विपक्षीले नमाने पनि आजदेखि संसद चलाउने तयारीमा सत्तापक्ष (भिडिओ)

काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेका छन् ।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपनि संसद चल्ने बताए ।

प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद सुचारु हुने उनले पत्रकारसँग भने ।

‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ । धेरैदिन भयो यसलाई लम्ब्याएर लान सकिन्छ । कति दिन लम्ब्याउने ? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ । आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन । एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन । उहाँहरूले सहयोग गरे सुचारु हुन्छ । असहयोग गरेपनि व्यवधान त आउँछ तर संसद चल्छ ।’

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरी संसद स्थगित गर्ने काम अब नहुने प्रष्ट्याए ।

‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँकहरूको कुरा आजसम्म मान्दै आयौं । आज हिजोको निरन्तरता हुँदैन । हामी स्मुथ्ली आजदेखि बैठक अघि बढाउन चाहन्छौं । बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ । यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन’, बर्तौलाले भने ।

आज गृहमन्त्री रमेश लेखकले पनि बोल्ने उनले सुनाए ।

सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे दलहरूले निकास नदिएको भन्दै सभामुखले प्रमुख दलका सचेतकहरूसँग असन्तुष्टि जनाएका थिए ।

अहिले थप रणनीतिका लागि माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक राखिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *