काठमाडौ । गत वर्षको अगस्त ५ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन भयो । विद्यार्थी आन्दोलनले भएको बहिर्गमनसँगै आएको नोबेल पुरस्कार विजेता महोमद युनुस नेतृत्वको सरकारले चाँडै चुनाव गर्ने भनिएको थियो, तर अहिले हसिना अपदस्थ भएको १० महिना कट्यो । अझै चुनाव भएको छैन ।
यसबीचमा चुनाव सन् २०२६ को अप्रिल आधासम्म गर्ने भनेर घोषणा भएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार यस्तो निर्णय भएको हो ।
पछिल्लो समयमा युनुस सरकारको विरोध र राजीनामाका मागहरु बंगलादेशमा आएका छन् । केही दिन अगाडि तलब वृद्धिको मागदेखि जबरजस्ती निकालिएका कर्मचारीहरुको आन्दोलनसम्म भएको थियो ।
बंगलादेशको हसिनाको पालामा प्रतिबन्ध गरिएको पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको नेशनालिस्ट पार्टी (बीएनपी)ले पनि चुनाव चाँडै हुनुपर्ने माग गर्दै आएको थियो । अन्ततः युनुस सरकारले चुनाव गर्ने महिना र साल तोके पनि दिन भने तोक्न सकेको छैन ।
शेख हसिना नेतृत्वको अवामी लिगलाई भने चुनाव लड्न प्रतिबन्ध गरिएको छ । बंगलादेशको स्वतन्त्रताको आन्दोलनको मोर्चामा जोडिएको अवामी लिगको प्रतिबन्धलाई लिएर पश्चिमा देशहरुका सरकार तथा गैरसरकारी संस्थाहरुले खासै चर्को आवाज उठाएका छैनन् ।
पश्चिमा समर्थक सरकार भएकाले यस्तो भएको अवामी लिग पक्षधरहरुको आरोप छ । भारतमा भने अवामी लिगको प्रतिबन्धका समाचारहरु प्राथामिकताका साथ प्रकाशन गरिएका छन् ।

Leave a Reply