रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवा पुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
शनिबार नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ‘जेन जी पुस्ता’लाई लक्षित गरी स्टार्टअप तथा इन्क्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इन्क्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव राखेको थियो । यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट आवश्यक पर्ने परिसंघले जनाएको छ ।
परिसंघका अनुसार एग्रिटेक, पर्यटन तथा डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाहरूको नवीन सोचलाई व्यावसायिक रूप दिने, स्थानीय सीप र स्रोतलाई प्रयोगमा ल्याउने र रोजगारीको अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । प्रदेशको नवप्रवर्तन क्षमतालाई व्यवस्थित रूपमा उपयोग गर्न र आर्थिक विकासको नयाँ ढोका खोल्न लुम्बिनीमा स्टार्टअप इन्क्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी छ ।
छलफलमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोरा र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजू, स्टार्टअप चियर विवेक कशौधन, मेम्बरसिप चियर अभिषेस पाठक मेम्बर तेजेन्द्र भट्टराईलगायतले युवा पिढीलाई उत्पादनमूलक क्षेत्रमा कसरी समेट्न सकिन्छ भन्ने सुझाव राखेका थिए ।

Leave a Reply