सत्ताको दोहन गर्नेहरुको पल्टन नै तयार भयो: घनश्याम भुसाल

रुपन्देही । अर्थशास्त्री एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ-राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिबार बुटवलमा विमर्श गरिएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भएको बताए ।

उनले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताए ।

‘१५ देखि २० लाख वा थोरैधैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पदअनुसार लाभ लिने काम भइरहेको छ’, उनले भने, ‘नेपालको अर्थतन्त्र दलाल पुँजीवाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन सकेन । राजेगारी सृजना गर्ने पुँजी राष्ट्रिय पुँजी हो, रोजगारी सृजना नगर्ने, तर नाफा कमाइराख्ने दलाल पुँजी हो, यसलाई फेर्नुपर्छ ।’

उनले नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगति नहुने बताए ।

‘दलाल पुँजीवाद अर्थतन्त्र फेर्नपर्छ, फेर्न सजिलो छैन । किनभने यसले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, न्यायाधीश किन्छ’, महासचिव भुसालले भने, ‘बिहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन । पुलिस प्रशासन सबै त्यसैका हुन्छन् ।’

उनले यस्तो प्रवृत्तिसँग लड्ने पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताए । उनले नेपालको विकास नहुनुको पछाडि बौद्धिक क्षेत्रको भूमिका पनि कारक रहेको बताए ।

नेता भुसालले बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्नसक्ने बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई आफूतर्फ तान्ने गरी पुस्तक लेखिएको बताए ।

लेखक मनिकर कार्कीले समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर लेखेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *