काठमाडौं । यस अगाडि युक्रेनको पक्षमा चट्टानी अडान र रुसको विपक्षमा कटु कटाक्ष गर्दै आएको उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)को आगामी घोषणामा भने युक्रेन मामिलामा छोटोमा बोलिने भएको छ ।
बेलायती समाचार एजेन्सी रोयटर्सलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार यही जुन २४ देखि २५ सम्म नेदरल्यान्डमा हुने नेटो सम्मेलनको वक्तव्यमा युुक्रेनबारेमा छोटो बोलिने भएको हो ।
रुसी राष्ट्रपति पुटिनसँग बोलचाल सुरु गरेका, विभिन्न टेलिफोन वार्ताहरु गरेका तथा नेटोको आलोचनामा बोल्दै आएका ट्रम्प नबिच्किऊन् भनेर युक्रेन मामिलामा छोटो बोलिने बताइएको छ । यत्तिमात्रै होइन, ट्रम्प बिच्किने डरले नेटोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई औपचारिक निम्तो अहिलेसम्म गरेको छैन ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनलाई सैन्य हमला गरेयताका सबै नेटो भेलामा जेलेन्स्की अतिथिको रुपमा पुग्दै आएका थिए, तर जेलेन्स्कीले रुसी हमलाको पहिलो दिनबाट आग्रह गरेको नेटोको सदस्यता दिन भने नेटो देशहरु तयार देखिएका थिएनन् । रुसले नेटोले युक्रेनमार्फत रुससँग प्रोक्सी युद्ध लडिरहेको बताउँदै आएको छ ।

Leave a Reply