विवादका बिच वाईसीएलको नेतृत्व घोषणा- प्रतिनिधि असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को हालै सम्पन्न अधिवेशन गम्भीर विवादमा परेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा ‘जनवादी हस्तक्षेप’ सहित नेतृत्व चयन हुँदा आक्रोश चुलिएको हो ।

जेठ १८ गते काठमाडौंमा भव्य समारोहसहित सुरु गरिएको अधिवेशनमा देशभरका ७७ जिल्लाबाट झन्डै १ हजार ६०० प्रतिनिधि सहभागी थिए । अधिवेशन ३ दिन (जेठ १८-२०) सम्म चल्ने भनेर तय गरिएको भए पनि पहिलो दिनमात्र औपचारिक उद्घाटन र मन्तव्य सुनाएर बाँकी दिन कुनै साङ्गठनिक प्रक्रिया अघि बढाइएन । त्यसपछि स्पष्ट कार्यसूची नहुँदा अलमलमा परेका करिब १ हजार प्रतिनिधि कार्यक्रम पूरा हुनुअघि नै घर फर्किएका थिए ।

प्रतिनिधिहरूका अनुसार नेतृत्व चयनका लागि कुनै निर्वाचन प्रक्रिया, नाम प्रस्ताव, छलफल वा सहमति जुटाउने विधि अपनाइएको थिएन । त्यसको सट्टा अधिवेशन सुरु भएको सातौं दिन, हेडक्वाटरबाट नेतृत्व टीम एकलौटी रुपमा सार्वजनिक गरियो ।

प्राप्त जानकारीअनुसार वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा अर्जुन साउद र नवराज ऐर, शंकर सिंह पौडेल, हरि ढकाल लगायत १७ जना चयन गरिएका छन् । महासचिवमा गणेश शाही र उपमहासचिवहरूमा नरबहादुर बिष्ट, सुष्मा थापा, सुरज खाती, शिव बोगटी नियुक्त भएका छन् । सचिवमा भुवन कुँवर जिम्मेवारीमा आएका छन् ।

नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया पार्टी अध्यक्षको निर्देशनमा तय गरिएको हो भन्नेमा प्रतिनिधिहरू एकमत देखिन्छन् ।

प्रतिनिधिहरूको आक्रोश

अधिवेशनको विधिविहीनता र प्रक्रियाविहीन नेतृत्व चयनप्रति प्रतिनिधिहरू खुलेर बोल्न थालेका छन् । एक प्रतिनिधिले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लड्ने संगठनको सदस्य हौं भनेर गर्व गर्छौं, तर हाम्रो आफ्नै संगठनभित्र लोकतन्त्रको चिहान खनिएको छ । हामीलाई बोल्न दिने मञ्च थिएन, सुन्ने कान थिएन, सुझावको कुनै मूल्य थिएन । यो अधिवेशन होइन, निर्देशनअनुसारको नाटक थियो ।’

अर्का एक युवा प्रतिनिधिको भनाइ थियो, ‘वाईसीएल अब संगठन होइन, प्रचण्डको प्राइभेट कम्पनी भएको महसुस भयो । हामी त केवल दर्शक थियौं, दर्शक पनि नपठाइने भीड मात्र ।’

केन्द्रीय समितिमा ३५ पदाधिकारीको घोषणा, तर…

वाईसीएल अधिवेशनको बन्दसत्रमा ३५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने विधान पारित गरिएको भनिए पनि उक्त निर्णयमा प्रतिनिधिहरूको सरोकार, राय वा प्रस्ताव पेश हुन पाएका थिएनन् । प्रक्रियाविना नै अनुमोदन भएको घोषित गरिएको छ । यसरी घोषित नेतृत्व टीमप्रति धेरै प्रतिनिधिहरूले न आफूले नाम सुनेका थिए, न त राजनीतिक हिसाबले विश्वास गरेका व्यक्तिहरू रहेको टिप्पणी गरेका छन् ।

पार्टी नेतृत्वमा निरंकुश प्रवृत्ति हावी ?

नेतृत्व छनोटको शैली र प्रक्रियामाथिको असन्तुष्टिले अहिले माओवादी केन्द्रभित्र गहिरो असन्तोष र अविश्वासको वातावरण सिर्जना गरेको छ । पार्टी सुप्रिमो प्रचण्डप्रति संगठनभित्रको आलोचना पछिल्लो समय बढ्दै जाँदा पनि उनले सत्ता र शक्तिको समीकरणअनुसार निर्णय गर्न खोजेको आरोप लाग्न थालेको छ ।

एक राजनितिक विश्लेषक भन्छन्, ‘वाईसीएल जस्तो संगठनको नेतृत्व चयन प्रक्रियाले माओवादी आन्दोलनभित्रको सैद्धान्तिक विचलन र निरंकुश अभ्यासलाई झल्काउँछ । प्रचण्ड आफैंले विगतमा जुन जनवादी केन्द्रीयताको अभ्यास गर्ने कुरा गर्थे, अहिले त्यसैको उल्टो गरिरहेका छन् ।’

प्रतिनिधिहरू अझै अधिवेशन विधिवत सम्पन्न भयो वा अधूरोमै टुंगियो भन्ने अन्योलमा छन् । बन्दसत्रको कार्यसूचीबारे प्रतिनिधिहरूलाई औपचारिक जानकारी नगरिएको, छलफल नगरी घोषणा गरिएको भन्दै अधिवेशनले संगठनभित्र विश्वास संकट सिर्जना गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *