चितवन । नेकपा एमाले चितवन ११औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न भएको छ । भरतपुरमा आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समीक्षा गर्दै मिशन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिए ।
पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन उनले प्रतिनिधि परिषद्का सदस्यहरुलाई आग्रह गरे । पार्टी र नेतृत्वप्रति घेराबन्दी भइरहेको बताउँदै महासचिव पोखरेलले एकताबद्ध भएर त्यसको प्रतिवादमा लाग्नुपर्ने बताए ।
उनले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताए । वामपन्थी जनमत एमालेमा भएको कारण पार्टीमाथि आक्रमण भइरहेको महासचिव पोखरेलले बताए ।
जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमालेमाथि आक्रमण गरिहेको उनको भनाइ छ ।
‘नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्छ र जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी छ’, महासचिव पोखरेल भने, ‘सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको छ ।’
बजेटका बारेमा बोल्दै उनले बजेट लोकप्रियभन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताए । उनले देशमा विकासको मूल फुटाउने पार्टी एमाले भएकोसमेत बताए ।
बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply