यद्यपि हामी एकदमै रसमा भयौं । स्ववियु निर्वाचनको धपेडी थियो । लगत्तै वर्षायाम शुरु भयो । यस्तो अवस्थामा विधान महाधिवेशनतिर लाग्दा विद्यार्थी आन्दोलन जुन हिसाबमा गतिशील हुनुपर्ने हो, त्यसमा अवरोध हुने भएकाले पार्टीले निर्देशन दिएको हो ।

मैले उहाँहरूबाट धेरै सिकेको छु । जसरी मेडिकल कलेजमा प्रिसेप्टरबाट धेरै सिकिरहेको हुन्थेँ, त्यसैगरी विद्यार्थीका मुद्दाहरूलाई कसरी लिएर जाने, अप्ठेराहरूको सामना कसरी गर्ने भन्नेबारे उहाँहरूबाट सिकेको छु । उहाँहरूप्रति मेरो सम्मान छ र उहाँहरूबाट धेरै सिक्ने मौका पनि मिलेको छ ।

यद्यपि पार्टीले यत्तिकै अवैज्ञानिक ढंगबाट निर्देशन दिएको छैन । यो विषयलाई कन्ट्रोभर्सीको रूपमा भन्दा पनि निर्देशित भइसकेको विषयलाई कार्यान्वयनको चरणमा लिएर जानुपर्छ ।

– अब तपाईं अध्यक्षको प्रत्याशी हैन त ?

हजुर ! स्वाभाविक रूपमा अहिले हामी सचिवहरूमध्ये सबैको आआफ्नै किसिमको योगदान छ । हामी सबैले आआफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै यहाँ आइपुगेका छौं । मैले पनि यो महाधिवेशनलाई संगठनको नेतृत्व गरेर विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अवसरको रूपमा लिएको छु ।

– तपाईं चुनाव भएको खण्डमा अध्यक्षको प्रत्याशी हो कि नभएको खण्डमा ?

चुनाव भए वा नभए भन्ने हुँदैन । अध्यक्षको प्रत्याशी सधैं अध्यक्षको प्रत्याशी नै हुन्छ । म हिजो पनि निर्वाचित भएरै आएको हुँ । कुनै तदर्थ कमिटीबाट आएको होइन । धेरै साथीहरूले आवश्यक ठानेर मलाई सचिवमा निर्वाचित गराउनुभयो । त्यसैले अहिले म जुनसुकै अवस्थामा पनि अध्यक्षको प्रत्यासी हुँ । यसमा म दृढतापूर्वक लागिरहेको छु ।

– तपाईंहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गएर छलफल पनि गर्नुभयो । तपाईंलाई के लाग्छ, निर्वाचन हुन्छ ?

प्रधानमन्त्रीज्यूले अत्यन्तै सान्दर्भिक विषय उठाउनुभएको थियो । सकेसम्म मिलेर जान आग्रह गर्नुभयो । किनभने एउटा ठूलो पुस्ताले यो आन्दोलनमा त्याग गरेको थियो । उहाँहरूलाई पार्टीले मूल्यांकन गरेर उचित ठाउँमा रूपान्तरण गर्न खोजेको हो ।

त्यसपछि हामी पाँच जना जति पदाधिकारी बाँकी रह्यौं । यसलाई अवसरको रूपमा लिएर अगाडि बढिरहेका छौं । आज पार्टीमाथि एक किसिमको आक्रमण भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको अवस्थामा स्वाभाविक रूपमा पनि लिनुपर्छ । सरकारका विरोधीहरूले पार्टीमाथि आक्रमण गरिरहेका छन् । यसको विरुद्ध लड्नसक्ने अनेरास्ववियु चाहिएको छ ।

सबैभन्दा महत्वपूर्ण विषय के हो भने अहिलेको अवस्थामा प्रधानमन्त्रीले जबरजस्ती केही पनि निर्देशन दिनुभएको छैन । सकेसम्म सर्वसम्मत प्रयत्न गर्नु, चित्त नबुझेमा निर्वाचन गर्नु भन्नुभएको छ । निर्वाचनभन्दा लोकतान्त्रिक विधि सर्वसम्मत हो भनेर भन्नुभएको छ ।

– सर्वसम्मत हुने सम्भावना चाहिँ कत्तिको छ ?

सर्वसम्मत हुनसक्छ ।

– के आधारमा सर्वसम्मत हुनसक्छ ? कस्तो अवस्थामा सर्वसम्मतको लागि तपाईं तयार हो ?

यसमा मुख्यतः दुई पाटा छन् । एउटा- अभिभावकहरूको मार्गदर्शन र अर्को- प्रतिनिधि साथीहरूको चाहनाको सम्मिश्रण मिल्यो भने सर्वसम्मत हुनसक्छ । अब सर्वसम्मत हुँदा आफूलाई केन्द्रमा राख्नु स्वाभाविक पनि हो ।

– भन्नाले तपाईंले नेतृत्व नपाएको खण्डमा सर्वसम्मत हुँदैन ?

ठ्याक्कै त्यसरी पनि नबुझौं । यद्यपि मैले आफूलाई केन्द्रमा राख्नु स्वाभाविक हो ।

– भनेको तपाईं अध्यक्ष हुनुपर्‍यो सर्वसम्मत हुनलाई ?

म अध्यक्षको दाबेदार हुँ । म अध्यक्ष हुन पाउनुपर्‍यो भन्न पाउने मेरो अधिकार हो ।

– तपाईं अध्यक्ष हुने अवस्था आउँदामात्रै सर्वसम्मतको सम्भावना हो कि नहुँदा पनि सहमतिका बाटाहरू खुल्छन् ?

म अध्यक्ष हुँदा सर्वसम्मतका आधार धेरै देख्छु । जस्तोः म फरक ब्याकग्राउन्डबाट आएको छु । विद्यार्थी आन्दोलनको आधुनिकीकरण आवश्यक भइरहेको अवस्था छ ।

नयाँ पुस्ताको नेतृत्व गर्नसक्ने र प्रतिनिधित्व गर्नसक्ने उम्मेदवारमध्ये म पनि हो । त्यसैले साथीहरूले फरक क्षेत्रबाट आएको फूललाई यो बगैँचामा हुर्किन दिनुपर्छ । संगठनमा धेरै किसिमका फूलहरू फुलिसक्नुभएको छ । यो बगैँचामा म अर्को विविधता थप्ने गरी आएको छु ।

चुनाव भए वा नभए भन्ने हुँदैन । अध्यक्षको प्रत्याशी सधैं अध्यक्षको प्रत्याशी नै हुन्छ । म हिजो पनि निर्वाचित भएरै आएको हुँ । कुनै तदर्थ कमिटीबाट आएको होइन । धेरै साथीहरूले आवश्यक ठानेर मलाई सचिवमा निर्वाचित गराउनुभयो । त्यसैले अहिले म जुनसुकै अवस्थामा पनि अध्यक्षको प्रत्याशी हुँ ।

अबको विद्यार्थी आन्दोलन समय सापेक्षित बनाउनुपर्छ । एकेडेमिकल्ली साउन्ड पुस्तामा जानुपर्छ भनेर नेतृत्वले पनि भनेको छ । हामीले नेतृत्वको निर्देशनलाई ग्रहण पनि गरेका छौँ । धेरै प्रतिनिधि साथीहरूको चाहना पनि एक पटक फरक क्षेत्रबाट आएको व्यक्तिलाई नेतृत्व गर्न दिँदा आन्दोलनमा नयाँ आयाम आउँछ कि भन्ने छ । साथीहरूको चाहनालाई केन्द्रमा राख्दा पनि सर्वसम्मतको एकदमै नजिक छौँ हामी ।

– यदि तपाईंलाई केन्द्रमा राखेर सर्वसम्मत नभएको खण्डमा निर्वाचन हुन्छ ?

यदि हामीबीच एक-अर्काको अस्तित्वलाई स्वीकार गर्न सकेनौँ भने वैज्ञानिक विधि फेरि निर्वाचन नै हो । निर्वाचनमार्फत हामीले हाम्रो मन बुझाउन सक्नुपर्छ ।

– तपाईं अध्यक्ष नहुने शर्तमा सर्वसम्मत हुने सम्भावना छ कि छैन ?

मैले छैन भनेर भन्न मिल्दैन । आफूलाई मात्रै केन्द्रमा राखेर आफू नहुँदा चाहिँ नहुने भन्ने हुँदैन । पार्टी नेतृत्वको बुझाई र प्रतिनिधि साथीहरूको निर्णयमा निचोड निस्कने कुरा हो । यो विषयमा म धेरै भन्न किन पनि चाहन्नँ भने धेरै प्रतिनिधि साथीलाई भेट्नै बाँकी छ ।

पार्टी नेतृत्व पनि मसँग निकै कन्भिन्स छ । नयाँ विद्यार्थीहरूको प्रतिनिधित्व गराउन सक्ने र विद्यार्थीलाई संगठनमा आकर्षित गर्नसक्ने क्षमता ममा छ भनेर पार्टी नेतृत्वलाई राम्रै जानकारी छ । अहिले सर्वसम्मतको माध्यमबाट विद्यार्थी आन्दोलनको आधुनिकीकरणको जिम्मेवारी हामीले लिनुपर्छ ।

– अरु प्रत्याशीप्रति तपाईंको धारणा के हो ?

उहाँहरूको योगदान अतुलनीय छ । म व्यक्तिगत रूपमा उहाँहरूलाई सम्मान गर्छु । आज हामीले ठूलो पुस्तालाई बिदा गरेका छौँ । उहाँहरूको योगदान हाम्रोभन्दा अझै धेरै थियो । उपाध्यक्ष, महासचिवज्यूहरूको योगदान सामान्य थिएन । अब सबैको सरसल्लाहमा महाधिवेशनलाई सर्वसम्मत रूपमा टुंग्याउन सकियो भने यसले नेकपा एमाले र यसको भ्रातृ संगठनप्रति राम्रो सन्देश जान्छ ।

– अन्य प्रत्याशीहरूलाई अध्यक्ष स्वीकार गरेर आन्दोलन हाँक्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?

मैले मेरो मेडिकल जीवनको सबैभन्दा महत्वपूर्ण समय यही संगठनका लागि बिताएँ । विद्यार्थी आन्दोलनमा कुनै पनि खाले योगदान पुर्‍याउनुपर्छ भनेर म आबद्ध भएको छु । मैले साथीहरूलाई स्वीकार वा अस्वीकार गर्ने भन्ने कुरा भन्न सक्दिनँ । सबै साथीहरू मेरो नजरमा सम्मानित हुनुहुन्छ ।

त्यसकारण मैले यही व्यक्तिको लागि भनेर सोच्न भ्याएकै छैन । मैले दुइटा कुरालाई मात्रै केन्द्रमा राखिरहेको छु, प्रतिनिधि साथीहरूको धारणा र पार्टी नेतृत्वको निर्देशन । यही दुई कुरालाई लिएर हामी सबै अगाडि बढ्नुपर्छ ।

मैले अन्य आकांक्षीलाई दुइटा कारणबाट स्वीकार्न सक्छु । एउटा चाहिँ उहाँहरूले मलाई त्यस्तो कुनै नयाँ योजना देखाउनुभयो र मलाई उहाँहरूप्रति सम्मान जाग्यो वा चित्त बुझ्यो भने स्वीकार्न सक्छु । अर्को चाहिँ प्रतिनिधि साथीहरूसँगको संवाद र पार्टी नेतृत्वको निर्देशन अन्तिम हुनेछ ।

– अरु आकांक्षी तपाईंलाई नै अध्यक्ष स्वीकार गर्न तयार हुनुको कारण के हो ?

एउटा त अहिलेको आन्दोलनको आवश्यकता, अर्को विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने मेरो स्वभाव । आजका दिनसम्म मैले विचारलाई व्यवहारमा उतार्दै आएको छु । त्यसकारण उहाँहरू पनि मसँग सकारात्मक हुनुहुन्छ ।

– शिक्षा र स्वास्थ्य आममानिसको पहुँचबाट धेरै टाढा हुँदै गइरहेका छन् । यस विषयमा तपाईंको धारणा के हो ?

२४ औं राष्ट्रिय महाधिवेशनमा प्रत्याशी हुँदा मैले बोकेको महत्वपूर्ण एजेन्डा यो पनि हो । सामुदायिक र निजी विद्यालयबीच जुन विभेद छ, त्यो खाडल हामीले पुर्न जरुरी छ । हाम्रो पाठ्यक्रममै विभेद छ, यसलाई हटाउनुपर्छ ।

सामुदायिक शिक्षालय दिनप्रतिदिन ओरालोलाग्दो अवस्थामा छ । मैले गोल्डेनगेटमा अध्ययन गरेको भए पनि त्यहाँ छात्रवृत्तिमा अध्ययन गरेको थिएँ । एचएसईबीले स्कलरसिप दिन्थ्यो । फी तिरेर पढेको होइन । पछि अखिलमा जोडिइसकेपछि म रोल्पा गएँ । त्यहाँ तीन महिनासम्म हेल्थ क्याम्पहरू चलायौँ । बाजुरामा पनि हेल्थ क्याम्प चलायौँ । त्यहाँ पुग्दा मेले के देखेँ भने शिक्षा र स्वास्थ्यमा साँच्चिकै विभेद छ ।

नयाँ पुस्ताको नेतृत्व गर्नसक्ने र प्रतिनिधित्व गर्नसक्ने उम्मेदवारमध्ये म पनि हो । त्यसैले साथीहरूले फरक क्षेत्रबाट आएको फूललाई यो बगैंचामा हुर्किन दिनुपर्छ । संगठनमा धेरै किसिमका फूलहरू फुलिसक्नु भएको छ । यो बगैंचामा म अर्को विविधता थप्ने गरी आएको छु ।

यो विभेद अन्त्य नगरेसम्म हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सक्दैनौँ । हामीले यो विभेद हटाउनैपर्छ । सरकारीस्तरमा नियमनकारी निकाय कमजोर हुनाले कतै न कतै चुहावट छ । कतै न कतै शंका गर्नुपर्ने अवस्था छ । यो समस्यालाई हामीले जरैदेखि निवारण गर्नुपर्छ । त्यसका लागि हामीले पहल गर्नुपर्छ ।

कम्तीमा प्लस टुसम्मको शिक्षामा असमानता हुनै हुँदैन । आज निजी कलेज पढेका विद्यार्थी युरोप वा अमेरिका जान तयार हुने अनि सामुदायिक विद्यालय पढेको विद्यार्थी अन्य मुलुक जाने भाष्य निर्माण भएको छ । निजी र सामुदायिक विद्यालयबीचको यो विभेदलाई हामीले हटाउनैपर्नेछ ।

– यसको वैज्ञानिक समाधान के हुनसक्छ ?

सबैभन्दा पहिले नीति निर्माणको तहबाटै सुधार गर्दै जानुपर्छ । यो सुधार म अखिलको अध्यक्ष हुनेबित्तिकै हुने होइन, तर शुरु चाहिँ गर्छु । सरोकारवाला निकायलाई सचेत गराउँछु । यसरी सुधार गर्न सकिन्छ भनेर रिसर्चमार्फत अखिलको तर्फबाट हरेक स्थानीय सरकारलाई सुझाव पेश गर्छाैं । उनीहरूले कार्यान्वयनको चरणमा लिएर गएनन् भने सावधान गराउँछौँ, सचेत गराउँछौँ र निरन्तर दबाब दिन्छौँ ।

– तपाईंले यसो भनिरहँदा ठूला पार्टीकै नेताहरूको विभिन्न निजी स्कुल तथा अस्पतालमा ठूलो लगानी देखिन्छ । सबैभन्दा पहिले आफ्नै नेतालाई सुधार्नुपर्ने होला नि ?

समय गतिशील छ । उहाँहरू मोटाउने नाममा हामीले सरकारी शिक्षालयहरूलाई दुब्लाउन दिने कुरा हुँदैन । हामीले सहेर बस्नु पनि हुँदैन । समाज गतिशील छ । कुनै न कुनै समय यो अन्त्य भएरै जान्छ । अहिले नै अन्त्य गर्ने कि पछि गर्ने भन्ने कुरा सही नेतृत्वको विवेकमा भरपर्छ ।

अखिलको अबको नेतृत्वले यस मुद्दाको अगुवाइ गर्न सक्यो भने सुधार सुरु गर्न सक्छौं । भेनेजुयलाको इतिहास हेर्ने हो भने त्यहाँ एउटा विद्यार्थी नेतृले निजी शिक्षालयविरुद्ध गरेको आन्दोलन यति चरममा पुग्यो कि अन्ततः सरकार निजी शिक्षालयहरू बन्द गर्नुपर्ने अवस्थामा पुग्यो ।

यसो भन्दा हाम्रो देशका निजी विद्यालयहरू बन्द गरिहाल्नुपर्छ भन्न खोजेको पनि होइन । उहाँहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन, तर सरकारी अथवा सामुदायिक विद्यालयहरूलाई परिवर्तनकारी हिसाबले सुधार गरेर लिएर जानु अहिलेको आवश्यकता हो । यो सुधारका लागि अनेरास्ववियुले तहगत रूपमा हाम्रा कमिटीहरूले सचेत गराउँदै लैजानुपर्छ । अबको दश वर्षपछिको हाम्रो देशको अनुहार कस्तो बनाउन चाहन्छौँ भन्ने कुरा अहिले कस्तो शिक्षा दिइरहेका छौँ भन्ने कुरामा निर्भर हुन्छ । तीन दशकपछिको नेपालको शैक्षिक अवस्थाको परिकल्पना गरेर अहिले हामीले सुधार शुरु गर्नुपर्छ । त्यसको पहलकदमी लिन अनेरास्ववियु तयार छ ।

– अबको विद्यार्थी आन्दोलनको औचित्य चाहिँ के हो ?

अब आयआर्जनसँग जोडिने शिक्षाको विकल्प छैन । अब हाम्रो संगठनलाई पनि नवप्रवर्तन र उद्यमशीलतासँग जोडिने संगठन बनाउनुपर्छ । हामीले हाम्रा संगठनमार्फत समयको गति समात्न सकेनौं भने धेरै पछाडि पर्छौँ ।

– एमबीबीएस गरेको मान्छे तपाईँ । थपक्क जागिर खाएर बसेको भए पनि हुने नि ?

एमबीबीएस मैले जीविकोपार्जनको निम्ति गरेको हो । बाँकी जे गरिरहेको छु, यो समाजको लागि गरिरहेको छु । म एमबीबीएस पढेको मान्छे विद्यार्थी आन्दोलनमा छु । यो कुरा बुझिदिन अनुरोध गर्न चाहन्छु । म त्रिभुवन विश्वविद्यालयमा क्लिनिकल साइकोलोजीमा अझै मास्टर्स गरिरहेको छु । मैले एमबीबीएस जीवन गुजाराको निम्ति गरेँ । विद्यार्थी राजनीति सचेत युवाको रूपमा गरिरहेको छु ।

– ३२ वर्षे उमेरहद लगाइँदा अध्यक्षका आकांक्षीहरू नरेश रोकाया, नारायण घर्तीलगायत बाहिरिनुपर्ने स्थिति आयो । उहाँहरूप्रति तपाईंको धारणा के हो ?

म उहाँहरूलाई अत्यन्तै सम्मान गर्छु । मैले उहाँहरूबाट धेरै सिकेको छु । जसरी मेडिकल कलेजमा प्रिसेप्टरबाट धेरै सिकिरहेको हुन्थेँ, त्यसैगरी विद्यार्थीका मुद्दाहरूलाई कसरी लिएर जाने, अप्ठेराहरूको सामना कसरी गर्ने भन्नेबारे उहाँहरूबाट सिकेको छु । उहाँहरूप्रति मेरो सम्मान छ । उहाँहरूबाट धेरै सिक्ने मौका पनि मिलेको छ ।

– अन्तिममा निर्वाचन भएको खण्डमा तपाईंलाई १ हजार ५०० प्रतिनिधिले आफ्नो अध्यक्षको रूपमा किन निर्वाचित गराउने ?

विद्यार्थी आन्दोलनको आधुनिकीकरणको जिम्मेवारी हाम्रो काँधमा आएको छ । यसलाई हामीले समयअनुसार आधुनिकीकरण गर्न सकेनौँ भने यसको साख जोगाउन गाह्रो हुन्छ । दोस्रो- अनेरास्ववियुको स्ववियु निर्वाचनमा जुन ऐतिहासिक विरासत थियो, त्यसलाई फर्काउन चाहन्छु ।

सबैभन्दा महत्वपूर्ण विषय भनेको अहिले सामाजिक सञ्जालमा डिस-इन्फर्मेसनको बाढी छ । यस्ता गलत जानकारीहरूबारे सबैलाई सचेत गराउन चाहन्छु । अरुलाई गाली गरेर समृद्ध समाज निर्माण हुँदैन भन्ने सचेतना फैलाउन चाहन्छु । यस्ता विषयको अगुवाइ अनेरास्ववियुले गर्छ । यसका लागि मलाई विद्यार्थी साथीहरूको साथ र समर्थनको खाँचो छ । मलाई विश्वास छ, उहाँहरूले फरक क्षेत्रबाट अनेरास्ववियुको बगैँचामा आएको फूललाई हुर्कने परिवेश निर्माण गरिदिनुहुनेछ ।

Comments

One response to “अखिल हाँक्ने सुरमा रहेका डा. कडरिया- दुई शर्तमा मात्रै अरुलाई अध्यक्ष स्वीकार्न तयार छु (भिडिओ)”

  1. मोहन मगर Avatar
    मोहन मगर

    नेतृत्व र जिम्मेवारी लिन सक्ने मान्छे हो सुजन कडरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *