अखिल महाधिवेशनका लागि ७ सदस्यीय ‘हाई कमाण्ड’ गठन, अध्यक्षका चार आकांक्षीमै सहमतिको प्रयास

कैलाली। अनेरास्ववियुको २४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा गठित मण्डलले नेतृत्व चयनमा सहमतिको प्रयासलाई तीव्र बनाउनेछ ।

पूर्व अध्यक्षहरू माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल र समिक बडाल अध्यक्ष मण्डलमा रहेका छन् । उनीहरूले अध्यक्ष चयनका लागि जारी दौडधुपलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेका छन्।

एमाले अध्यक्ष ओलीले अनेरास्ववियुलाई सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइसकेका छन् । तर, सहमति नजुटेमा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्ने संकेतसमेत गरेका छन् ।

‘पार्टी अध्यक्षसँगको भेटघाटमा संगठन बलियो बनाउने गरी सर्वसम्मत नेतृत्व चयनको सन्देश दिनु भएको छ’ अध्यक्ष मण्डलमा रहेका महर भन्छन्, ‘हामी त्यसैमा लाग्ने छौँ । सबै सक्षम र योग्य हुनुहुन्छ। एकले अर्कालाई छोड्न मान्नुभएन भने लोकतान्त्रिक विधि पनि प्रयोग को पनि विकल्प छ ।’

उनले अन्तिमसम्म सहमतिको प्रयास जारी रहने बताए। यसअघि जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिसकेको छ ।

उक्त निर्णयले हालका पाँच जना सचिवहरूबाटै अध्यक्ष चयन हुने लगभग निश्चितजस्तै भएको छ । प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई र अञ्जना सिवाकोटी अध्यक्षका आकांक्षीका रूपमा अगाडि आएका छन् । यद्यपि भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्थामा भएमा भने पछाडि हट्ने बताइकी छन् । निर्वाचन हुने अवस्थामा भने आफू पनि अध्यक्षमै लड्ने उनको भनाई छ ।

पूर्व अध्यक्ष माधव ढुंगेलका अनुसार, अध्यक्ष पदका आकांक्षीहरूसँग व्यक्तिगत र सामूहिक भेटवार्ताको क्रम जारी छ ।

सहमतिको लागि एकजनालाई नेतृत्व दिई अन्यलाई जिम्मेवारी बाँडफाँट गर्ने प्रस्तावसमेत छलफलमा रहेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *