रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ को मडाह गाउँको सामान्य परिवारमा जन्मेका १५ वर्षीय रौनक श्रीवास्तव अहिले नेपाली क्रिकेटको चर्चामा छन् ।
नेपालको घरेलु राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेर चर्चामा आएका रौनकको अहिले अण्डर १६ को क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर खेलिरहेका छन् ।
घरमा ब्याट र बल किन्नसमेत कुनै नियमित स्रोत नभएका श्रीवास्तव साथीहरूको छेउमा बसेर क्रिकेट सिकेको र उनीहरूकै सहयोगमा खेल्न पाएको बताउँछन् ।
आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको स्मरण गर्दछन् । अहिले पनि उनका बुवाआमा गाउँमै सामान्य कृषि खेती गरेर बसेका छन् भने कहिलेकाहीँ ज्याला मजदुरी गरेर घर खर्चको जोहो गरिरहेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।

रौनकको मामाका छोरा आलोक श्रीवास्तवका अनुसार उनको पारिवारिक अवस्थाबाट क्रिकेट खेलेर प्रगति गर्ने अवस्था थिएन तर रौनकको लगातारको मेहनत र साहसले त्यो प्रगति पाउन सकेका हुन् ।
‘आर्थिक समस्याको कुरै नगरौँ, आमाबुवा सामान्य खेती र मजदुरी गर्नुहुन्छ, रौनकपछि दुई बहिनी छन्, उनले ८ कक्षासम्म मात्रै पढ्न पाए, बल ब्याट आफै किनेर खेल्न सक्ने अवस्था थिएन, साथीभाइ आफन्तको साथमा यहाँसम्म पुगेका हुन्, उनको लगावले अब पक्कै पनि खेलप्रेमीको ध्यान जानेछ, यसबाट उनले देशलाई केही दिन सक्छन् भन्ने आधार देखाएका छन्’ उनले भने ।
रौनकलाई बसिर अहमदले नै खेलका लागि लगातार प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।
सुर्खेतमा जारी खेलमा रहेका रौनक नाबालक परिचय पत्र बनाउन शनिवार गाउँमा आएका छन् । उमेर नपुगेकाले नागरिकता, पासपोर्ट बनाउन नपाउने हुनाले नाबालक परिचय पत्र बनाउन आएको उनले सुनाएका छन् । गाउँकै बुद्धपद्म स्कुलबाट ८ कक्षा मात्रै अध्ययन सकाएका उनी त्यसयता नियमित खेलमा मात्रै छन् ।

उनी केही समयअघि भैरहवामा जारी नेपाल टेलिकम क्रिकेट प्रतियोगिता, पोखरामा आयोजना भएको पिएम कप, तौलिहवामा आयोजित टी ट्वान्टी प्रतियोगितामा आफ्नो चमत्कारिक खेल देखाइरहेका छन् ।
श्रीवास्तवले प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर १ सय १० रन बनाएर चर्चामा आएका थिए भने कोशी विरुद्धको खेलमा ७० रन बनाएका थिए । तर त्यो भन्दा चर्चामा सुर्खेतमा जारी यू ९१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।
जेठ २० मा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।
रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो ।
नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको हो। दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।

उनलाई लगातार प्रमोशन गर्दै आएका क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरे तत्काल जिल्लामा विशेष कार्यक्रम गरेर सम्मान गर्ने र खेलप्रेमीको ध्यानाकर्षण गराउने बताए । ‘खेलप्रेमीका लागि यो निकै राम्रो समाचार हो, उनको पारिवारिक अवस्थाबाट उठेर यहाँ पुगेका छन्, अब सबैले उत्साह दिएर नियमित खेलमा लाग्ने प्रेरणा दिनुपर्दछ, केही दिनमा हामीले जिल्लामा विशेष सम्मान गर्दैछौं, जिल्लामा तत्कालै हुने खेलमा उनलाई बोलाउने तयारी छ’ उनले भने, ‘नाबालक परिचय पत्र बनाउन हिजो आएर केही समय कुरा गरेर फर्केका छन्, हामीले उनलाई उत्साहका लागि योजना बनाएका छौं ।’
उनको छिमेकीसमेत रहेका कृष्णनगर नगरपालिका १ का वडाध्यक्ष तुंगनाथ चौधरीका अनुसार सामान्य परिवारमा जन्मेका उनको परिवारमा दैनिक खर्च चलाउन समस्या परिरहेको परिवारबाट देशलाई नै चिनाउनेगरी खेलमा तरक्की गरेको सुनेर सबैलाई खुसी लागेको छ । ‘मेरै गाउँको भाइ हुन्, घरको अवस्था निकै कमजोर छ, बुवा मजदुरी गर्नुहुन्छ, आमा गृहिणी हो, दुई साना बहिनी छन्, धेरै पढ्न पनि पाएनन् तर क्रिकेटमा उनको प्रगति सुनेर निकै खुसी लागेको छ, सिंगो वडा, गाउँ, पालिका खुसी भएका छौं,’ उनले भने ।

Leave a Reply