तरुण दलको भवन बनाउन राज्य कोषबाट बजेट छुट्याएकोमा राप्रपा समर्थित युवा संगठनको आपत्ति

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कांग्रेस निकट तरुण दलको भवन निर्माणमा राज्य कोषबाट बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका प्रचार संयोजक कल्याणविक्रम आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सम्पत्तिको संरक्षणको पक्षमा र स्रोतसाधनको दुरुपयोग गर्ने प्रवृत्तिको विरुद्ध आफूहरू रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दलको वा सङ्गठनको कार्यालय उसको सदस्यहरूबाट वा शुभेच्छुकहरूबाट चन्दा उठाएर बनाउने हो, राज्य कोषबाट रकम विनियोजन गर्नु सर्वथा गलत र अनुपयुक्त हुन्छ । सत्तारुढ दलको, दलको भ्रातृ सङ्गठनको, दल आबद्ध पेशागत सङ्गठनको भवन निर्माणमा राज्य कोषको रकम दुरुपयोग गर्ने प्रवृत्ति कार्यान्वयन हुँदै जाने हो भने भोलिका दिनमा सबै दल सत्तामा जालान्, ती दल, सङ्गठनहरूको पनि भवन बनाउने गलत परम्परा बस्दै जानेछ ।’

दलको नेतापिच्छेका स्मृति भवन बनाउँदै जाने हो भने त्यसको होडबाजी नै नचल्ला भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ । संगठनले यस्ता अनुचित र अलोकप्रिय कदम अविलम्ब संशोधन गर्न माग गरेको छ ।

तरुण दलको भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेपछि त्यसको सामाजिक सञ्चालमा चर्को टीकाटिप्पणी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *