सुर्खेत। बलिङ र ब्याटिङ दुवै विभागमा गम्भीर कमजोरी देखिएको गण्डकी प्रदेश टोली टी.बी. स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार कोशी प्रदेशसँग १७१ रनको फराकिलो हार बेहोर्न बाध्य भयो।
वीरेन्द्रनगरस्थित कालुंगचोक मैदानमा सम्पन्न प्रतियोगिताको छैठौं दिन कोशीले टस जितेर ब्याटिङ रोज्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रनको विशाल योगफल खडा गरेको थियो।
प्रतियोगितामै कमजोर मानिएको गण्डकीको बलिङ लाइनअपविरुद्ध कोशीका ब्याटरहरुले सानदार प्रदर्शन गरे। गण्डकीका बलरहरुले मात्रै ५० रन अतिरिक्त रुपमा दिएका थिए, जसले कोशीलाई बलियो स्कोर बनाउन टेवा पुग्यो।
कोशीका लागि सुगम बुढाथोकीले ७५ बलमा अविजित रहँदै ६८ रनको सशक्त पारी खेले भने अफ्फन ताहिर र रविन मण्डलले समान ३९–३९ रनको योगदान दिए। यस्तै, सकुशल श्रेष्ठले ३० रन बनाए।
बलिङमा गण्डकीका शुशील भुसाल सबैभन्दा प्रभावशाली रहे। उनले १० ओभरमा ३ मेडनसहित ४ विकेट झारे। उनले ३६ रन मात्र खर्चिए। यस्तै, रिदम पाण्डे र अनिष राउतले समान २–२ विकेट लिए।
२ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीको ब्याटिङ अझै कमजोर देखियो। उनीहरुले २२.४ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा सिमित हुनुपर्यो। गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले अविजित १२ रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन्।
दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच घोषित भए। उनले बलिङमा ७.४ ओभरमा ४ मेडन राख्दै ५ विकेट लिए भने ब्याटिङमा ३९ रनको योगदान दिए।
यो जितसँगै कोशीले ४ खेलमध्ये ३ मा विजय हासिल गर्दै ६ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। भने लगातार हार खेपिरहेको गण्डकी अंकविहीन अवस्थामा पुछारमै छ।

Leave a Reply