भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा निर्माण सम्पन्न कागजात दिन दु:ख दिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । नक्सा शाखामा कार्यरत इन्जिनियर सरिता उपाध्यायले विभिन्न बहाना बनाउने गरको भुक्तभोगीको आरोप छ ।
निजी आवास निर्माण सुरु गर्दा वडा कार्यालय हुँदै नगरपालिकाको अनुमतिपछि मात्रै पाइन्छ । सुरुमा अनुमति दिएर नगरपालिकाकै मापदण्डअनुसार घर निर्माण गरे पनि निर्माण सम्पन्नको प्रमाणपत्र लिने बेलामा भने हैरानी खेप्नुपरेको प्रजु पौडेलले गुनासो गरिन् ।
उनले सूर्यविनायक नगरपालिका-९ नंखेलमा निजी आवास निर्माणका लागि नगरपालिकाबाट नक्सापास गराएकी थिइन् । नगरपालिकाले २०७९ जेठ ३० गते भवन निर्माणको इजाजतपत्र दिएको थियो ।

नगरपालिकाको प्रत्यक्ष निरीक्षणमा घर निर्माण थालेर २०७९ पुस २९ गते भवन निर्माण सम्पन्नको आंशिक प्रमाणपत्र पनि नगरपालिकाले दिएको उनले बताइन् । तर, निर्माण सम्पन्न प्रमाणपत्र माग्दा घर बाहिर लगाएको रिटेनिङ वाल भत्काएपछि मात्रै दिने भनेर दुःख दिइएको घरधनी प्रजुको जिकिर छ ।
‘दक्षिणपट्टिको भाग १८ फिट तल रहेकाले नगरपालिकामा ‘सीई’ कन्स्ट्रक्सनमार्फत घरको सुरक्षाका लागि रिटेनिङ वालको डिजाइन नक्सा पेश गरेका थियौं । तर, रिटेनिङ वालको कुनै पनि मापदण्ड नभएकाले घरको मात्रै नक्सा स्वीकृत गराएर घर निर्माणको अनुमति दिइएको थियो’, उनले भनिन् ।
उक्त वाल भत्काउन संधियार कान्छा दुमरुले वडामा निवेदन दिएका थिए । वडाले दुवै पक्षलाई छलफलमा बोलायो । छलफलमा संधियार दुमरुको जग्गामा पानी जाने गरी नबनाउने, उनको जग्गामा कुनै क्षति भए त्यसको निर्माण घरधनीले गर्ने गरी वडाध्यक्षसहित तीनै पक्षबीच छलफल भएको पौडेलको भनाइ छ । छलफलमा दुमरुले आफ्नो जग्गा किन्न पनि आग्रह गरेको जग्गा खरिद गर्न सहमत हुँदा चलनचल्तीको भन्दा बढी मूल्य भनेपछि पछि हटेको पौडेलको भनाइ छ ।
पछि यो विवाद न्यायिक समितिसम्म पुग्यो । २०८१ असोज ११ गते नगरपालिकाले प्रजुलाई लेखेको पत्रमा प्राविधिक रूपले उक्त पर्खाल ठिक नदेखिएको भन्दै ३० दिनभित्र सच्च्याउन म्यादसहित प्रजुलाई पत्र पठाएको थियो ।
पुन: २०८२ वैशाख १५ गते नगरपालिकाले प्रजुलाई पत्र लेखेर १६ फिटको अग्लो ढुंगा सिमेन्टको पर्खाल मापदण्डविपरीत भएको साथै सँधियार कान्छाको जग्गामा समेत असर परेकाले ७ दिनभित्र भत्काउनु हटाउनुपर्ने कुनै कारण नभए लिखित जवाफसहित प्रमाण पेश गर्न चेतावनीसहित नभत्काए नगरपालिकाले नै भत्काइ लागेको खर्च असुर उपर गर्ने जानकारीसहितको पत्र पठाइएको थियो ।

‘नगरपालिकाले भनेबमोजिम नै घरलगायत संरचना बनाएपनि मापदण्डअनुसार भएन भन्दै निर्माण सम्पन्न दिन रोकेको पौडेलले बताएकी छन् ।
‘इन्जिनियर उपाध्याय र नगरपालिका- ९ नम्बर वडाका सचिव अच्युत्तम खत्रीसँग घर बाहिर लगाएको रिटेनिङ वालको लागि अनुमति लिन खोज्दा त्यतिबेला पर्दैन, निर्माण गर्नुहोस् भनेर मौखिक आदेश दिएपछि हामीले पर्खाल लाएको हो । अहिले भत्काएपछि मात्र निर्माण सम्पन्नलगायत अन्य प्रक्रिया अगाडि बढाउने भनेर दुःख दिइयो’, उनले भनिन् ।
पौडेलको घरको नक्सा ‘ओ डिजाइन’ कम्पनीले गरेको र घर बाहिर लगाएको कम्पाउन्ड र रिटेनिङ वालको डिजाइन ‘सीई’ कन्स्ट्रक्सनले गरेको थियो । कम्पाउन्ड वालको डिजाइन गर्ने कन्स्ट्रक्सनका इन्जियिनर सञ्जयलाल श्रेष्ठले पनि आफ्नो जग्गामा बेसलाई आधार मानेर त्यहीअनुसारको हाइट राखेर रिटेनिङ वाल लगाउँदा केही समस्या नहुने बताउँछन् ।
‘हामीले धेरै ठाउँमा यस्तै डिजाइन गरेर रिटेनिङ वाल लगाएका छौं । अन्यत्र यस्तो समस्या हुँदैन, तर यहाँ व्यक्तिगत ‘इन्ट्रेस्ट’ नमिल्दा अहिले घरधनीलाई समस्या पार्ने काम भयो’, इन्जिनियर श्रेष्ठले भने, ‘सबै मापदण्डअनुसार निर्माण भएको छ ।’
सूर्यविनायक नगरपालिकाका वरिष्ठ इन्जियिनर जनक न्यौपाने पनि नगरपालिकाभित्र रिटेनिङ वाल लगाउँदा अवस्था हेरेर लगाउन पाइने बताउँछन् ।
कुनै पनि घरधनीले आफ्नो जग्गामा रिटेनिङ वाल लगाउँदा बाटोको लेभलसम्म लगाउन पाउने उनको भनाइ छ । नगरपालिकाकै वरिष्ठ इन्जिनियर न्यौपानेले यसो भने पनि अर्की इन्जिनियर उपाध्यायले रिटेनिङ वाल मापदण्ड बाहिर रहेकाले भत्काएपछि मात्रै निर्माण सम्पन्न प्रमाणपत्र दिने बताउँदै आएकी छन् ।
भित्री कुरा आर्थिक चलखेल !
आफ्नो निजी जग्गामा रिटेनिङ वाल लगाएपछि संधियार कान्छा दुमरुको जग्गा बिक्री नहुने अवस्था देखिएपछि जग्गाधनी दुमरुको प्रभावमा परेर इन्जियिनर उपाध्यायले घर निर्माण सम्पन्नको प्रमाणपत्र नदिएको पौडेलले जिकिर गरेकी छन् ।
दुमरुको जग्गाको पूर्वपट्टी २० फिटको सडक र अर्को साइडमा पनि व्यक्तिको घर भएपछि आफ्नो जग्गा बिक्री नहुने चिन्ता भएपछि उनले नगरपालिकामा हारगुहार गरेको बताइएको छ । त्यो वाल भत्काएमा आफ्नो जग्गा बिक्री हुने आशा दुमरुले देखाएपछि त्यही आशामा इन्जिनियर उपाध्यायले नगरपालिकालाई समेत प्रभावित बनाएर रिटेनिङ वाल भत्काएपछि मात्रै निर्माण सम्पन्न प्रमाणपत्र दिने चलखेल भएको नगरपालिकाका एक अधिकृत बताउँछन् ।
सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले समेत सेवाग्राहीलाई दुःख नदिन भने पनि सोझा मेयरलाई इन्जिनियर उपाध्यायले गलत सल्लाह दिएर निर्णय गर्न लगाएको नगरपालिका स्रोतको दाबी छ ।
‘मेयर साबले त जनतालाई दुःख नदिनुहोस् भन्नुहुन्छ, तर यहाँका कर्मचारी त्यो पनि नक्सा शाखामा बस्नेहरु मेयरभन्दा एक स्टेप माथिका छन् । कसैले भनेको मान्दैनन् । पैसा आउने भएपछि जस्तो नमिल्ने काम पनि नक्सा शाखाबाट हुन्छ । पैसा नआउने भयो भने जस्तोसुकै विधि पुगेको काम पनि हाम्रो नगरपालिकाबाट हुँदैन’, एक वडा अध्यक्षले भने ।
यससम्बन्धी जिज्ञासा राख्न इन्जियिनयर उपाध्यायको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
कान्छा दुमरुको आपत्ति
कान्छा दुमरुले भने पौडेलले नै १८ फिटको वाल लगाएर आफैँ पीडित भन्दै हिँड्नु उचित नभएको नेपाल प्रेससँग बताए । नगरपालिकाले त्यो वाल भत्काउन पौडेललाई वैशाख १५ गते आदेश दिएपनि ४० दिनपछि मात्र पत्र बुझेको उनले सुनाए ।
‘उहाँले चारकिल्लामा मेरो कित्ता नै नदेखाउने । साइड प्लानमा मसँग केही समन्वय/सहमति नै नगरी घर बनाउनुअघि सदियारलाई म्याद दिनुपर्ने भए पनि मलाई केही जानकारी गराइएन । रेडबुकमा पनि हाम्रो नाम कहीँ कतै उल्लेख गरेको छैन । उल्टै ममाथि आर्थिक चलखेल गरेको भन्दै म र मेरो परिवारमाथि मानहानी तथा चरित्र हत्यासम्म गर्ने काम भयो ‘, दुमरुको गुनासो छ ।

Leave a Reply